सामाजिक संस्थाको लगानी र भूमिका व्यवस्थित र पारदर्शी बनाउनुपर्ने :प्रधानमन्त्री

प्रकाशित मिति :  29 पटक हेरिएको

काठमाडौं-  प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक संस्थाको लगानी र भूमिका व्यवस्थित र पारदर्शी बनाउनुपर्नेमा जोड दिएका छन् । समाज कल्याण परिषद्ले ४३औं सामाजिक सुरक्षा दिवसको अवसरमा बिहीबार आयोजना गरेको मूल समारोहलाई सम्बोधन गर्दै उनले सामाजिक संस्थालाई प्राथमिकताका क्षेत्रमा सक्रियतापूर्वक परिचालन गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले सामाजिक संघसंस्थाहरू नतिजामुखी हिसाबले सञ्चालन गर्नु आवश्यक रहेको बताए । यसका लागि समाज कल्याण परिषद्लाई आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए । प्रधानमन्त्री देउवाले दिगो विकास र आवधिक लक्ष्य प्राप्तिका लागि सरकार–गैरसरकारी संघसंस्थाले समन्वयात्मक ढंगमा काम गर्नुपर्ने आवश्यकता औंल्याए ।

‘सामाजिक संघसंस्थालाई देश र समाजप्रति उत्तरदायी बनाएर नतिजामुखी हिसाबले सञ्चालन गर्नु आवश्यक छ,’ उनले भने, ‘समाज सेवा पवित्र र पूण्य कार्य हो । समाजका दिनदुःखी अशक्त र सामाजिक आर्थिक दृष्टिकोणले पछि परेका वर्ग, समुदायको उत्थान र विकासका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको महŒवपूर्ण भूमिका रहेको छ, यसलाई आगामी दिनमा थप प्रभावकारी बनाउन जरुरी छ ।’

समाज कल्याणको माध्यमबाट मुलुकका उत्पीडित पिछडिएका समुदायको उत्थान र विकासमा टेवा पुग्ने प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गरे । उनले सामाजिक सेवामार्फत पछि परेका उत्पीडित असहाय वर्ग र समुदायलाई विकासको मूल प्रवाहमा ल्याउन सकिने बताए । यसले समाजमा ठूलो रुपान्तरण ल्याउन सकिने उनको भनाइ छ ।

प्रधानमन्त्री देउवाले सामाजिक भावकासाथ सेवा प्रवाह गर्न र यसप्रति नया“ पुस्तालाई आकर्षित गर्न सबैले निःस्वार्थभावले एकताबद्ध भई समाजको बृहत्तर हित, कल्याण एवं उत्थानका लागि लाग्नुपर्नेमा जोड दिए । उनले गैरसरकारी संघसंस्थालाई उत्तरदायी, पारदर्शी र परिणाममुखी बनाउँदै राष्ट्रिय आवश्यकता र प्राथमिकताका क्षेत्रमा संलग्न गराउने गरी देशको नीति तथा कार्यक्रम तर्जुमा गर्न पनि आग्रह गरे ।

गैरसरकारी संस्थाहरूले आफ्ना क्रियाकलाप सञ्चालन गर्दा जनसहभागिता, दिगोपना, मितव्ययिता, स्थानीय आधारमुखी श्रम, सीप र प्रविधिको अत्यधिक उपयोगलाई प्रोत्साहन गर्नसके गैरसरकारी संस्थाको आवश्यकता र अपरिहार्यता बढ्ने बताए । जुन उद्देश्यले सामाजिक संस्था स्थापना भएका छन्, आर्थिक पारदर्शिता अपनाएर सहर केन्द्रितभन्दा पनि दुर्गम गाउ“सम्म पुगेर जनताको सेवामा सक्रिय हुनुपर्नेमा उनको जोड थियो ।

सामाजिक सेवा दिवसका उपलक्षमा समाज कल्याण परिषद्ले भृकुटीमण्डप परिसरमा समारोह आयोजना गरेको हो । यो वर्ष ‘दिगो विकास र आवधिक लक्ष्य प्राप्ति राष्ट्रिय अभियान, समावेशी समाज निर्माणमा संघसंस्थाको योगदान’ भन्ने नाराका साथ सामाजिक दिवस मनाइएको छ ।

 

तपाईको प्रतिक्रिया