अन्तर्वार्र्ता तत्काल रोकिन्छः महानिर्देशक दवाडी


काठमाडौं– रोजगारीका लागि विदेश जाने श्रमिकको अन्तर्वार्ता रोकिने भएको छ । नयाँ भेरियन्टको कोरोना भाइसरको संक्रमण बढेपछि सरकारले अन्तर्राष्ट्रिय हवाइ उडानमा रोक लगाइएकाले अन्तर्वार्ता रोकिने भएको हो ।
सरकारले बिहीबारदेखि अन्तर्राष्ट्रिय उडानसमेत रोक्ने निर्णय गरेकाले तत्कालका लागि वैदेशिक रोजगारीमा जानका लागि लिइने अन्तर्वार्ता रोकिने वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले जानकारी दिएका छन् । यस विषयमा मंगलबार विभागको बैठक बस्ने र त्यसपछि थप निर्णय गरिने उनको भनाइ छ । ‘उडान नभएको अवस्थामा कामदार विदेश जान सक्दैनन् र अन्तर्वार्ता पनि तत्कालै रोकिन्छ,’ महानिर्देशक दवाडीले भने, ‘अन्तर्वार्ता हुँदैन, हामी स्वीकृति दिँदैनौँ, यो बीचमा मानिस आउनै सक्दैनन्, त्यसैले हामीले स्वीकृति दिन सक्दैनौँ ।’
सुरु स्वीकृतिको काम रोकिने, तर अन्तिम स्वीकृतिको विषयमा मंगलबारको बैठकले निर्णय गर्ने उनको भनाइ छ । ‘उडान केही समयका लागि मात्रै रोकिएको हो भन्ने निर्देशन आयो भने अन्तिम स्वीकृति दिइराख्छौँ । किनभने अन्तिम स्वीकृति लिएको १ महिनाभित्र उड्ने कुरा हुन्छ । तर, अहिले तत्कालै नदिने निर्देशन भयो भने त्यही अनुसार गछौँ,’ महानिर्देशक दवाडीले भने । अहिले पनि दैनिक करिब तीन सयको संख्यामा अन्तिम श्रम स्वीकृति लिनेहरू रहेको उनले जानकारी दिए ।
कोरोना बढेपछि अन्तिम श्रम स्वीकृति लिनेको संख्या सुरुको दिनभन्दा घट्दो क्रममा रहे पनि रोकिएको अवस्था भने नरहेको उनले बताएका छन् । सुरुका दिनमा करिब एक हजार पाँच सयको हाराहारीमा श्रम स्वीकृति लिन विभाग आए पनि अहिले भने करिब तीन सयको हाराहारीमा मात्र श्रमिक आइरहेको उनको भनाइ छ । भिसा आइसकेकाहरू पनि बिहीबारदेखि विदेश जान नपाउने बताइएको छ । चार्टर्ड उडान मात्र हुने भनिएको अवस्थामा सामान्य उडानबाट जानेहरू जान नसक्ने दवाडीले बताए ।
यसअघि चैत ०७६ मा सरकारले लकडाउन गर्दा पनि श्रमिकहरू विदेश जानबाट वञ्चित भएका थिए । सरकारले असार ०७७ पछि मात्रै श्रमिकलाई विदेश जान श्रम स्वीकृति दिन थालेको थियो । बिदामा आएका श्रमिक पनि बैशाख मसान्तसम्म विदेश फर्कन नपाउने महानिर्देशक दवाडीले जानकारी दिएका छन् ।

Published On: Time : 8:33:16  

तपाईको प्रतिक्रिया