‘अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियान सुरु


काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ‘अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियान सुरु गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरले नेपालको अवस्था आक्रान्त भइरहेको समयमा एनआएनएले यस्तो अभियान सुरु गरेको हो ।

पछिल्लो समय नेपालका अस्पतालमा अक्सिजन, आइसियू बेड, र अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव हुँदा दिन प्रतिदिन मृत्यु हुनेको संख्या बढ्न थालेपछि अभियान सुरु गरिएको संघले जनाएको छ । संकटको घडीमा ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानका साथ आर्थिक संकलन अभियान सञ्चालन गरिएको संघले जनाएको छ । संघले प्रमुख संरक्षक, संरक्षक, सल्लाहकार, पदाधिकारी, मानार्थ परिषद् सदस्य तथा अन्तर्राष्ट्रिय परिषद् सदस्य, पूर्वपदाधिकारी, राष्ट्रिय समन्वय परिषद् अध्यक्षहरूलाई सो अभियानमा सहयोगका लागि अनुरोधसमेत गरिएको छ । संघले सुझाव संकलन गर्न १५ मे का दिन बैठकको आयोजनासमेत गरिएको जनाएको छ ।

संघले कोरोनाको दोस्रो लहर सुरु भएपछि पनि निरन्तर रूपमा नेपाललाई सहयोग गर्दै आएको छ । संघले ओमानबाट पठाएको ५ सय ५० थान अक्सिजन सिलिन्डर शनिबार नेपाल आइपुगेको छ । सिलिन्डर खरिदका लागि करिब रु ७५ लाख रूपैयाँ मध्यपूर्वका गैरआवासीय नेपालीहरूले जुटाएको र ढुवानीको व्यवस्था नेपाल सरकारले गर्ने जनाइएको छ । त्यस्तै चीनबाट १७० अक्सिजन कन्सन्ट्रेटर पनि शनिबार नेपाल आइपुग्ने संघका उपाध्यक्ष डा. बद्री केसीले जानकारी दिए ।

अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि रु १ करोड ३७ लाख खर्च लाग्ने बताइएको छ । जसमध्ये एनसिसी चाइनाले ७० थान अक्सिजन कन्सन्ट्रेटरको सहयोग गर्नेछ । ढुवानी खर्चका लागि नेपाल सरकारसँग समन्वय भइरहेको जनाइएको छ । यसैबीच, एनसिसी अष्ट्रेलियाले रु १ करोड बराबर र एनसिसी युएसएले कम्तीमा रु ६० लाख बराबर सहयोग जुटाउने अभियानसमेत सुरु गरेको बताइएको छ ।
यता अफ्रिकामा रहेका गैरआवासीय नेपालीहरूबाट रु १५ लाख बराबरको अक्सिजन सिलिन्डर नेपालको बिभिन्न अस्पतालमा वितरण गरिएको पनि एनआरएनले जनाएको छ ।

Published On: Time : 13:44:56  

तपाईको प्रतिक्रिया