दुई वर्षे अनुभवी नर्सले मात्रै बेलायत जान पाउने

प्रकाशित मिति :  63 पटक हेरिएको

काठमाडौं-  बेलायत सरकारले दुई वर्षे अनुभव पुगेका दक्ष नेपाली नर्सलाई मात्र रोजगारीमा लैजान सकिने बताएको छ । नेपाल र बेलायत सरकारबीच भएको जिटुजी सम्झौता अनुसार नै बेलायतको स्वास्थ्य क्षेत्रमा दुई वर्षे अनुभव भएकाहरुलाई रोजगारीको अवसर दिन सकिने बताइएको हो ।

बिहीबार राजधानीमा आयोजित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र बेलायती दूतावासका प्रतिनिधि सहभागी कार्यक्रममा नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले अनुभवी तथा दक्ष नर्सहरुका लागि रोजगारीको ढोका खुला रहेको बताइन् । उनले दक्ष स्वास्थ्य जनशक्तिलाई उचित सेवा सुविधासहित रोजगारीको अवसर दिन लागिएको जानकारी दिइन् ।

‘नेपाली नर्सहरुको चाहना बेलायत गएर काम गर्ने रहे पनि हाम्रो सरकारको अपेक्षा भनेको दक्ष स्वास्थ्यकर्मीले स्वास्थ्य क्षेत्रमा काम गरून् भन्ने छ,’ राजदूत पोलिटले भनिन् । उनले बेलायतमा काम गरेर फर्केका नेपाली नर्सले स्वदेशमा फर्केर नेपालको स्वास्थ्य क्षेत्रमा दक्षता प्रयोग गर्नसक्ने कुरामा जोड दिइन् । राजदूत पोलिटले नेपाली नर्सहरुका कारण बेलायतको स्वास्थ्य क्षेत्रलाई निकै लाभ पुग्ने अपेक्षा गरेको जनकारी दिइन् ।

कार्यक्रममा सहभागी मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसालले बेलायतको स्वास्थ्य क्षेत्रमा जाने नेपाली नर्सहरुसँग दुई वर्षको अनुभव हुनुपर्ने बताए । दुई देशबीचको सम्झौता अनुसार नै त्यहाँ जाने नेपाली नर्सहरूले दुई वर्षको अनुभव हासिल गर्नुपर्ने र कुनै प्रकारको शुल्क तिर्नु नपर्ने उनले प्रस्ट पारे ।

पा“च वर्षपछि अनिवार्यरुपमा स्वदेश फर्कनुपर्ने व्यवस्था गरेको पनि उपसचिव भुसालले उल्लेख गरे । उनका अनुसार बेलायत जाने नर्सहरुले ‘नर्सिङ एण्ड मिडवाइफरी काउन्सिल’ (एनएचएस)मा दर्ता भएपछि मात्रै बेलायतको नियमानुसार तलब तथा सेवा सुविधा पाउने छन् । जिटुजी सम्झौतामा उल्लेख भएअनुसार बेलायत जाने नेपाली नर्सले मासिक चार लाख रुपैया“भन्दा बढी पारिश्रमिक पाउने छन् ।

स्वास्थ्यकर्मीको रुपमा स्टाफ नर्स, बिएन, बिएससी नर्सिङ, एमएन गरेका अनुभवी तथा दक्ष नेपालीहरु बेलायत जान पाउने श्रम मन्त्रालयले जनाएको छ । बेलायत रोजगारीका लागि छनोट प्रक्रियामा सहभागी हुन नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका २० देखि ४५ वर्ष उमेर समूहका स्वस्थ्यकर्मीले अवसर पाउने छन् । उनीहरुले अंग्रेजी भाषा परीक्षा (आइइएलटिएस) तथा पेसागत भाषा परीक्षा (ओइटी)मा तोकिएबमोजिम स्कोर प्राप्त गर्नुपर्ने प्रावधान राखिएको छ ।

 

तपाईको प्रतिक्रिया