२७ वैशाखमा विशेष अधिवेशन आह्वान प्रधानमन्त्रीले विश्वासको मत लिने

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेको भन्दै विशेष अधिवेशन आह्वान गर्न सिफारिस गरेपछि राष्ट्रपति भण्डारीले सोही प्रयोजनका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेकी हुन् ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले संसदको विशेष अधिवेशनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीका अनुसार अहिलेको अन्योलता चिर्नका लागि विश्वासको मत लिन आवश्यक रहेको बताएका थिए । प्रधानमन्त्रीले आफूमाथि संसदको विश्वास छ वा छैन भन्ने यकीन गर्न जुनसुकै बेला विश्वासको मत लिन सक्छन् ।

हाल नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । प्राविधिकरूपमा सरकार बहुमतमा रहे पनि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री पदमा कायम रहन प्रधानमन्त्रीले १३६ सांसदको समर्थन लिनुपर्छ ।

२७५ सदस्य रहेको प्रतिनिधिसभामा नेकपा एमालेको १२१ सिट छ । नेपाली कांग्रेसको ६३, नेकपा माओवादी केन्द्रको ४९ (पार्टी छाडेका ४ जना पदमुक्त भएपछि), जनता समाजवादी पार्टीको ३४, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्र सांसदको १÷१ सिट रहेको छ । नेपाली कांग्रेसका २ जना र जनता समाजवादी पार्टीका २ जना निलम्बित छन् ।

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिए पनि उसले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग नयाँ सरकार निर्माणका लागि पहल गरिरहेको छ । नेपाली कांग्रेसले आङ्खनै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरिसकेको छ ।

सरकारलाई हेर्ने दृष्टिकोणमा जनता समाजवादी पार्टीभित्र विवाद छ । संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष नयाँ सरकार गठनको पक्षमा छन् भने अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष अहिलेकै सरकारप्रति नरम छन् । यदि २७ वैशाखको विषेश अधिवेशनबाट प्रधानमन्त्री ओलीले विश्वासको मत पाएमा उनीविरुद्ध एक वर्षसम्म अविश्वासको प्रस्ताव दर्ता गर्न पाइने छैन । उनले विश्वास गुमाएको खण्डमा नयाँ सरकार गठनका लागि बाटो खुला हुनेछ र नयाँ सरकार गठनका लागि नयाँ कसरत सुरु हुनेछ ।

एमालेको आन्तरिक समस्याका कारण ओलीलाई बहुमत पु¥याउन कठिन देखिन्छ । माओवादी केन्द्रले समर्थन गर्ने सम्भावना कम रहेकाले एमालेको आन्तरिक एकता नै सबैभन्दा महत्वपूर्ण बन्नेछ । तर, माधवकुमार नेपाल पक्षले मत नदिएको खण्डमा जसपाले साथ दिँदासमेत ओलीलाई विश्वासको मत मिल्ने छैन । नेपाल पक्षसँग कमसेकम ३२ सांसद रहेको बताइन्छ । जसपाले आधिकारिक निर्णय गर्न नसकेको अवस्थामा ठाकुर र महतो पक्षका सांसदले मात्र ओलीलाई मत दिनेछन् । त्यस्तो अवस्थामा जसपाका करिब २३ सांसदको समर्थन ओलीलाई मिल्नेछ । तर, नेपाल पक्षले साथ नदिँदा ओलीले संसदमा केवल ११२ मत प्राप्त गर्नेछन् ।

Published On: Time : 10:50:16  

तपाईको प्रतिक्रिया