विवाह भोजको रकम दीनदुःखीहरूलाई प्रदान


काठमाडौं– संस्कार समाज नेपालका आजीवन सदस्य तथा युवा समाजसेवी फुर्वा दोर्जे मोक्तानले आफ्नो विवाहको भोज कार्यक्रमलाई स्थगित गरेर कोरोना महामारीका कारण एक पेटका लागि सडकमा भौतारिरहेका गरिब, मजदुरहरूलाई खाना खुवाउने अभियानमा जोडिएका छन् ।
शुक्रबार हाम्रो टिम नेपालले संचालन गर्दै आइरहेको दीनदुःखीहरूका लागि खाना खुवाउने अभियानमा जोडिँदै तामाङले झन्डै १५ सय सर्वसाधारणका लागि खाना खुवाउने रकम हस्तान्तरण गरेका हुन् । गोकर्णेश्वर नगरपालिका वडा नं. ५ नयाँबस्ती निवासी भावना तामाङसँग हालै विवाह बन्धनमा बाँधिएका मोक्तानले प्रिति भोजका लागि छुट्टयाएको रकमबाट ४० हजार रुपियाँ हाम्रो टिम नेपाललाई प्रदान गरेका छन् । शुक्रबार थापाथलीमा संचालित खाना खुवाउने कार्यक्रममा आफैँ सहभागी भएर सर्वसाधारणहरूलाई खाना खुवाउदै गर्दा निक्कै भावुक बनेका मोक्तानले कोरोना महामारीको यो विपद्को घडीमा सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्न आव्हानसमेत गरे ।
यसैबीच खाना खुवाउने कार्यक्रममा पुगेकी भावना तामाङले अहिले हामीले कुनै पनि उत्सव, पर्वहरू मनाउनुभन्दा पनि सडकमा एक छाकको याचना गरिरहेकाहरूलाई खाना खुवाउनु ठूलो मानवीयता हुने बताएकी छन् । जापानमा व्यापार, व्यवसाय गर्दै आइरहेकी तामाङ विवाहकै लागि नेपाल आएकी र आफ्नो विवाहमा भोज गरेर आफन्त, इष्टमित्र जम्मा गर्न नपाए पनि कोरोना कहरले मारमा परेका दीनदुःखीहरूलाई खाना खुवाउन पाउँदा निक्कै सन्तोष लागेको बताइन् ।
हाम्रो टिम नेपालका प्रमुख अभियानकर्ता तथा वरिष्ठ समाजसेवी इशा गुरुङले मोक्तान दम्पत्तीको निर्णयको प्रशंसा गर्दै दाम्पत्य जीवनको शुभकामना व्यक्त गरेकी छन् । इशाले आफ्नो फेसबुकमार्फत सडकपेटीमा खाना खुवाउने अभियानमा जोडिएको भन्दै मोक्तान दम्पत्तीलाई आभार व्यक्त गर्दै शुभकामना व्यक्त गरेकी हुन् । त्यस्तै हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले आफ्नो विवाहको भोजलाई नगरी सामाजिक कार्यमा जोडिएको कलाकार तथा समाजसेवी फुर्वा दोर्जेप्रति धन्यवाद व्यक्त गरेका छन् । त्यस्तै अभियानकर्ता उमेश बोहराले पनि मोक्तानको निर्णय उदाहरणीय भएको बताएका छन् । साथै बोहराले संस्थाले कोरोना भाइरस महामारीका समयमा मात्र नभई मानवीय संकटका हरेक घडीमा सामाजिक सेवा, उद्धार र राहतका कार्यक्रम गर्दै आइरहेको जानकारी दिए । सहृदयी मोक्तान एक सफल व्यवसायीका साथै कुशल अभिनेता तथा समाजसेवी हुन् ।

Published On: Time : 7:35:03  

तपाईको प्रतिक्रिया