सबै एकजुट हुनु पर्छ ः राजदूत पराजुली


काठमाडौं– ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले सबै नेपाली एक ढिक्का भएर अगाडि बढ्नुपर्ने बताएकी छन् । वैदेशिक रोजगार पत्रकार समाजले बिहीबार आयोजना गरेको भर्चुअल बैठकमा बोल्दै राजतूत पराजुलीले यस्तो बताएकी हुन् ।
अहिले विपत्को समयमा विदेशमा रहेका नेपालीले सहयोग गरिरहेको र फेरि पनि सहयोग गर्नका लागि हातेमालो गर्नु पर्ने उनको भनाइ थियो । खाडीका मुलुकमा रहेको नपालीहरुको सहयोगबाट ५ सय ५० अक्सिजन सिलिन्डर नेपाल पठाउने तयारी अन्तिम चरणमा रहेको भन्दै सबैको सहयोगले सम्भव भएको राजदूत पराजुलीले बताइन् ।
नेपाल आउने सिलिन्डर १५ मे मा नेपाल पठाइने उनले जानकारी दिएकी छन् । ‘टिम वर्कले गर्दा काम गर्न सफल भयौँ, एनआएनले सहयोग संकलनाका लागि सहयोग ग¥यो, दूताबासले सक्दो पहल ग¥यो र सिलिन्डर नेपाल पठाउन सफल भयौँ,’ राजदूत पराजुलीले भनिन् ।
राजदूत पराजुलीले एनआएनेलाई नेपालमा उद्योग सञ्चालन गर्नसमेत आग्रह गरेकी छन् । अक्सिजन प्लान्ट नै खोल्नसमेत उनले सुझाव दिएक छइन् । विपत्मा विदेशमा रहेका नेपाली सुरक्षित रहेको पाइएको पनि उनले जानकारी दिइन् ।
कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ (एनआरएन) का उपाध्यक्ष डा.बद्री केसीले अघिल्लो वर्षदेखि नै संघले एउटा कमिटी बनाएर काम गरेको र यो वर्ष पनि सहयोगका लागि पहल गरिरहेको बताएका छन् । अहिले पनि संघअन्तर्गत १५ जना डाक्टरहरु २४सै घन्टा सेवामा रहेको उपाध्यक्ष डा.केसीले जानकारी दिए । अक्सिजन सिलिन्डरसँगै १ सय ७० वटा अक्सिजन कन्सरटेटर पनि नेपाल पठाइने डा. केसीको भनाइ छ । विदेशमा रहेका नेपालीले छाक काटेर दिएको पैसाले विभिन्न स्वास्थ्य सामग्री खरिद गरी पठाउने काम भइरेको बताइएको छ ।
ओमानमा खरिद गरिएका ४० लिटर क्षमताका ५ सय ५० वटा सिलिन्डर शनिबार नेपाल आइपुग्ने जानकारी गराइएको छ । सिलिन्डर खरिदका लागि ६३ हजार ७ सय अमेरिकी डलर अर्थात ७४ लाख ५६ हजार ८५ रुपैयाँ नेपाली लागत लागेको बताइएको छ । नेपाल ल्याउनका लागि लाग्ने ढुवानी भने नेपाल सरकारले व्यहोर्ने जनाइएको छ ।
कार्यक्रममा बोल्दै अभियानका संयोजक तथा एनआरएन आइसिसी सचिव आर.के शर्माले सबैको सहयोगले अक्सिजन सिलिन्डर खरिद गर्न सकिएको र सबैले मानवीय धर्म सम्झेर सहयोग गरेको भन्दै सबैलाई आभार प्रकट गरेका छन् । उनले सबैलाई सावधानी अपनाउनसमेत आग्रह गरे । नेपालभन्दा मध्यपूर्व कोरोनाको महामारीका दृष्टिले समेत सुरक्षित रहेको सचिव शर्माले बताएका छन् । अक्सिजन सिलिन्डर अस्पताल अस्पतालमा लिएर वितरण गर्ने योजना रहेको उनले जानकारी दिए ।

Published On: Time : 3:26:11  

तपाईको प्रतिक्रिया