मलेसिया प्रवेशमा रोक


कठमाडौं– मलेसियाले चार देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । मलेसियाले नेपालीसहित बंगलादेश, पाकिस्तानी र श्रीलंकाका नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय भएको हो ।

नयाँ भेरियन्टसहितको कोरोना संक्रमण रोकथामका लागि ती देशका नागरिकलाई प्रवेशमा रोक लगाइएको मलेसियाको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । निश्चित समयका लागि रोक लगाइएको भनिए पनि कहिलेदेखि कहिलेसम्म यो अवस्था रहने भन्ने बारे खुलाइएको छैन । तर मलेसिया सिनियर मन्त्री दातुक सेरी स्लामाइ साबरी याकोबले चार देशका नागरिकको प्रवेशमा रोक लगाउने घोषणा भने गरिसकेका छन् ।

यो निर्णयअनुसार कूटनीतिक र सरकारी पासपोर्ट भएका बाहेक अन्य कुनै पनि भिसामा यी देशका नागरिक मलेसिया प्रवेश गर्न पाउने छैनन् । भारतमा पछिल्लो समय कोरोना महामारी बढेसँगै अप्रिल २८ देखि नै मलेसिया र भारतबीच हुने उडानहरूमा प्रतिबन्ध लगाइसकेको छ । यी देशबाट आउने आङ्खना नागरिकले पनि अनिवार्य रूपमा १४ दिन क्वरेन्टिन बस्नुपर्ने मलेसियाले जनाएको छ ।

नेपाल सरकारले पनि बिहीबार मध्ये रातिदेखि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको छ । नेपालले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएसँगै वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका र फर्कंनेहरू पनि रोकिएका छन् ।

Published On: Time : 9:57:15  

तपाईको प्रतिक्रिया