द राइजिङ र स्काई गोल्स काठमाडौंको जित


पोखरा– धरानको द राइजिङ क्लबले राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिगमा लगातार दोस्रो जित निकालेको छ । त्यस्तै सोमबारकै अर्को खेलमा स्काई गोल्स काठमाडौंले पहिलो जित निकालेको छ । पोखराको बहुउद्देश्यीय कभर्डहलमा सोमबार भएका खेलमा झरना स्पोर्ट्स क्लबलाई ८–० गोल अन्तरले पराजित गर्दै स्काईले पहिलो जित निकालेको भने प्रभातफेरी युथ क्लबलाई ११–६ गोल अन्तरले पराजित गर्दै राइजिङले दोस्रो जित निकालेको हो ।

राइजिङको जितमा रेवोस मास्के र बिकु तामाङले ३/३ गोल गरे । यस्तै मिलन राईले दुई गोल गर्दा मिलन लिम्बु, दोर्जी तामाङ र सुदिप गुरुङले एक–एक गोल गरे । प्रभातफेरीका धिरज श्रेष्ठले दुई गोल गरे । धिरज जोशी, राज पौडेल, सृजन पुरी र सिजन गुरुङले एक एक गोल गरे । राइजिङका बिकु प्लेयर अफ दि म्याच चुनिए । जितसँगै राइजिङले २ खेलमा ६ अंक जोडेको छ । राइजिङ शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा राइजिङले स्काई गोल काठमाडौंलाई ५–४ गोल अन्तरले पराजित गरेको थियो ।

प्रभातफेरीको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा प्रभातफेरी स्पोर्ट्स क्यासल पोखरासँग ७–० ले पराजित भएको थियो । प्रभातफेरी अंक विहीन रहदै पुछारमा रहेको छ । त्यस्तै स्काई गोल्स काठमाडौं र झरना स्पोर्ट्स क्लबबीचको खेलमा स्काईको जितमा निर्मल गुरुङ र प्रकाश महत्राले दुई दुई गोल गरे । अनिल खड्का, अनिश सुनाम, सन्जोग चाम्लिङ र रोशन अधिकारीले एक एक गोल गरे ।

यस अघि पहिलो खेलमा स्काई धरानको द राइजिङ क्लबसँग पराजित भएको थियो । यस जितसँगै स्काईले २ खेलमा ३ अंक जोडेको छ । झरनाको यो लगातार दोस्रो हार हो । लिगमा १० टिमको सहभागिता रहेको छ । फुटसल लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउने एन्फाले जनाएको छ । यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने एन्फाले जनाएको छ ।

Published On: Time : 2:40:33  

तपाईको प्रतिक्रिया