एमाले बैठकः विस्तारित संरचना यथावत्


काठमाडौं– नेकपा एमालेले गत पुसमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनका बेला बनेको कमिटी र नेताहरूलाई एमालेको कमिटीकै रूपमा यथावत् राख्ने भएको छ । सोमबार बसेको एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले नेकपा विवादका बेला अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले मनोनित गरेको सबै केन्द्रीय सदस्यलाई राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यका रूपमा रूपान्तरण गरेको छ । महासचिव ईश्वर पोखरेलले केन्द्रीय कमिटी बैठकमा पेस गरेको संगठनात्मक प्रस्तावमा ती कमिटीहरूलाई आम रूपमा यथावत् राखिने उल्लेख गरिएको हो ।

नेकपाको विवादका बेला दाहाल–नेपाल पक्षमा लागेका नेता कार्यकर्तालाई एमालेको मूल प्रवाहमा फर्काउन अधिकतम् पहल गर्ने र उनीहरूलाई आवश्यकता र योग्यता अनुरूप उपयुक्त जिम्मेवारी दिने संगठनात्मक प्रस्तावमा उल्लेख छ । प्रस्तावमा भनिएको छ, ‘पार्टीभित्रको अन्तरविरोध कटूतापूर्ण बन्दै जानेक्रममा गठन गरिएका संगठनात्मक संरचना र तिनको नेतृत्वलाई आम रूपमा यथावत् राख्ने । ती कमिटीका अन्तरविरोधको पल्लो किनारामा उभिएका कमरेडहरूलाई पार्टीको मूल प्रवाहमा फर्काउन अधिकतम् पहल गर्ने र त्यसरी फर्किने कमरेडहरूलाई आवश्यकता र योग्यता अनुरूप उपयुक्त जिम्मेवारी दिने ।’

एमाले बैठकमा असारभित्र पार्टी सदस्यता नवीकरणको काम सम्पन्न गर्ने कार्ययोजना महासचिव पोखरेलले पेस गरेका छन् । नेकपाबाट माओवादी नभई एमाले बनेका तत्कालीन माओवादी सदस्यहरू पनि अब एमालेको सदस्य स्वतः हुने भएका छन् । जेठ मसान्तभित्र प्रदेश कमिटी, जिल्ला र स्थानीय तहका सबै कमिटीहरूको पुनर्गठन गरी अधिवेशन आयोजक कमिटीमा रूपान्तरण गर्ने र जनवर्गीय संगठनहरूको पनि पुनर्गठन गर्ने योजना पेस भएको छ । प्रतिनिधिसभा पुनस्र्थापना भए पनि मुलुकले राजनीतिक स्थायित्व प्राप्त गर्ने र वर्तमान समस्याहरूको समाधान हुने सम्भावना एकदमै कम देखिएको निष्कर्ष प्रतिवेदनमा रहेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

प्रतिवेदनमा नेकपाको तीनवर्षे कार्यकालको समीक्षासमेत गरिएको छ । पार्टी एकीकरणको मनसाय सही भए पनि केही गलत प्रवृत्ति र पात्रहरूका कारण एकीकरण असफल भएको ओलीको निष्कर्ष छ । सर्वोच्च अदालतले कानुनी हिसाबले पार्टी एकता टुंग्याएको भए पनि राजनीतिक र संगठनात्मक रूपमा पहिल्यै विभाजित भएको प्रतिवेदनमा उल्लेख छ ।

मनोनित केन्द्रीय कमिटी रापसमा परिणत
प्रतिनिधिसभा विघटन गर्ने निर्णयपछि प्रधानमन्त्री ओलीले केन्द्रीय सदस्यमा मनोनित गरेका नेताहरू राष्ट्रिय परिषद् सदस्य (रापस) बन्ने भएका छन् । बैठकले केन्द्रीय सदस्य मनोनित भएका १०५६ जनालाई राष्ट्रिय परिषद् सदस्यको हैसियत दिने निर्णय गरेको हो ।
नेकपा एमालेमा केन्द्रीय कमिटीभन्दा मुनिको पार्टी संरचनामा राष्ट्रिय परिषद्् रहन्छ । साविकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित हुँदा अध्यक्ष ओलीले १५०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेका थिए ।

नेपालसहित २० जनालाई स्पष्टीकरण
बैठकले माधव नेपालसहितका केन्द्रका चार निलम्बित नेता र प्रकाश ज्वालालगायत कर्णाली प्रदेशमा ङ्खलोर क्रस गर्ने ५ जनालाई अन्तिम चेतावनीसहितको स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
सोमबारको बैठकले ज्वालासहितका सांसद र ‘ङ्खलोर क्रस’ गर्न लगाउने थप २० जनालाई दुई दिनको समयसीमासहित अन्तिम स्पष्टीकरण सोध्ने निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए । अन्तिम चेतावनीपूर्वक स्पष्टीकरण सोधिनेहरूमा भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे साथै प्रकाश ज्वालासहित २० जना छन् ।

उनीहरूले चित्तबुझ्दो स्पष्टीकरण नदिएमा १० गतेको बैठकले कारबाही गर्ने बताइएको छ । कानुनबमोजिम मनासिव माफिकको सफाइ पेस गर्ने मौका दिनका लागि दुई दिनको अन्तिम चेतावनीसहितको स्पष्टीकरण मागिएको एक नेताले बताए । त्यसपछि माधव नेपालसहितका नेताहरूमाथि थप कडा कारबाही हुने अध्यक्ष ओलीले बैठकमा बताएका छन् ।

दशौँ राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक १० गते फेरि बस्नेगरी स्थगित भएको छ । बैठकले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक २५ देखि २७ साउनसम्म राख्ने निर्णयसमेत गरेको छ । सोही बैठकले विधान सम्मेलनको काम गर्ने र एमालेको विधान संशोधन मस्यौदालाई पारित गर्ने बताइएको छ ।

बैठकले केन्द्रीय सदस्यहरूको कार्यविभाजन र विभागीय जिम्मेवारी तोक्नका लागि संगठन विभाग प्रमुख विष्णु पौडेल, शंकर पोखरेल र टोपबहादुर रायमाझी रहेको कार्यदल गठन गरेको केन्द्रीय सदस्य विशाल भट्टराईले जानकारी दिएका छन् । सोमबारको बैठकमा यसअघि माधव नेपाल पक्षमा रहँदै आएका केन्द्रीय सदस्यहरू विष्णु रिजाल, तिलकुमार मेन्याङ्बो र सोम मिश्र सहभागी भएका थिए ।

Published On: Time : 6:15:59  

तपाईको प्रतिक्रिया