नेपाली राष्ट्रिय फुटबलरलाई जनही पाँच लाख


काठमाडौं– राष्ट्रिय फुटबल टिमका खेलाडीलाई जनही ५ लाख दिने सरकारले निर्णय गरेको छ । सरकारले साफ च्याम्पियनसिप २०२१ को उपविजेता नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीलाई जनही ५ लाख रूपैयाँ प्रदान गर्ने भएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले खेलाडीलाई प्रोत्साहनस्वरूप नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् । यस्तै नेपाली टिमका प्रशिक्षकहरूलाई जनही ३ लाख रूपैयाँ उपलब्ध गराइने प्रवक्ता कार्कीले बताए ।
नेपाली टिम माल्दिभ्समा भएको साफ च्याम्पियनसिप खेलेर सोमबार स्वदेश फर्किएको थियो । शनिबार भएको साफको फाइनलमा भारतसँग ३–० ले पराजित हुँदा नेपाल उपविजेतामा सीमित हुन परेको थियो ।

यसअघि साफको फाइनलमा पुग्न नसकेको नेपालले यसपटकको साफमा फाइनल पुगेर इतिहास बनाएको थियो । तर उपाधि जितेर अर्को इतिहास बनाउन भने नेपाल चुक्यो । माल्दिभ्समा आयोजना भएको १३औँ साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी सोमबार नै स्वदेश फर्किएका छन् । साफ च्याम्पियनसिपको करिब २८ वर्षपछि नेपाल पहिलोपटक फाइनल पुगेको थियो । माल्दिभ्सको मालेमा शनिबार राति भएको फाइनल खेलमा नेपाल भारतसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।

फाइनलमा पराजित भएपछि पहिलोपटक साफको उपविजेता बनेको नेपाली फुटबल टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरे । अल्मुताइरीले फाइनल खेलपछि भने दुई साता आराम गर्ने र त्यसपछि मात्र नेपाल फर्कने वा नफर्कने अन्तिम निर्णय लिने बताएका छन् । विभिन्न पाँच राष्ट्र सहभागी उक्त प्रतियोगितामा नेपाल लिग चरणमा उपविजेता बन्दै फाइनल पुगेको थियो भने भारतले लिगको शीर्ष स्थानमा रहँदै फाइनल खेलेको थियो । लिग चरणमा नेपालले माल्दिभ्स र श्रीलङ्कालाई हराएको थियो । यस्तै भारतसँग पराजित भएको नेपालले बङ्गलादेशसँग बराबरी खेलेको थियो । १३औँ संस्करणसम्म आइपुग्दा भारतले भने आठौँ पटक साफ च्याम्यिनसिपको उपाधि चुम्न सफल भयो ।

यसैबीच, साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको नेपाली टिमलाई पर्वतको कुश्मा नगरपालिकाले रु दुई लाख पुरस्कारको घोषणा गरेको छ । नगरप्रमुख रामचन्द्र जोशीले शनिबार भारतसँग प्रतिस्पर्धा गरेको नेपाली फुटबल टिमलाई पुरस्कारस्वरूप उक्त रकम दिने घोषणा गरेका हुन् ।

‘नेपाली फुटबलको क्षेत्रमा इतिहास रच्दै राम्रो खेल प्रदर्शनसहित भारतसँगको खेलमा उपविजेता बन्न सफल नेपाली खेलाडीको उच्च सम्मान गर्दै नगरपालिकाको तर्फबाट रु दुई लाख पुरस्कारको घोषणा गर्दछु,’ नगरप्रमुख जोशीले भने । खेलाडीको सम्मान गर्न सके मात्रै नेपाली खेलकूद क्षेत्र विकास हुने भएकोले आफूले उक्त रकम पुरस्कारस्वरूप दिने घोषणा गरेको जोशीले बताए ।

सिमित स्रोतसाधनका बाबजुद नेपाली खेलाडीले देखाएको यो सफलता नेपालजस्तो मुलुकका लागि ऐतिहासिक भएको उनले बताएका छन् । नगरपालिकाले छिट्टै नगरसमिति बैठक डाकेर उक्त पुरस्कार रकम नेपाली खेलाडीसमक्ष पुर्‍याउने जोशीले बताए ।

Published On: Time : 6:31:16  

तपाईको प्रतिक्रिया