कमेडी च्याम्पियन २ को विजेता भरतमणि


काठमाडौं– पछिल्लो समय दर्शकमाझ प्रभाव छोड्न सफल स्टयान्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन २ को उपाधि भरतमणि पौडेलले जितेका छन् । शनिबार राति भएको ग्राण्ड फिनालेमा ताप्लेजुङका पौडेलले सबैभन्दा बढी भोट पाएर ‘कमेडी च्याम्पियन २’को उपाधि जितेका हुन् ।
उपाधिसँगै उनले कार र रु. ५ लाख पुरस्कार जितेका छन् । विभिन्न चरण हुँदै भरतमणिसँगै सिक्किमका विक्की अग्रवाल र गोरखाका सन्तोष थापा फाइनलमा पुगेका थिए ।
अन्तिम प्रतिष्पर्धामा दुई जनालाई भोटमा पछि पारेर उपाधि जितेका हुन् । उपाधि जितेका भरतमणिले पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको क्यारिकेचर गरेपछि दर्शकको ‘नोटिस’मा परेका थिए ।
त्यस्तै उनले सेमिफाइनलमा पूर्व युवराज पारस शाहको क्यारिकेचर गरेका थिए । जुन प्रस्तुतिबाट निकै तारिफ पाएका थिए । उनी ‘कमेडी च्याम्पियन’मा सात पटकसम्म ‘पर्फर्मर अफ द राउण्ड’ बनेका थिए । त्यसबाहेक उनले डेरावालाको पीडाको कन्टेन्टलाई विभिन्न व्यक्तिहरूको क्यारिकेचर गर्दा जजिज र दर्शकको प्रशंसा बटुलेका थिए ।
उनले उक्त एपिसोडमा गोकुल बास्कोटाको अतिरिक्त, सांसद रामनारायण बिडारी, राजेन्द्र महतो र पूर्वराजा ज्ञानेन्द्र शाहको पनि क्यारिकेचर गरेका थिए । उनको क्यारिकेचर कलालाई धेरैले प्रशंसा गरेका छन् । भरतमणिले स्थापित व्यक्तित्वका बाहेक कमेडी च्याम्पियनकै पहिलो सिजनका विजेता हिमेश पन्त, पुण्य गौतम, मुकुन्द घिमिरेसम्मको क्यारिकेचर गरेका थिए ।
विशाल भण्डारीले निर्देशन गर्ने ‘कमेडी च्याम्पियन’ कान्तिपुर टीभी र युट्युब च्यानल ‘ओएसआर रियालिटी’बाट प्रशारण हुँदै आएको थियो । यसको पहिलो सिजनबाटै निर्णायकमा हाँस्यकलाकार सन्तोष पन्त, मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई थिए भने शोलाई रिमा विश्वकर्माले होस्ट गर्दै आएकी थिइन् ।

Published On: Time : 1:49:21  

तपाईको प्रतिक्रिया