‘लिम्चुङबुङका जनतालाई शिक्षित र धनी बनाउने योजना छ’ -मेजर

प्रकाशित मिति :  207 पटक हेरिएको

लिम्चुङबुङ गाउँपालिका अध्यक्ष
मेजरकुमार राई अध्यक्ष, लिम्चुङबुङ गाउँपालिका, उदयपुर

मुलुकमा संघीयता स्थापना भएपछि २०७४ सालमा पहिलोपटक स्थानीय तहको निर्वाचन घोषणा हुँदा मेजरकुमार राई दक्षिण कोरियामा कार्यरत थिए । वैदेशिक रोजगारीका क्रममा कोरिया पुगेका उनको भिसा थपिएको छ महिनामात्र भएको थियो ।

स्थानीय चुनाव घोषणा भएपछि उनी रोजगारी छाडेर नेपाल फर्किए । चुनाव हुनु एक महिनाअघि मात्र नेपाल आएर उनले आफ्नो गाउँपालिका लिम्चुङबुङमा अध्यक्ष पदका लागि उम्मेदवारी दिए । चुनावको परिणामा आउँदा उनी विजयी भए, त्यसले कोरियाबाट फर्कनुको उद्देश्य सार्थक तुल्यायो ।

पाँच वर्षको कार्यकालमा उनले गरेको कामले जनताको मन जित्यो । र, गत वैशाख ३० मा सम्पन्न स्थानीय चुनावमा पनि उनलाई जनताले जिताइदिए । लगातार दोस्रो कार्यकाल गाउँपालिकाको नेतृत्व सम्हाल्न लागेका उनको योजनाहरु के–के छन् ?

गाउँपालिकाको विकास गर्न नयाँ योजना के छ ? यीलगायत समसामयिक विषयमा केन्द्रित रहेर प्रभाव दैनिकका लागि लिम्चुङबुङका अध्यक्ष राईसँग प्रभावकर्मी दीपा सुनुवारले गरेको कुराकानीः

 

सुरुमा गाउँपालिकाको नामबाटै कुरा गरौं, ‘लिम्चुङबुङ’ नामकरण कसरी भयो ? यसको अर्थ र गाउँपालिकाको विशेषताबारे केही बताइदिनुस् न ?
राई जातिको चाम्लिङ भाषाबाट आएको शब्द हो– लिम्चुङबुङ । यसमा ‘लिम्’ को अर्थ ‘मुना’, ‘चुङ’को ‘डाँडा’ र ‘बुङ’को अर्थ ‘सुगन्धित’ हुन्छ । समग्रमा ‘लिम्चुङबुङ’ को अर्थ ‘डाँडामा फुलेको सुगन्धित फूल’ हुन आउँछ । चाम्लिङ भाषाको यही शब्दबाट गाउँपालिकाको नामकरण गरिएको हो ।

हाम्रो गाउँपालिका हिमाल पहाडको काखमा, तराई र पहाडको बीचमा अवस्थित छ । समुद्रदेखि सगरमाथासम्मको एकदमै रणनीतिक ठाउँमा रहेको छ । पूर्वको पशुपति भनेर चिनिने हलेसी जो हिन्दू, बुद्धिष्ट र किराँतको तपोभूमिको रुपमा परिचित छ, त्यो पवित्र त्रिधामको नजिकै रहेको छ । सगरमाथा नजिकै देख्न सकिन्छ, जसले पर्यटकलाई लोभ्याउने गर्दछ ।

इलाममा जानुभयो भने सूर्योदय मात्र देखिन्छ तर, यहाँबाट सूर्योदय र सूर्यास्त एकै थलोबाट देख्न सकिन्छ । विभिन्न जातजातिको बसोबास छ, ती जातिको आ–आफ्नै संस्कृति छ । यहाँका प्रमुख विशेषता ‘नेचर (प्रकृति), कल्चर (संस्कृति) र एग्रिकल्चर (कृषि)’ हुन् । यही नै यहाँको सम्पत्ति हो । भनिन्छ, स्वर्ग दुई ठाउँमा हुन्छ– एउटा माथि र एउटा धर्तीमा, धर्तीको स्वर्ग भनेको लिम्चुङबुङ हो ।

दोस्रो कार्यकालका लागि पालिका अध्यक्ष निर्वाचित हुनुभएको छ, के कारणले जनताले फेरि तपाईंलाई नै चुने ?
पाँच वर्ष दिनरात, घडीको सुई र क्यालेण्डर नहेरी जनताको काम गरें, कोरियन स्टाइलमा । कोरियनहरु पनि एकदम काम गर्ने मान्छेहरु हुन्, जसले काम गरेर नै देश बनाए । त्यसले गर्दा लिम्चुङबुङ गाउँ बनाउँछु भन्ने दृढ संकल्प छ, त्यो संकल्प पूरा गरेरै छोड्छौं ।

गाउँलाई माया गर्ने, जनतालाई माया गर्ने र गाउँको विकासका लागि पाँच वर्ष लडें, रगत पसिना बगाएर । त्यही देखेर जनताले मलाई फेरि जिताएका हुन् । लिम्चुङबुङका जनता बहादुर छन्, उनीहरु सचेत पनि छन् । हिजो हामीले यो ठाउँलाई किन बनाउन सकेनौं भन्ने बुझिसक्यौं । तर, अब बनाउन सक्छौं भन्ने कुरा यहाँका जनताले बुझिसकेका छन् । जसरी धरानका जनताहरु शिक्षित छन्, यहाँ पनि सचेत जनताहरु छन् र ती जनताहरुले गरेको फैसलाले गर्दा फेरि मैले यो जिम्मेवारी पाएको हुँ ।

कोरियाको रोजगारी छोडेर गाउँपालिका अध्यक्ष लड्न आउन के कुराले प्रेरित गर्‍यो ?
चुनावको मिति घोषणा हुने बेला म कोरियामैै थिएँ । पाँच वर्षको कोरिया बसाइँ सकेर पुनः चार वर्षको थप भिसा लगाएर गएको थिएँ । म गएको छ महिनामात्र भएको थियो । लगत्तै नेपालमा स्थानीय चुनाव हुने भयो, चुनाव हुन एक महिना मात्र बाँकी हुँदा नेपाल फर्किर गाउँपालिका अध्यक्षमा लडें र जितें । यहाँका जनताले मलाई एक महिनामै जिरोदेखि हिरो बनाइदियो । अबको २० वर्षमा लिम्चुङबुङलाई शिक्षित र समृद्ध बनाउँछु भन्ने मेरो लक्ष्य छ ।

दोस्रो कार्यकालमा के–कस्ता योजना अगाडि सार्नुभएको छ ?
मैले अघि नै भनें, लिम्चुङबुङ गाउँपालिकालाई २० वर्षमा जिरोबाट हिरो बनाउने योजना होे । २० वर्षमा हरेक जनतालाई शिक्षित र धनी बनाउने योजना छ । मेरो जुन सोच छ, त्यो सोचअनुसार अहिलेको हाम्रो टिम मेम्बरहरु उपाध्यक्ष, वडाध्यक्ष, सदस्यहरुमा एकदमै चलायमान युवाहरु आउनुभएको छ ।

यो पाँच वर्षमा हामीले कोरियनमा भनिन्छ ‘याक्कान छुक्कान’ अर्थात् दिनरात काम गरेजस्तै हामी पनि युवाहरु छौं । जुन इच्छाशक्तिले भरिपूर्ण, श्रम दिन सक्ने, एकदमै दिमाग चलाउनसक्ने, बोल्नसक्ने, जनतालाई मोटिभेट गर्न सक्ने, उनीहरुको सहयोगले गाउँपालिका बदल्ने इच्छा छ । हिजो पाँच वर्षमा शिक्षामा कहाँ–कहाँ समस्याहरु छन्, स्वाथ्यमा समस्याहरु के–के रहेछ भन्ने बुझ्यौं ।

हामीले हाम्रो गाउँमा नेचर (प्रकृति), कल्चर (संस्कृति) र एग्रिकल्चर (कृषि)मा जोड दिनुपर्ने रहेछ, हामीलाई बनाउनेचाहिँ यही रहेछ भन्ने थाहा पायौं । र, हामी अब मिलेर गाउँलाई बनाउनुपर्ने रहेछ भनेर अहिले गाउँघरमा ‘हामी मिलेर हाम्रो गाउँको विकास गर्छाैं’ भन्ने नारा दिएर ५५ टोल विकास संस्थाको स्थापना गरेका छौं ।

हरेक टोल संस्थामा प्रत्येक महिनाको अन्तिम हप्ताको शनिबार बिहान ठीक ७ बजे नै विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनमा, हाम्रो गाउँको सडक कस्तो बनाउने, हाम्रो गाउँमा बिहे गरेर आउने बुहारीले कस्तो व्यवहार पाउने, हाम्रो गाउँको चेली बिहे गर्ने ज्वाइँचेलाले कस्तो व्यवहार पाउने, हाम्रो गाउँ समग्रमा कस्तो बनाउने भन्ने छलफल चल्छ । र, त्यो छलफलको निष्कर्षचाहिँ हरेक महिनाको पहिलो हप्ताको शनिबार बिहान ७ बजे नै सडकको नाली सुधार गर्ने, गाउँको फोहोर टिप्ने, आ–आफ्नो ट्वाइलेट सफा गर्ने, भान्सा सफा गर्ने, समस्यामा परेकाको उद्धार गर्ने, गर्भवतीहरुलाई केयरिङ गर्ने, उनी एउटा घरको मात्र बुहारी होइन तर गाउँको परिवार हुन् न कि एक परिवार मात्र भन्ने भावनाको विकास गर्नेलगायत काममा देखिन थालेको छ ।

तपाईंको भनाइअनुसार लिम्चुङबुङवासी अब जागिसके, हैन त ?
हो, लिम्चुङबुङवासी आफैैैं सचेत हुनुहुन्छ । म त एउटा माध्यममात्रै हो, उहाँहरुले बुझ्नुभएको छ कि दुःखमात्रै जिन्दगी होइन, सुख पनि हो । हामीजस्तै मान्छे आकाशमा उड्छन् । हामीजस्तै मानिसहरुले दुनियाँमा चमत्कार गरिसके । हामीचाहिँ सधैं विकासबाट वञ्चित भइराख्ने ? हामी जहिले गरिब भइराख्ने ? यो होइन । लिम्चुङबुङका मानिसहरु संसारभरि पुग्नुभएको छ, त्यहाँको कल्चर, विकास र मानव सभ्यतालाई नजिकबाट नियालिराख्नुभएको छ ।

उहाँहरुले आफ्नो घर, गाउँ, त्यहाँबाट बदलिराख्नुभएको छ । हामीलाई पनि सुझाव–सल्लाह दिएर गाउँको सरकारलाई चलायमान बनाउन मद्दत गर्नुभएको छ । गाउँमा बस्ने, सहरमा बस्ने र प्रवासमा बस्ने, हामी सबै मिलेर गाउँलाई बनाएरै छोड्छौं, हामीले त्यो कसम खाएका छौं । सहकार्य राम्रो भइरहेको छ ।

तपाईंको पालिकामा स्वास्थ्य, शिक्षाको स्थिति कस्तो छ ?
सामुदायिक विद्यालयहरु देशैभरको स्थिति डामाडोल नै छ, हाम्रो पालिकामा पनि समस्या छ । विगतमा हामीलाई कहाँ–कहाँ समस्या छ भन्ने बुझ्न समय लाग्यो । अब हामी बदल्छौं, हामीसँग कुनै पनि किसिमको बहाना र विकल्पहरु समाप्त भएको छ । शिक्षामा सुधार होइन तर जिम्मेवारी लिनुपर्दछ । हामीले जो जनप्रतिनिधि, सरोकारवाला छौं, शिक्षकहरु, गुरुवर्ग सबैले जिम्मेवारी लिनुपर्दछ । यसलाई बदल्ने हिसाबले हामी जो शारीरिक, सामाजिक, मानसिक र भावनात्मक रुपमा तयार भयौं भने यो बदल्न समय लाग्दैन भन्ने लाग्छ ।

शिक्षामा समस्या प्रशस्तै छन्, अहिले पनि । सबैले जिम्मा लिन प¥यो नि π यस क्षेत्रलाई बदल्न जनप्रतिनिधि, शिक्षक अभिभावक र सरकार सबैले जिम्मा लिनुपर्दछ । शिक्षाको पूर्वधार छैन भन्ने पनि छ तर अब भवनहरु तयार हुँदै छ । शिक्षक अभाव भएका ठाउँमा स्वयंसेवक शिक्षक गाउँपालिकाले व्यवस्थापन गरेको छ । विभिन्न तालिमहरु हामीले बजेट छुट्याएर सञ्चालन गरेका छौं । हिजोको दिनमा समस्याहरु थिए अब विस्तारै टर्न थालेको छ । हालको समयमा हेर्ने हो भने सरकारले विद्यालय निरीक्षक छुट्याएर दिन सकेको छैन । पाँच वर्षमा विनि नदिईकनै हामीले काम चलायौं, विनि दिनुपर्‍ यो नि !

यहाँनिर समस्या कहाँबाट आयो भने संविधानले शिक्षा प्रणालीमा माध्यमिक तहको एकल अधिकार स्थानीय सरकारलाई दिए पनि संघीय सरकारको चासो यहाँ नदेखिने गरी रहेको छ । संविधानमा नभएको सामान्य जिल्ला शिक्षा एकाइ खडा गरिदिने, संविधानमा नभएको क्याबिनेटबाट निर्णय गरिदिने, संघीय शिक्षा ऐन नल्याइदिने, गुमराहमा राखिदिने, संघीय सरकारले एकात्मक राज्यव्यवस्थाको पक्षपोषण गर्ने, स्थानीय तहलाई विश्वास नगर्नेजस्ता विविध कुराले शिक्षामा समस्याहरु छन् ।

स्थानीय सरकारको सहयोगमा कोरोना महामारीको सुरुआती समयमा समाधान गर्न सफल भएको थियो । उदयपुरको यही गाउँपालिकाले प्रथम आइसोलेसन पनि बनाउन सफल भयो । त्यो बेलामा स्थानीय सरकारले जिम्मा नलिएको भए आज मुलुकको अवस्था के हुन्थ्यो, कसलाई के थाहा ? सायद श्रीलंकाको जस्तै अवस्था आउन सक्थ्यो । । कोरोनाको समयमा आर्थिक, सामाजिक, राजनीतिक दबाब नपरेको भएदेखि हाम्रो समाज र यो सरकार असफल हुन्थ्यो होला ।
हाल यस गाउँपालिकामा पाँच बेडको एउटा अस्पताल छ भने हरेक वडा–वडामा स्वास्थ्य चौकी छन् । स्थानीय तहले गाउँमा समस्या परेकाहरुले उपचार खर्च पाएका छन् । अन्य परोपकारी कामहरु पनि गरेका छौं । साथै, पशु सेवामा पनि पालिकाले सुधार गर्दै लगेको छ ।

पालिकाभित्र वैदेशिक रोजगारीमा जाने क्रम र गाउँमै रोजगारीको अवस्था कस्तो छ ?
म आफैं पनि वैदेशिक रोजगारीमा पुगेर भोगेर आएको हुँ । वैदेशिक रोजगार र बेरोजगार नेपालको व्यावहारिक कथा हो । म स्वयं पनि यसको पात्र हुँ । स्थानीय सरकारले विकासका लागि खोजी गरेको छ, जसको फलस्वरुप आज हाम्रो गाउँपालिकामा पाँचवटै वडामा युवाहरु अध्यक्ष भएका छन् । स्थानीय सरकारको पहलमा विस्तारै विकासका लागि युवाहरु स्वदेशमै रोजगार भएका छन् । हामी उनीहरुलाई थप उत्साह पनि दिँदै छौं ।

वैदेशिक रोजगार छोडेर किन राजनीतिमा होमिनुभयो ?
मान्छेले धेरै काम गर्छन्, जस्तोः शिक्षक, वकिल, डाक्टर, इञ्जिनियर आदि । जहाँ जे काम गरे पनि त्यहाँ फिट हुनुपर्छ । मलाई लाग्यो म राजनीति गर्नका लागि फिट छु त किन विदेश बस्ने ? त्यही सोचले म कोरिया गएको छ महिनामा नै चुनाव हुन एक महिना बाँकी हुँदा नेपाल आएर गाउँपालिकामा उठें, र जितें पनि । जसलाई जुन क्षेत्रमा फिट हुन्छु जस्तो लाग्छ नि त्यही काम गर्नुपर्दछ । त्यसमा सफल पनि भइन्छ । आज काठमाडौंका मेयर बालेन शाह इञ्जिनियरिङ पेसा छोडेर किन उठे त मेयरमा ? उनलाई लाग्यो कि इञ्जिनियर भएर भन्दा मेयर भएर धेरै गर्न सक्छु । त्यसैले अरू पेसामा बसेर राजनीति हुँदैन, राजनीतिमै बसेर राजनीति गर्ने हो । तसर्थ, वैदेशिक रोजगारबाट धेरै कमाउनुभन्दा आफ्नो गाउँ बनाउँछु भनेर म राजनीतिमा लागेको हुँ । मेरो गाउँ बनाउँछुु भन्ने अठोट छ ।

तपाईंले यहाँसम्म आइपुग्ने सफलताका सिँढीहरुलाई कसरी सम्झनुहुन्छ ?
गाउँपालिकाका जनताको विश्वासले दोस्रो कार्यकाल जितेको छु । हाम्रो टिमको कामले पनि हामी सफल भएका हौं । भन्नुपर्दा मेरा साथीहरुको जुन सर्कल छ, त्यही नै हो मेरा सफलताका सिँढीहरु हुन् । मेरो भेटघाट मभन्दा माथि भएर काम गर्नेहरु छन् । उनीहरुको सल्लाह र सुझावले म अगाडि बढेको महसुस गर्छु । कृषिको राम्रो टिमको कारणले सलह नियन्त्रण गरियो, जसले हाम्रो जनताको विश्वास जित्यो ।

आफ्नो गाउँपालिकालाई चिनाउनुपर्दा कसरी चिनाउन चाहनुहुन्छ ?
संसारमा आठ हजारभन्दा माथिका छ वटा हिमाल हेर्नलाई उपयुक्त ठाउँ लिम्चुङबुङ हो । एउटै ठाउँबाट सूर्योदय र सूर्यास्त देखिने ठाउँ हो । किराँत, हिन्दू र बुद्धिष्टको एउटै धार्मिक स्थल हो हलेसी, जुन लिम्चुङबुङको आँगनमा रहेको छ । यो गाउँ तराई नजिक रहेकाले गर्मी छेल्ने स्थान पनि हो । विकासको मोडेल हेर्न एक अनुकरणीय स्थल पनि हो भन्न चाहन्छु । नेपालको १०० गन्तव्यस्थलमध्ये यो गाउँ पनि परेको छ । यसका साथै अब विश्वको सर्वोच्च शिखर सगरमाथा हेर्न टावर पनि छिट्टै बन्दै छ, त्यसपछि अझ नजिकबाट नियाल्न मिल्नेछ ।

 

तपाईको प्रतिक्रिया