श्रमस्विकृति लिनेको संख्यामा वृद्धि


काठमाडौं– वैदेशिक रोजगारीका लागि श्रमस्विकृति लिनेको संख्यामा वृद्धि भएको छ । अघिल्ला महिनाको तुलनामा चैत महिनामा श्रमस्विकृति लिनेको संख्यामा वृद्धि भएको हो ।

चैत महिनामा नयाँ र पुराना गरी ३२ हजार १ सय ४२ जनाले श्रमस्विकृति लिएका छन् । जुन फागुन महिनाको भन्दा १२ हजार ३ सय ३४ र माघ महिनाको भन्दा १४ हजार २ सय ५५ ले बढी हो । चैत महिनामा श्रमस्विकृति लिएकामध्ये १५ हजार ५ सय २६ जना नयाँ र १६ हजार ६ सय १६ जना पुनः श्रमस्विकृति लिने रहेको वैदेशिक रोजगारा विभागले जनाएको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको एक महिनाको विवरणअनुसार ३० हजार ३५ पुरुष र २ हजार १ सय ७ जना महिलाले श्रम स्विकृति लिएका छन् । चैत महिनामा सबैभन्दा बढी साउदीअरबका जाने नेपालीले श्रमस्विकृति लिएका छन् ।

एक महिनामा साउदीका लागि १० हजार ३ सय ४५ जना पुरुष र ३१ जना महिला गरी जम्मा १० हजार ३ सय ७६ जनाले श्रमस्विकृति लिएका छन् । त्यस्तै कतारका लागि ९ हजार ३ सय ७० पुरुष र ३ सय ७३ महिला गरि ९ हजार ७ सय ४३ जनाले श्रमस्विकृति लिएको विभागले जनाएको छ । यता नेपालीको अर्को श्रमगन्तव्य मूलुक युएईका लागि एक महिनामा ७ हजार २ सय १ जनाले श्रमस्विकृति लिएका छन् । जसमध्ये ६ हजार ३ सय ५४ जना पुरुष र ८ सय ४७ जना महिला रहेका छन् ।

यता ओमानका लागि ८ सय ७१ जना पुरुष र ७३ जना महिला गरी ९ सय ४४ जनाले श्रमस्विकृति लिएको विभागको तथ्यांकले देखाएको छ । नेपालीको मुख्य श्रमगन्तव्य मुलुक मलेसियामा भने एक महिनामा १ सय ८४ जनाले मात्र श्रमस्विकृति लिएका छन् । जसमा १ सय ८२ जना पुरुष र २ जना महिला रहेका छन् । कुवेतका लागि ३५ पुरुष र २८ महिला गरि ६३ जनाले श्रमस्विकृति लिएको विभागले जनाएको छ । एक महिनाको अवधिमा नेपालबाट विभिन्न ७३ देश प्रवेशका लागि श्रमस्विकृति लिएको विभागको तथ्यांकमा देखिएको छ ।

विभागको पछिल्लो तथ्यांक केलाउने हो भने श्रमस्विकृति लिनेको संख्या बढ्दै गएको देखिएको छ । विभागको तथ्यांकअनुसार फागुन महिनामा १९ हजार ८ सय ८ जनाले श्रम स्विकृति लिएका थिए भने माघ महिनामा यो संख्या १७ हजार ८ सय ८७ थियो ।

पछिल्लो केही महिनाको तुलनामा श्रमस्विकृति लिनेको संख्या वृद्धि भए पनि कोरोनाको कारण वैदेशिक रोजगारीमा पुनः संकुचन आउन सक्ने व्यवसायीको भनाइ छ । सरकारले अन्तर्राष्ट्रिय उडान र श्रम स्विकृति खुला नै राखेको भए पनि सार्वजनिक र निजी सवारीसाधन चलाउन रोक लगाएका कारण वैदेशिक रोजगारीका प्रक्रिया ठप्पजस्तै रहेको व्यवसायीले बताउने गरेका छन् ।

 

Published On: Time : 11:09:18  

तपाईको प्रतिक्रिया