‘दुईपटक मात्र प्रधानमन्त्री’


काठमाडौं– अब दुईपटक मात्र प्रधानमन्त्री हुन पाइने व्यवस्था गरिनुपर्ने नेपाली कांग्रेसका महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका नेता विश्वप्रकाश शर्माले बताएका छन् । आइतबार गृह जिल्ला झापामा ‘हिजो राजनीतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन’ शीर्षकको अवधारणापत्र सार्वजनिक गर्दै उनले राष्ट्रपति पदमा दोहो¥याएर र प्रधानमन्त्रीमा दुईपटक भन्दा बढी शपथ लिन नपाइने व्यवस्था गरिनुपर्ने बताए ।
राष्ट्रपतिमा एकपटक र प्रधानमन्त्री दुई पटक भन्दा बढी हुन नपाइने व्यवस्था गर्न प्रस्ताव गरेका छन् । वान, टु, थ्री, फोरको नारा दिँदै उनले एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीनपटक मन्त्री र चारपटक भन्दा सांसदको शपथ लिन नपाउने प्रस्ताव गरेपछि राजनीतिक वातावरणमा नयाँ मुद्दाको स्थापना हुने संकेत देखिएको छ ।
आइतबार कार्यक्रममा उनले भने ‘यसो गरेमा राजनीतिमा उमेर हद तोक्दै पर्दैन ।’ यो व्यवस्था अनुशरण गरेमा शासकीय पदमा आगमन र बहिर्गमनको भिन्न प्रणाली निर्माण हुने भन्दै शर्माले रचनात्मक प्रणाली हासिल हुने बताएका छन् । खासगरी, नेताहरूले जीवनपर्यान्त पद त्याग्न नमानेपछि युवाहरू पछि पर्दै गएपछि नेता शर्माले एकदमै नयाँ अवधारणा ल्याएका छन् । अब यहि अवधारणा अन्य दलहरूमा पनि आउने हो भने वृद्ध नेताहरूले पद ओगट्न पाउने सम्भावना हटेर जाने देखिन्छ ।
नेता शर्माले राजनीतिकर्मी स्वाबलम्बी बन्नुपर्ने र स्वच्छताको सन्देश दिनुपर्ने बताएका छन् । हरेक तहको राजनीतिक नेतृत्व र सदस्य आर्थिक रूपले आत्मनिर्भर बन्ने र प्रेरणादायी बन्नुपर्ने भन्दै उनले तीन दिन पार्टीको काम गर्ने र चार दिन रोटीका लागि काम गर्ने नारा दिएका छन् । उनले नेपालमा पटक–पटक राजनीतिक परिवर्तन भएको भन्दै अब राजनीतिमा परिवर्तन गर्नुपर्ने बेला भएको बताए । ‘हाम्रो राजनीतिको छविप्रति उब्जिएको प्रश्न र विकर्षणलाई सूत्रवद्ध गर्दै तिनको समयोचित हल साझा ढंगले पहिल्याऔँ’ उनले भनेका छन् ।
शर्माले संविधान बनाउनेले संविधानप्रति इमान राख्नुपर्ने र विमति राख्नेले पनि संविधानसभाको सम्मान गर्नुपर्ने बताएका छन् । भिन्न दर्शन, भिन्न दल, भिन्न नेतृत्वको आपसमा थुप्रै फरक मत राखेर संविधान निर्माण गरेको भन्दै शर्माले भनेका छन् ‘जो जसले संविधान निर्माणमा सहकार्य ग¥यौँ, तिनैले यसको स्वामित्व नलिने र यसप्रतिको फरकमतलाई मुद्दा बनाउने हो भने त्यो जिम्मेवार राजनीतिको परिचय हुन सक्दैन ।’
शर्माले २४ बुँदा समेटेर सार्वजनिक गरेका अवधारणामा राजनीतिक छविमा पुनर्ताजगीको आकांक्षादेखि राजनीतिले अव क्रान्तिको भाषा परिवर्तन गर्नुपर्नेसम्म रहेका छन् । ‘राजनीतिक परिवर्तनको नेतृत्व दलहरूले गरे, राजनीतिमा परिवर्तन दलहरूको भित्रको परिवर्तनबाट प्रारम्भ हुन्छ । छलफलका प्रस्तावित यी बुँदासँग राजनीतिमा परिवर्तन गर्ने अन्य कयौ विषय तथा सवालहरू हुन सक्दछन् र छन्,’ शर्माले आफ्नो अवधारणामा भने ।
त्यस्तै उनले राजनीतिमा परिवर्तनको एजेन्डा उठाउनुको अर्थ हो, मूल संग्लो त समग्र संग्लो भन्ने मान्यतालाई अघि सारेका छन् । ‘संसारमा जतिसुकै सुन्दर राजनीतिक प्रणाली किन नहोस जनताको हित र देशको प्रगती प्रणाली मात्रैमा होईन त्यसका सञ्चालकहरूको प्रवृत्तिमा बढी निर्भर हुन्छ । त्यसैले नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार हुँदै गर्दा म सबैको ध्यान यसतर्फ आकर्षित गर्न चाहन्छु । नेपाली कांग्रेसका सदस्यलाई मात्र होईन यो हरेक राजनीतिक दलको सदस्यका लागि पनि हो,’ शर्माले भनेका छन् ।

Published On: Time : 1:58:06  

तपाईको प्रतिक्रिया