चितवन र विराटनगर विजयी


काठमाडौं – एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको आइतबार सम्पन्न खेलमा चितवन टाइगर्स र विराटनगर वारियर्सले जित हात पारेका छन् । त्रिभुवन विश्वविद्यालयको क्रिकेट खेल मैदानमा आइतबार सम्पन्न दोस्रो खेलमा चितवन टाइगर्सले चौंथो जित निकाल्ने क्रममा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई ५ विकेटले पराजित गरेको छ । चौंथो जितसँगै चितवन क्वालिफायरमा प्रवेश गरेको छ । चितवनले ४ खेलमा ८ अंक जोडेको छ । र, चितवनले शीर्ष दुई पक्का गरेको हो । चितवन र ललितपुरबीचको खेलको नतिजाले पोखरा राइनोज र भैरहवा ग्ल्याडियटर्सले समेत प्ले अफमा स्थान बनाएका छन् ।

ललितपुर ५ खेलमा ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ । ललितपुरले दिएको १ सय ९ रनको लक्ष्य चितवन १७ ओभर २ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो । चितवनको जितमा मोहमद साहजादले ३५ रन बनाए । भिम सार्कीले २७ तथा दिलिप नाथले अविजित १६ रन बनाए । विरन्दिप सिंह १३ रनमा आउट भए । ललितपुरका अज्मातुल्लाह ओमार्जाई र रिजन ढकालले २/२ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८ रन बनाएको थियो । ललितपुरका लागि जयकिशन कोल्सावालाले सर्वाधिक ४२ रन बनाए । सन्दुन विराकोड्डीले १४ रन जोडे । सुर्य तामाङ ११ रनमा अविजित रहदा ललित राजवंशीले अविजित ९ रन बनाए । ललितपुरलाई सस्तैमा समेट्न चितवनका कमल सिंह ऐरीले ३ विकेट लिए । करिम जनत र सागर ढकालले २÷२ विकेट लिए । शाहब आलमको नाममा १ विकेट रह्यो ।

त्यसअघि आइतबार नै सम्पन्न पहिलो खेल वर्षाले प्रभावित बन्यो । ८ ओभरमा छोट्याइएको खेलमा विराटनगर वारियर्सले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ । विराटनगरले काठमाडौं किङ्स–११ लाई ७ रनले पराजित गर्दै पहिलो जित निकालेको हो । यस जितसँगै विराटनगरले सान्त्वना जित निकालेको छ । र, प्रतियोगिताको सुखद अन्त्य गरेको छ । विराटनगरले ५ खेलमा २ अंक जोड्यो । अघिल्लो चार खेल गुमाएको विराटनगर पुछारमा रह्यो । काठमाडौं ३ खेलमा २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । विराटनगरले दिएको १ सय ५ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित ८ ओभरमा ३ विकेट गुमाएर ९७ रन मात्र बनाउन सक्यो । काठमाडौंका लागि रहमानउल्लाह गुर्बाजले सर्वाधिक २८ रन बनाए । उनले १५ बलको समाना गर्दा एक छक्का र तीन चौका हिर्काए । २६ रनमा अविजित रहेका सुवास खकुरेलले १० बलमा तीन छक्का हिर्काए ।

राजु रिजालले २४ रन र रायन बर्लले १५ जोडे । विराटनगरका रायन पठानले २ तथा प्रतिस जिसीले १ विकेट लिए । यस अघि आठ ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ गरेको विराटनगरले ५ विकेट गुमाएर १ सय ४ रन जोडेको थियो। भिजेको आउट फिल्डको कारण ढिला खेल सुरु हुँदा ओभर घटाईएको हो । विराटनगरका लागि अनिल साहले १६ बलमा अविजित रहदै सर्वाधिक ४५ रनको योगदान गरे । उनले पंचा छक्का र दुई चौका प्रहार गरे । ओपनर रायन पठानले ११ बलको सामना गर्दै तीन छक्का र दुई चौकाको मदतमा ३० रन जोडे । कप्तान करण केसीले १५ रनको योगदान गरे । काठमाडौंका कप्तान सन्दीप लामिछाने, गुल्सन झा र रायन बर्लले एक एक विकेट लिए ।

Published On: Time : 2:52:50  

तपाईको प्रतिक्रिया