“जीवन नै आफैँमा रंगमञ्च हो”


कोरोना कहरका कारण सिनेमा घर सबै बन्द रहनाले यससँग सम्बन्धित कामदारहरू बेरोजगारीको स्थितिमा पुगेका छन् । लामो समयदेखि नेपाली चलचित्र जगतमा सक्रियरूपमा अभिनय गरिरहेका नायक दिनेश बुढाथोकी जसलाई चकलेटी नायकका रूपमा पनि चिनिन्छन् । बुढाथोकी चलचित्र क्षेत्रका व्यस्त कलाकारमध्येका एक हुन् । दोलखा, शैलुङ– ७, का स्थायी बासिन्दा बुढाथोकीले एक दर्जन म्युजिक भिडियो र ‘धनमान’, ‘जय पर्शुराम’, ‘लिला’, रुद्र’, ‘लाले’आदि चलचित्रमा काम गरिसकेका छन् । अभिनयमा अब्बल बुढाथोकी नेपाली सिने जगतका आसलाग्दा प्रतिभा हुन् भने दर्शक र चलचित्रकर्मीको रोजाइका कलाकार हुन् । प्रस्तुत छ, अभिनेता बुढाथोकीसँग अशोक खड्काले गरेको संक्षिप्त कुराकानीः

आज भोलि केमा व्यस्त हुनुहुन्छ ?
— तपाईंलाई थाहा नै छ अहिले संसार कोरोना कहरमा परेको छ । हरेक क्षेत्रमा यसको प्रभाव परिरहेको छ, जसले गर्दा नेपाली सिनेमा क्षेत्र पनि अछुतो रहन सकिरहेको छैन । जसले गर्दा धेरै मात्रामा प्राविधिक, कलाकार जसले सिनेमालाई आङ्खनो मुख्य पेसा बनाएर जिविकोपार्जन गर्दै आउनु भएको थियो, उहाँहरूलाई ठूलो मर्का परेको छ भने राज्यलाई समेत ठूलो राजस्वको नोक्सान भइरहेको छ । जसले गर्दा म र मेरो जीवन पनि सिनेमासँग जोडिएको कारण केही प्रभाव परेको महशुस गरिरहेको छु । हाल थाइल्याण्डमा व्यवसाय गर्दै अभिनय पनि सिकिरहेको छु । यसबीचमा केही प्रोजेक्टमा कुरा पनि भइरहेको छ र कोरोना केही कम हुनेबित्तिकै दर्शकहरूले फरक रूपमा मलाइ देख्न सक्नुहुनेछ । आसा छ सदा झैँ यसपटक पनि दर्शकहरूले मलाई माया गर्नुहुनेछ ।

सुटिङ भइहाले पनि यो स्थितिमा सिनेमा प्रदर्शन होला त ?
— सिनेमा हल नखुलेको भए पनि सधैँ यही अवस्था त रहन्न होला नि ! नेपाली सिनेमासँग सबन्धित सबै पक्षबीच बहस चलिरहेको छ । कसरी निर्माण, प्रदर्शन र प्रवद्र्धन गर्ने भनेर । हामीले अन्तर्राष्ट्रिय अभ्यास पनि हेरिरहेका छौँ । जस्तै, बलिउडमा भर्खरमात्र सिनेमा हल खोलिएका छन् । परिणाम कस्तो आउछ हेर्दैछौँ र अन्य कुनै माध्यमबाट सिनेमा प्रदर्शन गर्न सकिन्छ कि भन्नेमा पनि बहस जारी छ ।

नेपाली सिनेमाले विस्तारै उचाइ लिइरहेको बेला यस्तो अवस्था आयो अब कोभिडले गर्दा पछिको सहज स्थितिमा पनि त्यही उचाइ लिन्छ त ?
– निकै राम्रो र समसामयिक प्रश्न गर्नु भयो । हामी र हाम्रो लागि र नेपाली सिनेमाको लागि ठूलो चुनौती आएको छ । अब फेरि हाम्रो सिनेमा त्यही अवस्थामा फर्किन्छ वा फर्किँदैन सबै यससँग सबन्धित निकायमा ठूलो बहस हुन थालेको छ । कसरी अहिलेको अवस्थाबाट नेपाली सिनेमालाई सहज स्थितिमा ल्याउन सकिन्छ ? दर्शकलाई कसरी विश्वास दिलाउन सकिन्छ ? हलसम्म ल्याउने वातावरण कसरी सिर्जना गर्न सकिन्छ भन्ने विषय अब चुनौती रहेको छ । हामीले पनि राज्यलाई कसरी हुन्छ, ठूलो लगानीमा निर्माण भएर प्रदर्शनको तयारीमा रहेका सिनेमाको निर्मातालाई कसरी सहज बनाउन सकिन्छ र आर्थिकरूपले कसरी बचाउन सकिन्छ ? भन्नेप्रति पहल भइरहेको छ । समयसँगै चलचित्र क्षेत्रले पनि प्रगति गर्दै जानेमा म विश्वस्त छु ।

पछिल्लो समय लगानीकर्ताहरू चलचित्रमा खर्च गर्न डराइरहेका छन्, के भन्नु हुन्छ ?
– निर्माता बचेमा सिनेमा उद्योग बच्छ र राज्यले पनि ठूलो मात्रामा राजस्व असुल्न सक्छ, त्यसैले हामी सबैले यसतर्फ पनि ध्यान दिनुपर्छ । हो, नेपाली सिनेमा पनि उद्योगको रूपमा अगाडि बढिरहेको र ठूलो संख्यामा रोजगार दिइरहेको र कलाकारदेखि प्राविधिकसम्मलाई समाजमा छुटै प्रतिष्ठा प्रदान गरेको छ । नेपाली सिनेमा पनि विदेशमा विशेष प्रदर्शन गरेर निर्माताले राम्रै आर्थिक लाभ लिइरहेका थिए । अब के फेरि त्यहीस्तरमा नेपाली सिनेमाले उचाइ लिन्छ त ? भन्ने प्रश्न उठेको छ । त्यसैले यससँग सबन्धित सबै निकाय, संस्था र राज्यस्तरबाट गहनरूपले सोच्ने बेला आएको छ ।

तपाईंलाई कस्तो खालको भूमिका मनपर्छ ?
— धेरैले भन्ने गर्नुहुन्छ कलाकार भएपछि जस्तोपनि भूमिका गर्न सक्नुपर्छ । मैले र मेरो कलाकारिताको जीवनमा कहिले पनि यही खालको भूमिका गर्नुपर्छ भन्ने ठानिन । त्यसैले मेरो बारेमा बजारमा के–कस्ता चर्चा, परिचर्चा हुन्छ त्यता कहिले पनि जान चाहिन । चाहेँ त केवल मेरो काम एकपछि अर्को कसरी राम्रो दिन सकिन्छ भन्नेमा नै केन्द्रित रह्योे । धेरैभन्दा पनि राम्रो सिनेमा दिनेमा मेरो सम्पूर्ण ध्यान जान्छ । त्यसैले व्यक्तिगत चर्चाभन्दा पनि मेरो राम्रो कामको मूल्यांकन भएको पाएको छु । त्यसैले मेरो व्यक्तिगत चर्चा र महत्व दर्शकबाट कम हुन्छ जस्तो लाग्दैन । रह्यो भूमिकाको कुरा, मैले गर्न हुने र सुहाउने जस्तोपनि भूमिकामा काम गर्न तयार छु ।

‘जय पर्शुराम’ चलचित्रबाट नेपाली सिनेमा जगतमा प्रवेश गरेसँगै पहिले र अहिलेमा के फरक पाउनुभयो ?
— मेरो पहिलो चलचित्र ‘जय पर्शुराम’ले सिनेमा बजारमा एक किसिमको हलचल मच्चाई दियो । जसका कारण नेपाली सिनेजगतलाई नै एक उचाइमा पु¥याउन सक्ने नायकको रूपमा हेरिन थाल्यो र मलाई सिनेमाको अफर धेरै आउन थाले । तर मैले संख्यात्मकरूपमा भन्दा पनि गुणात्मक सिनेमा गर्नु पर्छ भन्ने मान्यता राखेँ । स्क्रिप्ट, कथावस्तु अनि युनिट हेरेर मात्र काम गर्न थाले । एउटा सिनेमा सक्काएर मात्र अर्को सिनेमामा काम गर्थे । एकपछि अर्को चलचित्रमा व्यस्त हुन थालेपछि सिनेमाभन्दा अरु केही सोच्न सकिन । अरु सोच्ने कुरा पनि भएन । जसले मलाइ नाम, दाम दियो र यसै क्षेत्रलाई मुख्य पेसा बनाउँदै आए र नेपाली सिनेमाका एक व्यस्त आर्टिष्टको पंक्तितमा आफूलाई उभ्याउन सफल भए ।

सिनेमा क्षेत्रमा आउन चाहनेहरूलाई के सल्लाह दिनुहुन्छ ?
— जति पनि हामीले बाहिरबाट सिनेमा जगतलाई देखेका छौँ, त्यो स्वर्गजस्तो लाग्छ । वास्तविकता देखेभन्दा फरक छ । यहाँ ठूलो प्रतिस्पर्धा छ । यस क्षेत्रमा आउनु पहिले आवश्यक सीप, व्यक्तित्व विकास र दृढसंकल्प तथा संयमता सिक्नु जरुरी छ । जसले कलाकारिता क्षेत्रमा स्थापित गराउन मद्दत पुगोस् ।

कलाकारबाहेक तपाईंलाई सामाजिक अभियान्ता भनेर पनि चिनिन्छ । समाज सेवा कसरी गरिराख्नुभएको छ ?
— म आफूलाई सामाजिक अभियान्ताभन्दा पनि सामाजिक व्यक्ति हुँ भनेर भन्दा आनन्द लाग्छ । सामाजिक व्यक्ति भएपछि सामाजिक सेवा भनेको आङ्खनो दैनिकीजस्तो हुँदोरहेछ र त्यसैमा अभ्यस्त भइँदो रहेछ । तर, मलाइ अरूले जस्तो यसो गरे भनेर प्रचारबाजी गर्नुभन्दा गुमनाम भएर दुःखीहरूको सेवा गर्न पाउँदा आनन्द लाग्छ र त्यसै गरिरहेको छु र भोलिका दिनमा पनि गरिरहनेछु ।

Published On: Time : 6:23:18  

तपाईको प्रतिक्रिया