चोर–पुलिसबाट राजेन्द्रको कमब्याक


काठमाडौं– एक बेलाका चर्चित खलनायक राजेन्द्र खड्गीले चलचित्र क्षेत्रमा पुनरागमन (कमव्याक) गरेका छन् । लामो समयको ‘ग्याप’पछि अभिनेता खड्गीले चलचित्र ‘चोर–पुलिस’मार्फत कम्व्याक गरेका हुन् । विगत ८ वर्षदेखि फिल्मबाट टाढा रहेका खड्गीले फिल्म ‘चोर र पुलिस’ बाट अभिनयमा पुनरागमन गरेका छन् ।

शुक्रबार सार्वजनिक भएको फिल्मको ट्रेलरमा राजेन्द्र खड्गीलाई एक्सन गर्दै गरेको देख्न सकिन्छ । १७ कात्तिकदेखि प्रदर्शनमा आउन लागेको यो फिल्ममा धिरेन शाक्य, बुद्धि तामाङ, जयनन्द लामा, जयकिसन बस्नेत, रबि गिरी, सोभित बस्नेत ,रामचन्द्र अधिकारी, सुरवीर पण्डित, जाहान्वी बस्नेत, कविता राया, सुलेमान शंकर ‘इकु’,लगायतका कलाकारहरूको पनि अभिनय छ । आरएल मोक्तानको निर्देशन रहेको यस फिल्मको निर्मातामा आर सोनाम मोक्तान र लंका माया मोक्तान छन् । आरआर फिल्मस्ले वितरण गर्ने फिल्मको सह–निर्मातामा करणबहादुर विष्ट, कार्यकारी निर्माता जीवन लाम र प्रस्तुतकर्ता खड्क लामा छन् । फिल्ममा रामेश्वर हुमागाईको छायांकन, विकास चौधरीको संगीत, तारा थापा ‘किम्भे’ को सम्पादन र राजु किराँतीको द्वन्द्व निर्देशन छ ।

एक समय हरेक एक्सन फिल्ममा राजेन्द्र अनिवार्य हुन्थे । भिलेनको भूमिकामा उनी निर्विकल्प झैँ थिए । हरेक निर्माता÷निर्देशकको पहिलो रोजाइ नै उनी हुन्थे । भिलेन बन्न उनलाई अभिनयसँगै बाहिरी आवरणले पनि उतिक्कै साथ दिएको थियो । यसैले त उनले डेढ दशक भिलेनको रूपमा एकछत्र राज गरे । उनले आफ्नो करिअरमा ३ सयभन्दा ज्यादा चलचित्रमा काम गरेका छन् । ०७४ सालमा मानव ओसारपसार तथा बेचबिखनको आरोपमा पक्राउ समेत परेका उनी पछिल्लो समय य्ट्युबमा उत्तेजक अभिव्यक्ति दिएर चर्चामा आउने गरिरहेका थिए ।

Published On: Time : 3:29:39  

तपाईको प्रतिक्रिया