नेपाल समाजवादी कांग्रेसको माग, राष्ट्रिय सरकार गठन


काठमाडौं– नेपाल समाजवादी कांग्रेस पार्टीले राष्ट्रिय सरकार गठन गर्न माग गरेको छ । यो सरकार यसअघि नै असफल भएकाले यस्तो अतिवादी सरकार तत्काल विघटन गरेर देशको समस्या समाधानका लागि नेपाल समाजवादी कांग्रेससहितको राष्ट्रिय सरकार गठन गर्न सो पार्टीले शुक्रबार प्रेस विज्ञप्तिमार्फत यस्तो माग गरेको हो ।
अब मुलुकलाई निकास दिनका लागि राष्ट्रिय सरकारले राष्ट्रिय सहमति तयार गरेर देशमा अघि बढाउनुको विकल्प नभएको पनि विज्ञप्तिमा जनाइएको छ । वर्तमान शासकीय सर्वसत्तावादको कारण नेपाल र नेपालीहरू परिस्थितिको जटिल मोडमा उभिएको भन्दै शासकहरू निरंकुश भएको समयमा देशभित्र विदेशी शक्तिको हस्तक्षेप हुनु मुलुकका लागि शुभ संकेत मान्न नसकिने सो पार्टीको अध्यक्ष गोविन्द निरौलाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
राष्ट्रप्रमुखको हत्या भएको समयमा सिंगो देशलाई संघीयताका नाममा फुटाएर नेपाल संघीय राज्य भएको घोषणा गरिनु देश विघटन गर्ने योजना भएको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको संस्कृति समाप्त गर्नका लागि धर्मनिरपेक्षताको घोषणा हुनुलाई घोर अपराध मानेका छौ । हामी चाहन्छौँ, देश बचाउनका लागि संघीयता र धर्मनिरपेक्षताको खारेज गरेर राष्ट्रिएकता कायम गरौँ ।’
त्यसो गर्न विशेष अधिकारसहितको राजसंस्थासमेत क्रियाशील हुन आवश्यक रहेको भन्दै वर्तमान अवस्थामा देशको राजनीतिक अवस्था अतिवादी सर्वसत्तावादतिर उन्मुख भइरहेको अध्यक्ष निरौलाले जनाएका छन् ।
अहिले जनता कोभिड–१९ जस्तो महामारीबाट छट्पटाइरहेको समयमा शासकहरू भ्रष्टाचार र सत्ताको दाउपेचमा लाग्नु दुःखद कुरा भएको भन्दै असफल सरकारको नेतृत्वलाई पुनः प्रधानमन्त्रीमा नियुक्ति गर्ने कुरा घिनलाग्दो दाउपेच सो पार्टीको ठहर छ ।
विज्ञप्तिमा कल्पित मनसाय राखेर बिहीबार गठन गरिएको केपी ओली नेतृत्वको अतिवादी सरकार तत्काल विघटन गरेर गरिब, विपन्न जनताका लागि निःशुल्क औषधि उपचार साथ खाद्यान्नको उचित व्यवस्था गर्न पनि आग्रह गरिएको छ ।

Published On: Time : 13:25:01  

तपाईको प्रतिक्रिया