रेमिट्यान्स घट्दा समस्या


काठमाडौं– वैदेशिक रोजगारीबाट भित्रिने रेमिट्यान्समा गिरावट आएपछि अर्थतन्त्रमा समस्या देखिने जोखिम बढेको छ । चालू आर्थिक वर्षको पहिलो महिनामा रेमिट्यान्स १८.१ प्रतिशतले घटेर रु. ७५ अर्ब ९६ करोडमा सीमित भएको अवस्थामा यसले समग्र अर्थतन्त्रमा समस्या देखिने जोखिम बढेको अर्थशास्त्रीहरूले बताएका छन् ।

गत आर्थिक वर्षमा २३ प्रतिशतले वृद्धि भएको रेमिट्यान्स दशैँको मुखैमा कम हुँदा समग्र अर्थतन्त्रमा प्रभाव पर्ने देखिएको हो । गत वर्षको साउन महिनामा भने रु. ९२ अर्ब ७१ करोड रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षमा समग्रमा ९ प्रतिशले रेमिट्यान्स बढेको देखिए पनि आर्थिक वर्षको अन्तिम तिर घट्न थालेको रेमिट्यान्स नयाँ आर्थिक वर्षको सुरुआतदेखि नै ऋणात्मक बनेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । रेमिट्यान्समा आधारित अर्थतन्त्र भएको नेपालमा रेमिट्यान्समा आएको गिरावटले समग्र आर्थिक अवस्थामा प्रभाव पार्ने सम्भावना देखिएको अर्थतन्त्रका जानकारहरूले बताउँदै आएका छन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार गत वर्ष रु. २४ अर्ब ८९ करोडले बचतमा रहेको कारोबारको साराशं चालु खाता चालु आर्थिक वर्षको सुरुआतमा रु. ४७ अर्ब ९० करोडले ऋणात्मक अवस्थामा पुगेको छ । यस्तै शोधनान्तर स्थितिसमेत अहिले रु. ३८ अर्ब ७५ करोड घाटामा रहेको देखिएको छ । अघिल्लो वर्ष यही अवधिमा शोधनान्तर स्थिति रु. ५१ अर्ब ४६ करोडले बचतमा रहेको थियो । यस्तो अवस्थामा विदेशी मुद्रा विनियम सञ्चिति समय घटेको बताइएको छ । साउन महिनामा यस्तो सञ्चिति रकम रु. १३ खर्ब ९९ अर्बबाट रु. १३ खर्ब ५३ अर्बमा झरेको देखिएको छ । यो संख्या अघिल्लो महिनाको तुलनामा रु. ४६ अर्बले कम हो ।

पछिल्लो समय आयात–निर्यात असन्तुलन पनि निकै बढेको छ । चालु आवको साउन–भदौमा रु. ३ खर्ब १४ अर्ब ५१ करोड बराबरको वस्तु आयात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७५.८६ प्रतिशत वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । दुई महिनामा निर्यात भने रु. ४४ अर्ब बराबरको मात्र भएको छ ।

Published On: Time : 3:44:59  

तपाईको प्रतिक्रिया