आज नेपाल र काजखस्तानबीच सेमिफाइनल खेल :भलिबल

प्रकाशित मिति :  24 पटक हेरिएको

काठमाडौं-  काठमाडौंमा जारी काभा वुमन्स भलिबल च्यालेन्ज कपमा आज सेमिफाइनलका खेलहरु हुनेछन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भारत र उज्वेकिस्तान तथा घरेलु टोली नेपाल र काजखस्तानबीच सेमिफाइनल खेल हुनेछ ।

नेपाललले दोस्रो सेमिफाइनल काजखस्तानसँग खेल्दा सबैको ध्यान यस खेलमा हुनेछ । यो खेल साँझ ५ बजे सुरु हुनेछ ।जारी प्रतियोगितामा सहभागीमध्येकै सबैभन्दा बलियो टोलीको रुपमा रहेको काजखस्तान समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल पुगेको हो ।

यस क्रममा काजखस्तानले ९ सेट जित्दा २ सेट मात्र गुमाएको छ । काजखस्तानले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको थियो भने श्रीलंका र उज्वेकिस्तानले कडा टक्कर दिएका थिए । श्रीलंका र उज्वेकिस्तान विरुद्ध काजखस्तान समान ३–१ को सेटमा विजयी भएको थियो ।

यता घरेलु टोली नेपाल समूह ‘ए’ मा दुई जित र एक हारबाट समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको हो । कीर्गिस्तान र बंगलादेशलाई सोझो सेटमा हराएको नेपाल भारतसँग प्रतिस्पर्धात्मक खेलमा ३–१ को सेटमा पराजित भयो । नेपालले प्रतियोगितामा ७ सेट जित्दा ३ सेट गुमाएको छ ।

नेपालले उपाधि जित्ने सम्भावना कायम राख्न काजखस्तानलाई पराजित गर्नुपर्नेछ । काजखस्तानसँगको हारले भने नेपालको उपाधि जित्ने लक्ष्यसहित दोस्रो स्थान पनि गुम्नेछ । नेपाली टिममा कप्तान अरुणा शाही र सरस्वती चौधरी सबैभन्दा अनुभवी खेलाडीको रुपमा छन् ।

प्रशिक्षण दौरान चोट लागेपछि सरस्वतीले कीर्गिस्तान विरुद्ध पहिलो खेल खेलिनन् । बंगलादेश र भारतविरुद्ध खेलेकी उनले भारतविरुद्ध राम्रो प्रदर्शन गरेकी थिइन् । यस्तै स्पाइकरमा उषा भण्डारी र निरुता ठगुन्नाले पनि भारतविरुद्ध राम्रो खेलेका थिए ।

६ खेलाडीलाई पहिलो पटक राष्ट्रिय टिममा समावेश गरेको नेपालले काभा च्यालेन्स कपअघि आन्तरिक तयारी बाहेक कुनै अन्तर्राष्ट्रिय खेल खेलेको थिएन ।

नेपालले उपाधि जित्ने सम्भावना कायम राख्न काजखस्तानलाई पराजित गर्नुपर्नेछ । काजखस्तानसँगको हारले भने नेपालको उपाधि जित्ने लक्ष्यसहित दोस्रो स्थान पनि गुम्नेछ । सेमिफाइनलमा पराजित भए नेपालले तेस्रो स्थानको लागि खेल्नुपर्नेछ ।

 

तपाईको प्रतिक्रिया