धान उत्पादन घट्ने अनुमान

दमौली– केही दिनदेखि परेको वर्षाका कारण तनहुँका विभिन्न ठाउँमा धानबालीमा क्षति पुगेको छ । वर्षाले काटेर राखेको धान नष्ट बनाएको छ भने काट्न बाँकी रहेको धान डुबाएको कृषकले बताएका छन् ।
व्यास नगरपालिका–११ पोल्याङका किसानले काटेर थन्क्याउन बाँकी रहेको धान पानीले क्षति पु¥याएको जानकारी दिएका छन् । चार रोपनी क्षेत्रफलमा लगाइएको धानमध्ये डेढ रोपनीको धान काटेर भित्र्याउन बाँकी रहेको बेला पानीले क्षति बनाएको बताए ।

शुक्लागण्डकी नगरपालिकाका विभिन्न स्थानमा पनि वर्षाले धानबालीमा क्षति पु¥याएको छ । नगरपालिकाका कृषि शाखाप्रमुख नवराज पण्डितले काटेर राखेको साढे चार सय रोपनीको धान पानीले बिगारेको जानकारी दिएका छन् । काटेर खेतमै छाडिएको धान पानीले बिगारेको छ । घाम लागेर सुक्यो भने काम आउला तर सुकेपछि उठाउँदा झर्ने सम्भावना पनि हुने कृषकहरूले बताएका छन् ।

दुई दिनको वर्षाले जिल्लाका अधिकांश ठाउँमा धान बिगारेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । केन्द्रका अनुसार जिल्लाको व्यास, शुक्लागण्डकी, म्याग्दे, आँबुखैरेनी लगायतका धानखेतमा वर्षाले नोक्सान गरेको छ । केन्द्रका अनुसार जिल्लामा ११ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । त्यसमध्ये दुई हजार पाँच सय हेक्टर क्षेत्रफलमा चैतेधान हुने गरेको छ । गत वर्ष एक लाख ४७ हजार मेट्रिक टन धान उत्पादन भएको कार्यालयको तथ्यांक छ । जिल्लाका तनहुँसुर, सेपाबगैँचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगेलगायत क्षेत्रहरू धान खेतीका लागि प्रख्यात मानिन्छन् ।

सर्लाहीका धानबालीमा क्षति
आइतबारदेखि लगातारको वर्षाका कारण पाक्नै लागेको धानबालीमा क्षति भएपछि त्यहाँका किसान चिन्तित छन् । यसवर्ष जिल्लामा ४४ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको छ ।
लगातारको पानीले धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाका किसानले धान रोप्ने समयमा पनि मल खाद्य नपाएर सास्ती बेहोरेका थिए । किसान जसोतसो पाकेको बाली भित्र्याउने समयमा पानीले धानमा नोक्सान गरेपछि थप मारमा परेका छन् ।

पानीले खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी भिजेको कृषकहरूले बताएका छन् । धेरै ठाउँमा किसानले धान काटेको दुई दिनमा खेतमा पानी भरिएको छ । धेरै किसानले पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्थामा पुगेको हरिवन–५ का कृषकहरूले बताएका छन् । लगातारको वर्षाका कारण पूर्व पश्चिम लोकमार्गका अधिकांश कलभर्टमा पानीको बहाव बढेको र यसबाट सवारी साधन आवतजावत गर्न समस्यामा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दाङमा पनि क्षति
आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ । दसैँअघि नै जिल्लाका अधिकांश क्षेत्रमा धान पाकेर पहेँलो भए पनि किसानले दसैँ चटारोका कारण धान काट्न भ्याएका थिएनन् । बंगालको खाडी र मध्य भारतमा रहेको (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा वर्षा गराएको छ । पानीले खेतबारीका धानसँगै तोरी अन्य बाली साथै तरकारीमा समेत क्षति पुर्‍याएको किसानले बताएका छन् । तुलसीपुर–६ का किसानले आफूहरूका मात्र नभई धेरैको खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी भिजेको बताएका छन् । लगातारको कात्तिके झरीले जिल्लाको घोराही, लमही, भालुवाङ, पश्चिम दाङका किसानलाई बाँकी रहेको धान पनि कसरी भित्र्याउने भन्ने समस्याले पिरोलेको छ । कतिपय ठाउँमा काटेको धान खेतमै भिजेको छ भने कतै पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्था पुगेको छ । त्यस्तै पश्चिम दाङको शान्तिनगर गाउँपालिका–३ देवीपुरमा काटेर गह्रामा सुकाएको धान अविरल वर्षाले बगाएर लगेको स्थानीयले बताएका छन् ।

जिल्लामा अधिकांश क्षेत्रमा किसानको पाकेको धानमा लगातारको वर्षाले क्षति पु¥याएको र अहिले पनि वर्षा जारी रहेकाले क्षतिको यकिन विवरण आउन नसकेको कृषि ज्ञानकेन्द्र दाङले जनाएको छ । केन्द्रका अनुसार यस वर्ष जिल्लाको कूल ३९ हजार ६०० हेक्टर क्षेत्रफल जग्गामा धानखेती गरिएको छ । ज्ञानकेन्द्रका अनुसार यहाँका किसानले सावित्री, राधा ४, सुनौलो सुगन्ध, लोकतन्त्र, गोरखनाथ, लोकनाथ, युएस ३१२, लगायतका वर्णशङ्कर जातका धानको खेती गरेका छन् । यस्तै कम पानी हुने ठाउँमा सुक्खा–१, सुक्खा–२, सुक्खा–३ जातका धानको खेती गरिएको बताइएको छ ।

Published On: Time : 5:23:55  

तपाईको प्रतिक्रिया