र्‍याफ्टिङका लागि नेपालमा जस्तो खोला अरू देशमा छैन- कायकर हरि

प्रकाशित मिति :  221 पटक हेरिएको

हरिबहादुर आले मगर, कायकर

हरिबहादुर आले मगर, एक कायकर तथा र्‍याफ्टिङ गाइड हुन् । धादिङको त्रिशूली किनारमा घर भएका उनको बाल्यकाल त्यहीँ बित्यो । खोलासँगै रम्दै हुर्किएका आलेले खोलासँगको सम्बन्धलाई अहिलेसम्म तोडेका छैनन् ।

खोलालाई नै आफ्नो पेसा बनाएर अझ त्यो सम्बन्धलाई दिगो बनाएका छन् । नेपालका खोलाहरुमा मात्र नभई विदेशमा पनि उनी कायक, र्‍याफ्टिङ गाइडको काम गरिरहेका छन् ।

सन् २०१९ मा आयोजित पहिलो र्‍याफ्टिङ च्याम्पियनसिपमा भाग लिएकामध्ये एक हुन् आले । त्यतिखेर उनको टिम राष्ट्रिय च्याम्पियन बनेको थियो ।

उनले हिमालयन ह्वाइट वाटर च्यालेञ्ज, राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिपलगायत अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा पनि भाग लिएका छन् । र्‍याफ्टिङ क्षेत्रमा उनले बटुलेको अनुभवमा केन्द्रित रहेर गरेको कुराकानीः

खोला किनारमा हुर्किनुभएका यहाँले खोला क्षेत्रलाई नै पेसा बनाएर लाग्नुभएको छ, कति भयो यसरी लाग्नुभएको ?
त्रिशूली खोलाको किनारमा घर भएकोले खोला किनारमै हुर्किएँ । हिँड्न, पौडिनसक्ने भएदेखि नै खोलासँग मेरो सम्बन्ध गाँसियो । जतिखेर पनि पानीमा खेल्ने हुनाले यसैमा भिजियो । म सानो छँदै त्रिशूलीमा व्यावसायिक र्‍याफ्टिङ हुन्थ्यो ।

गाइडको काम गरेको देख्दा रमाइलो लाग्थ्यो । चिनेकै दाइहरु गाइड थिए, उहाँहरुको लाइफस्टाइल (जीवनशैली) देखेर म पनि त्यो पेसाप्रति प्रभावित भएँ । उहाँहरुबाट नै यस क्षेत्रमा लाग्न प्रेरित भएँ । जब काम गर्ने उमेर भयो, खोलालाई नै आफ्नो पेसा बनाउन थालेँ । खोलामै काम गर्न थालेको करिब १२ वर्ष बितिसक्यो ।

यहाँले व्यावसायिक रुपमा अँगाल्दै आउनुभएको र्‍याफ्टिङ र कायक पेसालाई कसरी चिनाउनुहुन्छ ?
र्‍याफ्टिङ भनेको टिम वर्क हो । खोलाको छालमाथि तरिँदै समँहमा रमाइन्छ । जसलाई पानी र आउटडोरको ज्ञान छैन, उनीहरुले गर्ने हो । उनीहरुलाई र्‍याफ्टिङ गाइडले ‘अन द स्पट’ पानीमा रम्न, तैरिन, र्‍याफ्टिङ गर्न सिकाउँछन् । थोरै समयमा नै खोलामा रमाउन सकिन्छ ।

कायक भनेको एक जना मात्र रहने हो । यसमा समय लाग्छ । यो स्वयंमा निहीत रहन्छ । यो चाहिँ जुन ठाउँ, खोला रमाइलो हुन्छ, त्यसैमा रम्न सकिन्छ । यसमा स्किल चाहिन्छ । यो विशेष ताल, बग्ने नदीमा गर्ने गरिन्छ । यो जहाँ, जसरी मन लाग्छ, त्यहीँ सिक्ने हो । सिंगल आफैंमात्र जान सकिन्छ, तर यसको स्किल हामीले सिक्नैपर्ने हुन्छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

कायक हाल नेपालमा चार दिन लगाएर सिकाइन्छ । यसमा ¥याफ्टिङमा भन्दा अलि रिस्क (जोखिम) हुन्छ । आधारभूत कुराहरु सिक्दै विभिन्न स्टेजमा बढ्दै जाने हो । ‘सरभाइब’ गर्न सिकाउँछ यसले । कायक पल्टियो भने कसरी बच्ने भन्ने ज्ञान, स्किल सिक्न आवश्यक छ ।

यसमा गाडीमा जस्तो ब्रेक हुँदैन, त्यसैले कुन ठाउँमा कसरी रोक्ने ? कुन ठाउँ सुरक्षित वा खतरायुक्त हो भन्ने कुरा बुझ्नुपर्छ । कायकको प्रशिक्षण बेसिक, इन्टरमिडियट र एडभान्स लेबलका हुन्छन् ।

अहिले कुन संस्थासँग आबद्ध भएर काम गरिरहनुभएको छ ?
यस क्षेत्रमा सुरुआतको दिनदेखि एउटै कम्पनीसँग आबद्ध भएर रहिनँ । आफ्नो गिअर (उपकरण) भएकाले जता बोलाउँछन् उतै गएँ । कहिलेकाहीँ साथीहरुको मागिन्थ्यो र गइन्थ्यो । एनआर (नेपाल र्‍याफ्टिङ) कम्पनीमा करिब छ महिना काम गरेँ ।

त्यहाँ काम गर्दा अनुभव बटुल्न पाएँ । त्यसपश्चात् पोखरामा बसेर धेरै वर्ष काम गरेँ । भारतको विभिन्न ठाउँमा पनि काम गरेँ । धेरै कम्पनीसँग विभिन्न स्थान र परिवेशमा अनुभव बटुल्न पाएँ । फ्रिलान्सरको रुपमा काम गरेँ । नेपालका लगभग ५० प्रतिशत कम्पनीहरुसँग आबद्ध भएर काम गरेको अनुभव छ ।

सर्भाइब गर्न सिकाउँदै

राष्ट्रिय र अन्तर्राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिपमा पनि भाग लिनुभयो, कस्तो रह्यो अनुभव ?
नेपालमा र्‍याफ्टिङ रेस’ हुने गथ्र्यो तर, आधिकारिकरुपमा राष्ट्रिय च्याम्पियनसिप भएको थिएन । सन् २०१७ मा जापानमा जब अन्तर्राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिप हुने जानकारीमा आयो तब हाम्रो युवा जमात मिलेर भाग लिने जमर्को गर्‍यौँ । हामीले छ जनाको टिम बनायौँ ।अन्तर्राष्ट्रियर्‍याफ्टिङच्याम्पियनसिपका लागि राष्ट्रिय च्याम्पियन हुनु आवश्यक थियो ।

साथीहरुसँग खोलामा दुई महिना अभ्यास गर्‍यौँ । फेब्रुवरीमा राष्ट्रिय च्याम्पियनसिप भयो । त्यसमा हामी राष्ट्रिय च्याम्पियन भयौँ । निकै उत्साहित भयौँ, नेपालको पहिलो र्‍याफ्टिङ च्याम्पियन हुन पाउँदा । हामीले कडा मिहेनत गरेका थियौँ । त्यसपश्चात् हामी सबै पुनः आफ्नै काममा व्यस्त भयौँ । कामका लागि कोही नेपालमै बसे भने कोही भारत गए । कोही जापान, आइसल्याड गए । म चाहिँ स्वीट्जरल्याण्ड गएँ ।

२०१७ को सेप्टेम्बर पहिलो साता हाम्रो टिम पुनः जम्मा भयो । र, अभ्यास सुरु गर्‍यौँ । सेप्टेम्बर अन्तिममा जापानमा अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा भाग लिन गयौँ । जापान हाम्रो लागि एकदम नौलो ठाउँ बन्यो । खेलमा भाग लिन जाँदा हामीलाई विशेषतः खानाको समस्या भयो, जसले हामी अलि अस्वस्थ भयौँ । तर, एक/दुई दिनमा हामीलाई सहज भयो । त्यहाँको खोला राम्रो थियो । अन्तर्राष्ट्रिय च्याम्पियनसिप भएकाले कडा नियमहरु थिए ।

नयाँ–नयाँ नियमहरु पालना गर्न हामीलाई सुरुमा गाह्रो भएको थियो ।अन्तर्राष्ट्रियस्तरको गेममा हुनुपर्ने अभ्यास नभएकाले हामीमा कन्फिडेन्सको कमी महसुस भएको थियो । नेपालको पहिलो अन्तर्राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियन भएकोले पनि होला हामी अलि हच्कियौँ । तर, हामीले एउटा गेममा चाहिँ राम्रो खेल्यौँ । सक्दो राम्रो प्रदर्शन गरे पनि हामीले खेलमा जित हात पार्न सकेनौँ । यद्यपि, हामीले त्यहाँबाट धेरै कुरा सिक्न पायौँ ।

कतिलाई जापान कस्तो छ भन्ने थाहा थिएन र हामीले त्यो कुराको पनि अनुभव बटुल्न पायौँ । समग्रमा हामीलाई के लाग्यो भने खेलाडी हुनु र एउटा गाइड हुनुमा फरक पर्दो रहेछ । आर्थिक पाटोबाट हेर्ने हो भने केही संस्थाको साथमा अग्रजहरुको सहयोग र आफ्नै खर्चमा जापानमा पुगेका थियौँ ।

अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा भाग लिएपछिका उपलब्धिहरु के–के रहे ?
छोटो समयमा हामी अभ्यास गरेर त्यहाँसम्म पुग्नु राम्रो हो । एउटा र्‍याफ्टिङ गाइड र एथलेट भएर सहभागी हुनुचाहिँ अलि फरक रहेछ । योजना र रणनीतिलाई अगाडि राख्नुपर्ने रहेछ भन्ने कुरा त्यहाँ सिक्यौँ । प्रतिबद्धताका साथ खेलाडीहरु अगाडि बढ्ने हो भने नेपाललाई वल्र्ड च्याम्पियन बन्न खासै गाह्रो नहुने देखियो । यससँग सम्बन्धित संस्थाहरुले अलि चासो देखाए भने सम्भावना धेरै देखिन्छ ।

हाल नेपालमा र्‍याफ्टिङ खेलाडीहरु प्रशस्त भेटिन्छन् । हरेक वर्ष प्रतियोगिताहरु हुने गर्छ । प्रतिस्पर्धीहरु बढेका छन्, यो राम्रो पक्ष हो । नेपालमा ह्वाइट वाटर च्यालेञ्ज भनेर प्रतियोगिता हुने गर्दछ, जहाँ १२ वटा टिम सहभागी हुने गर्छन् । जबकि, पहिले जम्मा तीन–चार वटामात्र हुने गर्दथ्यो । परिर्वतन त यो क्षेत्रमा धेरै नै भएको छ । युवाहरुको आकर्षण यस क्षेत्रमा बढेको पाइन्छ ।

नेपालमा के र्‍याफ्टिङलाई अझ प्रवद्र्धन गर्न सकिने सम्भावना कतिको देख्नुहुन्छ ?
नेपालमा प्रशस्त मात्रामा खोलाडीहरु जन्मिएका छन् । त्यसैले यो क्षेत्रलाई अगाडि बढाउन सकिन्छ । सरकार र यससँग सम्बन्धित संस्थाहरुले चासो दिएर खेलाडीहरुलाई प्रोत्साहन गर्ने हो भने नेपालमा र्‍याफ्टिङ क्षेत्रलाई अब्बल बनाउन सकिन्छ ।

खोलाको हिसाबमा हेर्ने हो भने पनि नेपाल यस्तो देश हो जहाँ कहिल्यै नसुक्ने खोलाहरु छन् । प्राकृतिक खोलामा रमाउन र एक्सपिडिसन गर्न नेपाल एकदमै राम्रो देशमा पर्ने गर्दछ । नेपालको जस्तो अरू देशमा खोलाहरु छैनन् । त्यसैले सरकार र सम्बन्धित निकायले विभिन्न योजना र अभियानसहित यो क्षेत्रको प्रवद्र्धन गर्न जरुरी छ ।

यो क्षेत्रको विकास प्रवद्र्धनका लागि कसले के–के काम गर्नुपर्छ ?
नेपालमा र्‍याफ्टिङ काम गर्न अप्ठ्यारो होइन तर, सुधार गर्नुपर्ने धेरै ठाउँ छन् । नेपालको मौसम स्थिर नभएकोले हामी मौसममा अपडेट हुनुपर्दछ । खोला संवेदनशील भएकाले मौसमको पँर्वानुमान र यसको बहावलाई बुझ्नु जरुरी छ ।नेपालमा कम्पनीहरु धेरै छन् । एकअर्कामा प्रतिस्पर्धा बढ्दो छ ।

कति कम्पनीहरुले आवश्यक ज्याकेट कमसल खालका उपलब्ध गराइरहेका हुन्छन् । खोलामा जाँदा चाहिने गुणात्मक उपकरणहरु पर्याप्त छैन । यस्ता कुरामा ध्यान दिन जरुरी छ । काम गर्ने प्रक्रिया हेर्ने हो भने विभिन्न देशको आ–आफ्नै प्रक्रिया हुन्छ । त्यस्तो खालको एउटा सिस्टम बनाउन नेपालमा आवश्यक देखिन्छ । अर्को भनेको सर्टिफाइड कम्पनीहरुलाई अगाडि बढाउनुपर्छ ।

यस्तै, गुणात्मक गाइडहरु पर्याप्त छैनन्, जुन यो क्षेत्रलाई अगाडि बढाउन अति आवश्यक छ । लाइसेन्स प्राप्त गाइडहरुलाई प्रोत्साहन गर्नुपर्दछ । लाइसेन्स नभएकालाई पनि लिन प्रेरित गर्नुपर्दछ । यसको मूल्य मान्यताको बारेमा जान्न आवश्यक छ ।
नेपालमा यससम्बन्धी थुप्रै संघसंस्थाहरु छन् । तर, अस्वस्थ प्रतिस्पर्धा भइरहेको छ । सेवाभन्दा पनि पैसा असुल्ने काम बढी गरिएको छ । गुणात्मक सेवाको कमी छ । ठँलो समस्या भनेको क्वालिटी कन्ट्रोल कसले गर्ने भन्ने कुरा खड्किरहेको छ ।

नारा (नेसनल एसोसिएसन अफ र्‍याफ्टिङ) नेपाल र गाइडका संस्थाहरु पनि छन् । यिनीहरुले आफ्नो पाटोमा काम गरिरहेका छन् तर अझै पर्याप्त भएको छैन । बढ्दो सहरीकरणका कारण खोलाहरु मासिँदै गएका छन् । कतै धेरै जनघनत्व भएकाले खोला अतिक्रमण भइरहेका छन् त कतै सरकार र आमजनताको चासोको कमीले गिटी बालुवा उत्खनन् गर्ने कार्यले खोलाको रुप नै बिगारिसकेका छन् । जताततै ड्याम बनाउने प्रवृत्तिले पनि खोलाको स्वरुप बदलिएको छ ।

जब म सन् २०११ यस क्षेत्रमा करिअर बनाउन सकिन्छ भनेर हेरियो र अहिले हेर्दा विकासले अतिक्रमण भएको हो कि ? कुन खोलामा व्यावसायिक ¥याफ्ट गर्न मिल्छ भन्ने वर्गीकरण नभएकाले पनि समस्या भएको छ । सम्भावना भएका खोलालाई एउटा नीति नियम बनाएर संरक्षण गर्न सक्नुपर्छ । नेपालका खोलाहरु एकदमै राम्रा छन् । नेपालमा बसेर यो क्षेत्रमा काम गर्न मज्जा आउँछ । किनभने, नेपालको यो प्राकृतिक खोलामा रम्नुमा छुट्टै मज्जा छ । एक्सपिडिसन गर्न हाम्रो नेपाल एकदमै राम्रो देशमा पर्ने गर्दछ ।

तपाईं विदेश यात्रामा पनि गइरहनुहुन्छ, यहाँचाहिँ कुन–कुन समयमा काम गर्नुहुन्छ ?
जुन महिनामा नेपालको मनसुन सुरु हुने भएर म स्वीट्जरल्याण्डमा काम गर्न जान्छु । त्यहाँ लगभग तीन महिना बस्छु । सेप्टेम्बरको अन्त्यमा नेपाल आउँछु । त्यहाँ यो महिनाको अन्त्यबाट पानी हुँदैन तर नेपालमा १२ महिना नै पानी हुने गर्दछ ।

स्वीट्जरल्याण्ड

नेपालको खोला ठूलो भए पनि केही खोलामा मात्र र्‍याफ्ट गर्ने गरिन्छ । खोलाको बहाव ठूलो हुने भएकाले यो समयमा र्‍याफ्टिङ बन्द नै हुने गर्छ । त्यसपछि तीन महिनासम्म विदेशीहरु आउँछन् । लगत्तै जाँडो महिना सुरु हुन्छ । त्यो समयमा कमै काम हुने गर्दछ । किनभने, हामीसँग राम्रो गिअर नभएकाले यो समयमा र्‍याफ्टिङ गर्दैनौँ । बाँकी समयमा हामी व्यस्त नै हुन्छौँ ।

यो क्षेत्र आम्दानीको हिसाबमा चाहिँ कस्तो हुन्छ ?
यति नै भन्नेचाहिँ हुँदैन । म फ्रिलान्सर भएर काम गर्छु । सरदर दैनिक २५ सयदेखि सुरु हुन्छ । ट्रिप कस्तो किसिमको हुन्छ वा कामको प्रेसर र प्रक्रिया हेरेर थप पनि हुन्छ । नेपालमा लगभग म १५० दिनसम्म काम गर्ने गर्छु ।

विदेश (स्वीट्जरल्याण्ड)मा पनि काम गर्छु । त्यहाँ आधारभूत तलब तोकिएको हुन्छ । हालसम्ममा यति कमाए भन्ने छैन । जति काम गरिन्छ त्यहीअनुसार कमाइ हुने गर्दछ ।

यो क्षेत्रमा लागेर सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट कुन हिसाबले भन्ने हुन्छ । नेपालको एउटा इतिहास लेख्न सहयोग गर्न सक्यौँ । विभिन्न चुनौतीहरु देख्यौँ, भेट्यौँ । तर, रमाइलो र भागीदार बन्न पाउँदा भोलिका दिनमा हाम्रो पछिल्लो पुस्ताले नेपालीले यो गरेका रहेछन् भन्ने पढ्न पाऊन् ।

व्यक्तिगत हिसाबले म सन्तुष्ट छु । पारिवारिक दृष्टिकोणले हेर्ने हो भने उहाँहरु सन्तुष्ट हुनुहुन्न । किनभने, यो क्षेत्र भनेको निकै जोखिमपूर्ण छ । तर, म नेपालको खोलानाला जोगाउन पनि यो क्षेत्रलाई अगाडि बढाउनुपर्छ भन्ने चाहन्छु ।

दिपा सुनुवार  (तस्विरहरु  हरि आलेकाे facebook बाट साभार)

तपाईको प्रतिक्रिया