फर्किन चाहे सुविधासहित पठाइने


काठमाडौं– वैदेशिक रोजगारीका लागि बहाराइन गएका नेपालीहरूलाई स्वदेश फर्काउने पहल थालिएको बताइएको छ । बहराइनको एनएसएच कम्पनीमा कार्यरत नेपालीले आन्दोलन गरिरहेको अवस्थामा स्वदेश फर्किन चाहेकाहरूलाई उनीहरूले पाउने सेवा सविधासहित स्वदेश फर्काउने पहल भइरहको नेपाली दूताबासले जनाएको छ ।

१२ सेप्टेम्बरमा बहराइनमा रहेको नेपाली दूताबास, बहराइनको श्रम मन्त्रालय र कम्पनीका पदाधिकारीको रोहवरमा घर फर्कन चाहने श्रमिकलाई स्वदेश फिर्तीको सहजीकरणका लागि स्थानान्तरण गरिने सहमति भएको बताइएको छ । श्रमिकले नियमअनुसार पाउनु पर्ने सेवा सुविधाहरूका सम्बन्धमा हिसाब मिलाएर मात्रै स्वदेश पठाइने दूताबासले जनाएको छ । कम्पनीमा विभिन्न समस्याहरू भएपछि त्यहाँ कार्यरत ७ सयभन्दा धेरै श्रमिक काम छाडेर आन्दोलनमा उत्रिएका थिए । श्रमिकहरूले काम छाडेर आन्दोलन थालेपछि दूताबासले समस्या समाधानको बाटो अघि बढाएको छ । नेपाली श्रमिकको समस्या समाधानका लागि बहराइन सरकारसमेत सकारात्मक देखिएको जनाइएको छ ।

दूताबासले एनएसएच वा बहराइन कै अन्य स्थानमा कार्यरत नेपाली श्रमिकलाई नियम पूर्ण पालना गर्दै नेपाल र बहराइनबीचको मित्रवत् सम्बन्धमा थप टेवा पु¥याउने गरी काम पनि अनुरोध गरेको छ । बहराइनमा देखिएको नेपाली श्रमिकको समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर पहल भइरहेको बहराइनमा रहेको नेपाली दूताबासले जनाएको छ । केही दिनदेखि बहराइनको बाम्को प्रोजेक्टको ठेक्का पाएको नासिर सिड अलहाजरी कर्पोरेसनमा (एनएसएच) कार्यरत नेपाली श्रमिक र त्यहाँको व्यवस्थापनबीचको विवाद समाधानका लागि भएको प्रारम्भिक शाखा कार्यान्वयनका लागि निरन्तर प्रयास भइरहेको भन्दै दूताबासले संयमता अपनाउन पनि नेपाली श्रमिकलाई अनुरोध गरेको छ ।

यस कम्पनीमा कार्यरत श्रमिकले सुरक्षा र स्वास्थ्यकर खाना दिनुपर्ने माग राख्दै काम छाडेर क्याम्पमा नै बसेर आन्दोलन थालेका थिए । श्रमिकहरूले काम छाडेपछि नेपाली दूताबास, बहराइन सरकार, रोजगारदाता कम्पनी र श्रमिकबीच गएको ७ सेप्टेम्बरमा छलफल भएको थियो । वार्तामार्फत नै समस्याको समाधान हुने भन्दै दूताबासले सबै श्रमिकलाई केही समय संयमता अपनाई समस्या समाधानका लागि बनेको खाकालाई पूर्णता दिन पनि अनुरोध गरेको छ । एनएसएच कम्पनीमा कार्यरत झण्डै ७ सय नेपालीसहित अन्य विभिन्न देशका श्रमिकले आन्दोलन गरेको बताइएको छ ।

श्रमिकहरूले ग्यास र तेल प्रशोधन केन्द्रको बीचमा क्याम्प राखिएकाले स्वास्थ्यमा गम्भीर समस्या परेको भन्दै तुरुन्तै क्याम्पलाई अर्को ठाउँमा स्थानान्तरण गर्नुपर्ने माग राखेका छन् । खाना खान पनि मेसमा कम्तीमा आधा घन्टा पालो कुर्नु पर्ने र एकैपटक सयौँ जम्मा हुने मेसमा पर्याप्त चिसो पुग्ने क्षमताको एसीको व्यवस्था नहुँदा समस्या भएको पनि श्रमिकले गुनासो रहेको जनाइएको छ ।

Published On: Time : 3:22:00  

तपाईको प्रतिक्रिया