महाकुलुङमा ‘भिडियो एक्स रे’ सेवा


काठमाडौं– सोलुखुम्बुको दुर्गममा क्षेत्रमा रहेको महाकुलुङ गाउँपालिकामा भिडियो एक्स रे सेवा सुरु हुने भएको छ । उत्त मेसिनबाट अहिले तत्काललाई गर्भवति महिलाको स्वास्थ्य परीक्षणका लागि प्रयोग गरिने छ । गाउँपालिकालाई भिडियो एक्सरे मेसिन प्राप्त भएसँगै गाउँमै गर्भवतिको परीक्षण गर्न सकिने भएको हो ।

मानव अधिकार शान्ति विकास मञ्च नेपाल सोलुखुम्बुले गाउँपालिकालाई १२ लाख रुपैयाँ भन्दा बढी रकमको मेसिन उपलब्ध गराएसँगै जिल्लाको कर्णाली भनेर चिनिने महाकुङमा नै गर्भावस्थाको परीक्षण गर्ने सकिने गाउँपालिका स्वास्थ्य शाखा संयोजक हरिप्रसाद आचार्यले जानकारी दिएका छन् ।

आचार्यका उक्त मेसिन पोर्टबल रहेकाले यसबाट स्वास्थ्य चौकीका साथै आवश्यकताअनुसार गर्भवति महिलाको घर बा बसेकै स्थानमा लगेर पनि गर्भावस्थाको जाँच गर्न सकिने छ । ‘यो मेसिन लिएर घर–घरमा पुगेर पनि गर्भावस्थाको परीक्षण गर्न सकिन्छ’ उनले भने, ‘मेसिन उपलब्ध भएसँगै मातृ तथा शिशुको स्याहार र सुरक्षित मातृत्व कार्यक्रम प्रभावकारी हुनेछ ।’

यो मेसिन प्राप्त भएपछि गाउँपालिकामा भएको दक्ष जनशक्तिलाई समेत परिचालन गर्न सकिने स्वास्थ्य शाखा संयोजक आचार्यले जानकारी दिएका छन् । अहिले गाउँपालिकामा दक्ष जनशक्ति भए पनि मेसिन नहुँदा कामविहीन हुनु पर्ने अवस्था रहेको थियो । अहिलेसम्म गाउँपालिकामा साल अड्किएका दुई जना गर्भवतिको मृत्यु भएको भन्दै अब यस्तो दुखद घटना नहुने विश्वास उनले विश्वास व्यक्त गरे ।
यो मेसिन अमेरिकाबाट खरिद गरेर गाउँपालिकालाई हस्तान्तरण गरिएको मानव अधिकार शान्ति विकास मञ्च नेपाल सोलुखुम्बुका कोषाध्यक्ष आङ् जाम्बु शेर्पाले बताइन् । संस्थाले सोलुखुम्बुका विभिन्न वर्थिङ सेन्टरहरुमा स्वास्थ्य सामग्री वितरण गर्नुका साथै दक्ष प्रसुतिका लागि एस.बी.ए तालिमसमेत दिने गरेको शेर्पाको भनाइ छ । अहिलेसम्म करिब १९ जनालाई यो तालिम प्रदान गरिसकिएको उनले जानकारी दिइन् । साथै यो संस्थाले सुत्केरी आमा र बच्चाको स्याहार सम्बन्धी (एच.बी.बी र एच.एम.एस) तालिम समेत प्रदान गर्ने गरेको छ ।

मेसिन एक सोमबार मञ्चका कोषाध्यक्ष आङ्जाम्मु शेर्पाले गाउँपालिका स्वास्थ्य शाखा संयोजक हरि प्रसाद आचार्य र नेकपा एमाले सोलुखुम्बुका जिल्ला कमिटी सदस्य भक्त राईलाई हस्तान्तरण गरेकी थिइन् । उक्त मेसिनबाट पेटका अन्य रोगको परीक्षण गर्न सकिन्छ । एपेण्डिक्स, पथरी, आन्द्रा र पेटसम्बन्धी अन्य रोगको पनि परीक्षण गर्न सकिए पनि विशेषज्ञ (रोडियोलोजिस्ट) नहुँदा उक्त सेवा भने दिन नसकिने स्वास्थ्य शाखा प्रमुख आचार्यले जानकारी दिए । गर्भवतिको परीक्षण सम्बन्धी तालिम भने मञ्चले नै यसअघि गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरूलाई दिएको थियो ।

Published On: Time : 7:14:42  

तपाईको प्रतिक्रिया