कोरोना संक्रमण, विद्यालय नजान अपिल


काठमाडौं– सरकारले कारोना भाइरस (काभिड–१९)को संक्रमणबाट अतिप्रभावित जिल्ला वर्गीकरण गरेको छ । सरकारले कोरोना अतिप्रभावितका जिल्लाका रूपमा पहिचान गरेको १४ जिल्लामा विद्यालय सञ्चालन नगर्न र स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा संख्या मन्त्रालयले काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, रूपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ । ती जिल्लामा मन्त्रालयले हालसम्म सेवा बन्दबारे कुनै निर्णय नभए पनि संक्रमणको जोखिम रहेकाले ती जिल्लाका विद्यालयमा नगइदिन आग्रह गरेको हो ।

मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै रात्रि व्यवसाय, ७ बजेपछि सबै रेस्टुरेन्ट तथा क्लबहरू, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्रा, सभा, सम्मेलन तथा बैठक नगर्न पनि आग्रह गरेको छ । यस्तै, मन्त्रालयले सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थलहरू पनि सञ्चालन नगर्न तथा आम सर्वसाधारणलाई पनि सहभागी नभइदिन अनुरोध गरेको छ ।

विज्ञप्तिमा विशेषतः बालबालिका र युवावर्गमा संक्रमण तथा मृत्यु बढ्दो गतिमा रहेको उल्लेख गर्दै संक्रमण अवस्थाको विश्लेषण गर्दै मन्त्रालयले आवश्यक तयारी तथा समन्वयको प्रयासहरू गरिरहेको उल्लेख गरेको छ । मन्त्रालयले अबका दिनमा संक्रमण र यसको प्रभावका हिसाबले चुनौतिपूर्ण हुने सक्ने भन्दै सबै नागरिक तथा सरोकारवाला निकायलाई सचेत हुँदै संवेदनशील तथा जिम्मेवार बन्न आग्रह गरेको छ ।

मन्त्रालयले कोरोना संक्रमण दर तीव्रगतिमा बढे पनि मन्त्रालयले सम्पूर्ण अस्पतालहरूलाई फिबर क्लिनिक सञ्चालन र कोरोना परीक्षणका लागि नमुना संकलन गर्न निर्देशन दिएको छ । त्यस्तै, होटलमा आई बसोबास गर्ने विदेशी नागरिकहरूको गेस्ट रजिस्ट्रेसन सिस्टम चुस्त बनाउन र पिसिआर नतिजा नेगेटिभ भएको अवस्थामा मात्र बास राख्न, नियमित रूपमा सेवा लिन आइरहेका सेवाग्राहीलाई कोरोना संक्रमण पुष्टि भए मात्र अन्य अस्पतालहरूमा पठाउन अन्यथा अनावश्यक दुःख नदिन निर्देशन दिएको छ ।

मन्त्रालयले सबै सरकारी अस्तालहरूमा कम्तिमा ५० प्रतिशत बेडहरू कोभिड–१९ संक्रमितलाई व्यवस्थापन गर्न छुट्टयाएर तोकिएअनुसार निःशुल्क सेवा प्रवाह गर्न, निजी प्रयोगशाला तथा अस्पतालहरूलाई कोभिड–१९ को परीक्षण तथा उपचार तोकिएको शुल्कमा गर्न र बालबालिका, गर्भवती, सुत्केरी महिला, अपांगता भएका व्यक्ति, जेष्ठ नागरिकहरूको कोभिड १९ परीक्षण तथा उपचार उच्च प्रथामिकताका साथ गर्न निर्देशन दिएको छ ।

सरकारले निजी प्रयोगशाला तथा अस्पताललाई कोभिड १९ को परीक्षण दुई हजार, संक्रमितको उपचार औषधीबाहेक जटिलताका आधारमा दैनिक सामान्यलाई तीन हजार पाँच सय, मध्यमलाई सात हजार र जटिललाई १५ हजारमा रूपैयाँ शुल्क तोकेको छ । उक्त शुल्कमा ५० प्रतिशतभन्दा बढी शुल्क बढाउन नपाउने मन्त्रालयले जनाएको छ ।

थप ५३४ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घन्टामा थप ५३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५८८ जनामा गरिएको पिसिआर परीक्षणमा ४९० जना र ५६४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये काठमाडौं जिल्लामा १४५, ललितपुरमा ४३, कास्कीमा ३८, बाँकेमा ८९, मोरङ र दाङमा १३÷१३, रूपन्देहीमा १६, महोत्तरी र बाग्लुङमा १०÷१० जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमण निको हुनेको संख्या १५७ छ भने कोरोना भाइरस संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ ।

नेपालगन्जका विद्यालय बन्द
कोरोना संक्रमण बढेपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाका प्रमुख धवलशमशेर जबराको अध्यक्षतामा बिहीबार बसेको नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको बैठकले आइतबारदेखि एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा शाखाका प्रमुख गोर्खबहादुर थापाले जानकारी दिए ।

एकाएक संक्रमण उच्च गतिमा बढेपछि उपमहानगरपालिकाभित्रका विद्यालय बन्द गर्ने निर्णय गरिएको उनले बताएका छन् । बाँकेमा बुधबार एकैदिन १२३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । विपद् व्यवस्थापन समितिको बैठकले जिल्लाभरका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकमा प्रस्ताव लैजानेसमेत निर्णय गरेको छ ।

विराटनगरमा संक्रमण बढ्दो
प्रदेश १ को राजधानी विराटनगरमा कोरोना संक्रमण बढ्दै गएको छ । विराटनगर महानगरपालिकामा बुधबार मात्र १५ जना नयाँ संक्रमित भेटिएका थिए । कोरोना महामारीपछि तंग्र्रिदै गरेको विराटनगरमा पुन दोस्रो फेजको संक्रमण फैलिएको प्रमाण हो पछिल्लो संक्रमण । मन्त्रालयका अनुसार प्रदेश १ मा १७९ जना कोरोना संक्रमित छन् । तीमध्ये ११६ जना विराटनगर भित्रका छन् ।

Published On: Time : 7:01:29  

तपाईको प्रतिक्रिया