रुबीको आमरण अनसन अन्त्य

काठमाडौं– बाँकेको नेपालगन्जबाट २० दिन लगाएर पदलै काठमाडौं आएर धर्नामा बसेकी अधिकारकर्मी रुबी खानले मंगलबार अनसन तोडेकी छन् । बाँकेकी निर्मला कुर्मीको हत्या र नन्कुन्नी धोबीको बेपत्ता भएको घटनाबारे तत्काल अनुसन्धान सुरु गर्ने सरकारसँग सहमति भएपछि उनले अनसन तोडेकी हुन् । गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय समिति बनाएर उक्त घटनाको सत्यतथ्य छानबिन गर्ने सहमति भएपछि खानलाई गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल र राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य मोहना अन्सारीले जुस खुवाएर अनसन तोडाएका थिए । पोखरेल र अन्सारीले खान अनसन बसिरहेको स्थान माइतघर मण्डलामै पुगेर अनसन तोडाएका हुन् ।

धोबीको मृत्यु र कुर्मी बेपत्ता भएको घटनामा सरकारसमक्ष आवश्यक छानबिनको माग गर्दै उनले १२ दिन अघिदेखि आमरण अनसन सुरु गरेकी थिइन् । उक्त घटनाको छानबिनका लागि गृहमन्त्रालयका सहसचिव रेग्मीको संयोजकत्वमा सदस्यहरू नेपाल प्रहरीका प्रहरी उपरीक्षक रामप्रकाश शाह, अनुसन्धान विभागका उपनिर्देशक वीरेन्द्रसिंह कार्की, गृहमन्त्रालयका उपसचिव रामप्रसाद लम्साल, मुस्लिम समाज चेतना केन्द्रका अध्यक्ष मोहम्मद शेर बागवान र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रतिनिधि गरी छ सदस्यीय समिति गठन गरिएको छ । गृह प्रवक्ता पोखरेलका अनुसार समितिले ७ दिनभित्र उक्त घटनाको छानबिन गरी प्रतिवेदन तयार गरी बुझाउने छ ।

अनसन तोडेपछि अधिकारकर्मी खानले यो सहमति सबै महिला तथा पीडित परिवारको पक्षमा भएको प्रतिक्रिया दिएकी छन् । समाजलाई महिला हिँसामुक्त बनाउनका लागि सहमतिले ठोस काम गर्ने उनको अपेक्षा छ । अनसनका क्रममा उनलाई प्रहरीले नियन्त्रणमा समेत लिएको थियो । खानका अनुसार २२ असोज साँझ पक्राउ गरेपछि उनलाई खुट्टाको घाउमा टाँका लगाउने भन्दै वीर अस्पताल पु¥याइयो । त्यहाँ उपचार गर्ने काम नसक्दै सोह्रखुट्टे प्रहरी हिरासतमा रातभरि राखियो । भोलिपल्ट जहाजबाट बाँके जिल्ला प्रहरी कार्यालय लगिएको खानलाई त्यहाँ बारम्बार अनसन तोड्न दबाब दिइएको उनले बताइन् ।

‘महिला प्रहरीसम्म नभएको कोठामा लगेर अनसन तोड्न बार्गेनिङ गरियो’, उनले भनिन्, ‘मैले अनसन तोडेमा ममाथि लगाइएका सबै मुद्दा तत्कालै फिर्ता गर्ने भनेर त्यहाँका प्रहरीले प्रत्येक दिन मानसिक दबाव दिइरहे ।’ यता काठमाडौंमा मानवअधिकार मोहना अन्सारी तथा रुबी खानको वकिलले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दिइसक्दासमेत प्रहरीले रुबीलाई काठमाडौं हाजिर गराएन । दोस्रोपल्ट २४ घन्टाभित्र थुनामुक्त गर्न आदेश दिएपछि उपचार गराइरहेको अवस्थामै प्रहरीले उनलाई २८ गते काठमाडौं ल्यायो । अदालतबाट रिहाइ पाएपछि माइतिघरको सडकमा नै अनसन बसिरहेकी रुबीलाई स्वास्थ्य समस्या देखिएपछि पुनः अस्पताल लगियो । मंगलबार अस्पतालले डिस्चार्ज गरेपछि मात्र उनी अन्य आन्दोलनरत साथीहरूलाई भेट्न आएका थिए ।

पक्राउ गरेको केही दिनसम्म प्रहरीले एक कल फोनसमेत गर्न नदिएको उनको भनाइ छ । ‘मेरो वकिललाई, परिवारलाई फोन गर्छु भन्दा उनीहरूले फोन गर्न दिएनन् । पुरुष प्रहरीहरूले तानातान गर्दा नै मेरो फोन फुटिसकेको थियो । उपचार गर्न अस्पताल लगे पनि चेकजाँच गर्न नपाउँदै फेरि हिरासतमा नै लगियो,’ उनले भनिन् । उनले प्रहरीले आफूलाई पशुसरह व्यवहार गरेको पनि आरोप लगाएकी छन् । उनले भनिन् ‘नेपालगञ्ज र काठमाडौंको हिरासतका प्रहरीले मान्छेलाई होइन कुनै वस्तुलाई समातिरहेको जस्तो व्यवहार गरे । उनीहरूले सामान्य मानवीयताको समेत ख्याल नगरी पशुलाई गरेजस्तो व्यवहार गर्दा मलाई मानसिक रूपमा ठूलो आघात पर्‍यो ।’

उनले यो सम्झौता सबै न्यायप्रेमीको जित भएको बताएकी छन् । ‘मेरो रिहाइ र आजको सम्झौता मेरोमात्र जित होइन, सबै न्यायप्रेमी र पीडितहरूले पाएको राहत हो’, उनले भनिन्, ‘यदि नेपाल सरकारले आज गरेको सम्झौता अक्षरशः पालन गरेन भने हामी योभन्दा कडा आन्दोलन गर्छौँ । जति नै यातना र सास्ती पाए पनि हामी थाकेका छैनौँ ।’ १ असोजमा बाँकेबाट हिँडेकी उनी २० गते काठमाडौं आइपुगेपछि माइतिघर मण्डलामा धर्नामा बसेकी थिइन् ।

Published On: Time : 5:30:31  

तपाईको प्रतिक्रिया