नेपालको शानदार जित


काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले ओमानलाई पराजित गरेको छ ।
अल अमिरात क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ७ विकेटले पराजित गरेको हो । ओमानले दिएको १ सय २२ रनको लक्ष्य नेपालले १८ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गरेसँगै अघिल्लो खेलमा भोगेको हारको बदला लिन सफल भएको छ ।
नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्लले अविजित रहदै ५२ रनको अर्धशतकीय इनिङ्स खेले । लगातार दोस्रो अर्धशतक बनाउने क्रममा मल्लले ४६ बलमा ४ चौका र २ छक्का प्रहार गरे। उनले यस अघि अमेरिकाविरुद्धको खेलमा अर्धशतक बनाएका थिए ।
यस्तै ओपनर आसिफ शेखले ४० रन जोडे । शरद भेषवाकर १ रनमा अविजित रहे । ओपनर कुशल भुर्तेल र रोहित पौडेल समान ६÷६ रनमा आउट भए । ओमानका नेस्टर धाम्बाले २ तथा कालिम उल्लाहले १ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ३७ ओभर १ बलमा अलआउट हुँदै १ सय २१ रन बनाएको थियो ।
ओमानका लागि कप्तान जिशन मक्सुदले सर्वाधिक ४१ रन बनाए । यस्तै जतिन्दर सिंहले १३ रन जोड्दा नसिम खुसी १२ रनमा आउट भए । सन्दीप गौडले ८ रन, आयन खानले ७ रन जोड्दा सुफ्यान मेहमुद र मोहमद नदीमले ४र४ रन जोडे । सुरज कुमार र नेस्टर धाम्बा खाता नखोल्दै पेभेलियन फर्किए । कालिम उल्लाह ११ रनमा अविजित रहदा बिलाल खानले ९ रन बनाए ।
ओमानलाई सस्तैमा समेट्न करण केसी र सन्दीप लामिछानेले ४÷४ विकेट लिए । शरद भेषवाकरले २ विकेट लिए ।
यस जितसँगै नेपालले सिरिजको सुखद अन्त्य गरेको छ । सिरिजमा नेपालले खेलेको ४ खेलमा २ जित र २ हार ब्यहो¥यो । सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो ।
दोस्रो खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो । यस्तै तेस्रो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको थियो । ओमानलाई हराएपछि नेपाल लिग—२ को चौथो स्थानमा समेत उक्लिएको छ । नेपालले ८ खेलमा ८ अंक जोडेको छ । ओमान १३ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अमेरिका १५ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । स्कटल्यान्ड चाहिँ ८ खेलबाट ९ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

Published On: Time : 1:48:40  

तपाईको प्रतिक्रिया