अवैधलाई कतारमा आममाफीको सुविधा


काठमाडौं– कतार सरकारले अवैधानिक रूपमा कतारमा बसोबास गरिरहेका आप्रवासी श्रमिकहरूलाई वैधानिक हुने सुविधा दिने भएका छ । रोजगारीका लागि कतार पुगे पनि विभिन्न कारणले कतारी आइडी प्राप्त गर्न नसकेका वा नवीकरण हुन नसकी अवैध रूपमा कतारमा बसोबास गरिरहेकाहरूले आफ्नो बसाइँलाई वैधानिक बनाउन पाउने भएका हुन् ।

अवैधानिक रूपमा रहेकाहरूले वैधानिक बन्नका लागि कतार सरकारले विदेशी श्रमिकले कुनै रोजगारदाता कम्पनीबाट जब अफर लेटर लिएर आवश्यक कागजातसहित तोकिएका केन्द्रहरूमा निवेदन दिएमा उनीहरूको बसाइँ कानुनी हुने बताएका कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । दूताबासले एक विज्ञप्ति जारी गर्दै त्यसरी निवेदन दिनेहरूलाई हालसम्मको दण्ड जरिवाना छुट तथा मिनाहा गरी नयाँ कम्पनीमा रोजगारीका लागि अनुमति प्रदान गरिने छ । यसका लागि उम्म सलाल सर्भिस सेन्टर, उम्म सुनाइम सर्भिस सेन्टर, मेसाइमिर सर्भिस सेन्टर, अल बक्रा सर्भिस सेन्टर र अल रैयान सर्भिस सेन्टरमा निवेदन दिन सकिने बताइएको छ ।

यसैगरी, कुनै नयाँ रोजगारदातासँग काम गर्ने गरी जब अफर लेटर प्राप्त गर्न नसकी स्वदेश फर्किन चाहनेहरूका लागि भने सर्च एन्ड फलो अप डिपार्टमेन्टमा रहेको काउन्टरमा नेपाल फर्किने टिकटसहित सम्पर्क गर्न सकिने दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यसरी सम्पर्क गर्नेहरू समेतलाई कुनै दण्ड जरिवाना नहुने दूतावासले जनाएको छ । त्यस्तै, भ्रमण भिसा (टुरिस्ट भिसा) मा कतार पुगेर भिसाको म्याद समाप्त भएकाहरू समेत यो प्रक्रियामार्फत स्वदेश फर्कन पाउने बताइएको छ । पर्यटक भिसामा गएर फर्किन चाहनेहरूलाई पनि कुनै दण्ड जरिवाना नहुने दूतावासले जनाएको छ ।
कतार सरकारले जारी गरेको यो घोषणा ३१ डिसेम्वर २०२१ अर्थात १६ पुस ०७८ सम्म लागू हुने जनाइएको छ । कतार सरकारले तोकेको यो अवधिको सदुपयोग गर्न सबै नेपालीहरूलाई दूतावासले अनुरोधसमेत गरेको छ ।

Published On: Time : 5:39:07  

तपाईको प्रतिक्रिया