वायुसेवा निगम अस्तव्यस्त


काठमाडौं– देशकै अस्तित्व र पहिचानसँग जोडिएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) दुई महिना बढी समयदेखि अस्तव्यस्त छ । झण्डै ५० अर्ब ऋणभारको सामना गरिरहेको निगमको व्यवसायिक योजनाका साथ व्यापार प्रवद्र्धन तथा गन्तव्य विस्तारमा लाग्नुपर्ने बेला ठिक उल्टो गतिको यात्रा निगमका लागि नियति बनेको छ । निगमलाई निजीकरण गर्न लागिएको भन्दै निगमभित्रका कर्मचारीका ट्रेड युनियनहरूले आन्दोलन गर्दै आएका छन् । उनीहरूलाई अन्य विभिन्न संस्था तथा निकायका कर्मचारी संघ संगठनहरूले पनि साथ दिएका छन् ।

कर्मचारीले दैनिक बिहान १० देखि दिउँसो १ः०० बजेसम्म धर्ना दिँदै आएका छन् । कर्मचारीको आन्दोलनका कारण निगमको प्रशासनिक काम अवरोध पुगेको छ । यसै पनि कोभिड–१९ महामारीको चपेटामा परेको निगमभित्र पछिल्लो अवस्थाले संस्थाको अवस्था कमजोर बन्दै गएको देखिएको छ । निगमको भद्रगोल अवस्थाले अन्तर्राष्ट्रियरूपमा पनि नकारात्मक सन्देश प्रवाह भइरहेको छ । निगमका एक पूर्व उच्च अधिकारीले संस्थाभित्र दुई महिनादेखि आन्दोलन हुनुले संस्थाको छविलाई बिगार्न सक्ने खतरा औँल्याए ।

निगमका बहालवाला एक उच्च अधिकारीका अनुसार कर्मचारीको आन्दोलनले दैनिक प्रशासनिक कामदेखि दीर्घकालीन नीति निर्माणका काममा अवरोध सिर्जना भएको छ । निगमको काम प्रभावित बनेको छ । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेल दुई महिनादेखि कार्यालय पुग्न सकेका छैनन् । निगमभित्र चलिरहेको आन्दोलनले खासगरी कर्मचारीको तलब भुक्तानी, अनलाइन टिकेटिङ, जहाजका दीर्घकालीनरूपमा गर्नुपर्ने मर्मतसम्भारका काम, महालेखा परीक्षकको प्रतिवेदनउपर छलफल, बजार प्रवद्र्धनसम्बन्धी अन्य काम प्रभावित भएको ती उच्च अधिकारीको भनाइ छ ।

निगमलाई निजीकरण गर्नका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावलीसमेत बनाइसकेको र निगमलाई बेच्न लागिएको भन्दै कर्मचारीहरू निरन्तर आन्दोलित छन् । निजीकरण गर्ने निर्णय फिर्ता लिनुपर्ने तथा निगमका पदाधिकारीको राजीनामाको मागसमेत गर्दै निगममा क्रियाशील ट्रेड युनियनहरू आन्दोलित भएका हुन् । गत १८ असारदेखि निगम केन्द्रीय कार्यालयमा संघर्षका कार्यक्रम सुरु भएको हो ।

निगम राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष राजु श्रेष्ठले कर्मचारीसँग छलफल नै नगरी निगमलाई निजीकरणका लागि पठाएको प्रबन्धपत्र र नियमावली बनाएको भन्दै यो खारेज नभएसम्म संघर्षका कार्यक्रम नरोकिने बताए । निगम उच्च व्यस्थापनले कर्मचारीसँग छलफल नगरी निगमलाई निजीकरणको प्रक्रिया थालेको उनको आरोप छ । निगमको केन्द्रीय कार्यालयमा आन्दोलन चले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भूमिस्थ प्रबन्ध (ग्राउण्ड ह्याण्डलिङ) सेवामा कुनै अवरोध नभएको निगमले जनाएको छ । निगममा ९८६ स्थायीसहित हाल एक हजार २०० भन्दा बढी कर्मचारी कार्यरत छन् । रासस

Published On: Time : 3:12:56  

तपाईको प्रतिक्रिया