आकाश र उमाले ‘कृत–काव्या’ बनाउने


काठमाडौं– निर्देशक आकाश अधिकारी र निर्मात्री तथा अभिनेत्री उमा गिरीले पहिलो पटक फिल्ममा सहकार्य गर्ने भएका छन् । दशैँको अवसरमा उनीहरूले संयुक्त रूपमा फिल्म ‘कृत–काब्या’ निर्माण गर्ने घोषणाा गरेका हुन् । प्रेमकथामा निर्माण हुन लागेको फिल्मलाई आकाश स्वयंले निर्देशन गर्नेछन् भने कथा पनि उनले नै लेखेका हुन् । फिल्मको छायांकन केहीदिनमै सुरु गर्ने तयारी भइरहेको निर्देशक आकाशले जानकारी दिएका छन् ।

फिल्मका लागि कलाकारको भने टुंगो लागिसकेको छैन । तर, उमाकी छोरी शिवानी मुख्य भूमिकामा देखिन सक्ने प्रवल सम्भावना रहेको चर्चा छ । यस विषयमा उनी भन्छिन्, ‘फिल्ममा दुई जना टिनएजरको मुख्य भूमिका रहनेछ । दुवैको राम्रो क्यारेक्टर छ । तर, फिल्ममा शिवानीको अभिनय हुन्छ वा हुँदैन टुंगो भइसकेको छैन ।’ शिवानीले फिल्म ‘कहिँ कतै’बाट नायिकाको रूपमा डेब्यू गरेकी थिइन् ।

उमाले यसअघि ‘कहिँ कतै’, ‘इशारा’ लगायतका फिल्म बनाइसकेकी छिन् । उता निर्देशक अधिकारी लकडाउनपछि अभिनेताद्वय सौगात मल्ल र शिव श्रेष्ठलाई लिएर नयाँ फिल्म बनाउने तयारीमा थिए । तर, फेरि कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि फिल्मको छायांकन पोस्टपोन्ड भयो । अब उनले यो फिल्मभन्दा अगाडि उमासँग मिलेर फिल्म ‘कृत–काब्या’ बनाउने तयारीमा लागेका छन् ।

निर्देशक आकाशले उक्त फिल्म हिन्दी र नेपाली दुई भाषामा निर्माण हुन लागेको जानकारी दिएका छन् । फिल्मको छायांकन नेपाल र भारतको सिक्किममा गर्ने तयारीमा निर्माण टिम रहेको छ । आकाश र उमाको यसअघि ‘त्यो तिम्रो चोखो प्रेमको नजरमा’ गीतको म्युजिक भिडियोमा सहकार्य भएको थियो । भिडियोलाई आकाशले निर्देशन गरेका थिए भने उनी स्वयंको अभिनय थियो । उनको जोडीको रूपमा उमा गिरी देखिएकी थिइन् ।

 

Published On: Time : 6:33:54  

तपाईको प्रतिक्रिया