गौरी मल्ल महानायिका !


काठमाडौं– नेपाली कलाकारहरूलाई दिइने पदवी लगातारजसो विवादमा परिरहँदा अभिनेत्री गौरी मल्लले ‘महानायिका’को र शिव श्रेष्ठले ‘महानायकको’ पदवी पाएका छन् । गौरीलाई अघिल्लो पुस्ताका दुई सुपरस्टार शिव श्रेष्ठ र भुवन केसीले ‘महानायिका’को पदवी दिएका हुन् भने भुवनले शिवलाई पनि ‘महानायक’ भनेका छन् । आइतबार फिल्म ‘डाँडाको वरपीपल’ को गीत सार्वजनिक कार्यक्रममा भुवन र शिवले अहिलेसम्म गौरीजस्तो अभिनयमा डुब्न सक्ने अभिनेत्री नभएको उनीहरूको दाबी छ । गौरी मल्ललाई ‘महानायिका’ भन्नुको कारणबारे प्रस्ट्याउँदै भुवनले भने, ‘म जे बोल्छु सत्य बोल्छु । गौरी मल्ल नेपाली फिल्मको रियल ‘महानायिका’ र अभिनयको ‘महारानी’ हो । अब आउने कति पीढि उहाँको अभिनयको तुलनामा आउन सक्दैन ।’ ‘डाँडाको वरपीपल’ फिल्ममा आफूले सानो भूमिका भए पनि काम गर्न तयार हुनुको एउटा कारण गौरी मल्ल रहेको उनले बताए ।

उनले शिव श्रेष्ठलाई पनि ‘महानायक’ घोषित गर्न भ्याए । ‘उहाँ (शिव श्रेष्ठ) ले पाकिस्तान थर्काएर नेपाललाई चिनाउनु भएको छ । उहाँले इन्डस्ट्रीलाई ठूलो योदान गर्न‘भएको छ । उहाँसँग लामो समयपछि काम गर्न पाउँदा एकदमै गर्व महसुस भएको छ,’ भुवनले भने । कार्यक्रममा फिल्मका निर्देशक शोभित बस्नेतले भने नेपालको एक मात्र असली ‘महानायक’ भुवन केसी रहेको दाबी गरे । भुवन केसीपछि शिव श्रेष्ठले गौरी मल्ल आफूहरूको ‘पाठशाला’ रहेको बताए । उनले भने, ‘गौरी मल्लबाट हामीले सिक्नुपर्छ । उहाँले हामीलाई फिल्मको सेटमा धेरै सिकाउनु भएको छ । म उहाँलाई ‘महानायिका’ घोषित गर्छ‘ ।’ करिश्मा मानन्धर ‘ड्रिम गर्ल’ रहेको तर आफ्नो नजरमा असली ‘महानायिका’ गौरी मल्ल रहेको उनको भनाइ छ ।

गौरीले भने नेपालमा यसप्रकारका उपाधिको कुनै औचित्य नै नभएको बताइन् । आफूलाई उपाधि नभई काम दिन उनको आग्रह छ । ‘मलाई उपाधिको लोभ छैन । हामी श्रमजीवी हौँ । हामीलाई श्रम गर्ने मौका दिनुपर्छ । यस्तो शृंगार–अलंकारको पछाडि नलागौँ,’ उनले आग्रह गरिन् । नेपाली चलचित्र उद्योगमा कलाकारहरूलाई विभिन्न व्यक्ति तथा संघसंस्थाले सम्मान तथा पदवी दिने प्रचलन छ । विभिन्न अवार्डका अतिरिक्त कलाकारहरूलाई उपाधि दिने गरिएको छ । तर, त्यसरी दिइने उपाधि विवादमा पनि पर्ने गरेको छ । वर्षौं अगाडि नेपाल चलचित्र प्राविधिक संघले आफ्नो अवार्ड समारोहमा सुपरस्टार राजेश हमाललाई ‘महानायक’ को उपाधि दियो । तर, उनी यो उपाधिको हकदार नभएको भन्दै लामो समयदेखि बहस हुँदै आएको छ ।

दर्शकको ठूलो जमातले भने उनलाई ‘महानायक’ मान्ने गरेको छ । पछिल्लो समय अभिनेत्री, निर्माता तथा निर्देशक दीपाश्री निरौलाले उनलाई ‘महानायक’ नभएको आशयको अभिव्यक्ति दिएपछि उनीसमेत विवादमा परिन् । गत वर्ष एक प्राइभेट संस्थाले राजेश हमाललाई साक्षी राखेर अभिनेत्री करिश्मा मानन्धरलाई ‘महानायिका’ घोषणा ग¥यो । उनलाई यो उपाधि दिएकोमा पनि चलचित्र उद्योग दुई कित्तामा बाँडिएको थियो । कसैले उनी यो उपाधिको हकदार रहेको बताएका छन् भने कसैले ‘महानायिका’ को उपाधि पाउने काम उनले नगरेको टिप्पणी गरेका छन् । यस विषयमा दर्शकको बोली पनि एउटै छैन ।

Published On: Time : 2:43:11  

तपाईको प्रतिक्रिया