नेपालका लागि नेपाली दलमा रूपान्तरण

काठमाडौं– विभिन्न सामाजिक अभियान सञ्चालन गरिरहेको ‘नेपालका लागि नेपाली’लाई राजनीतिक दलका रूपमा दर्ता गरिएको छ । बालकृष्ण न्यौपाने र डा. सुरेन्द्र भण्डारीको अध्यक्षतामा अभियानलाई दलका रूपमा दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिइएको छ ।
दलको प्रवक्ताको जिम्मेवारी डा.विजयप्रसाद मिश्रलाई दिइएको छ । सो पार्टीले ‘पृथ्वीपथ’लाई आङ्खनो राजनीतिक आधार तथा दर्शन मानेको जनाएको छ । प्रवक्ता मिश्रद्वारा जारी विज्ञप्तिमा नेपालका लागि नेपाली तीन वर्षसम्मको अभियानपश्चात राजनीतिक दलमा रूपान्तरण गरिएको जनाइएको छ ।
गणतन्त्रले मुलुकका समस्याको सम्बोधन गर्न नसक्ने प्रष्ट भएको हुँदा संघीयताको खारेजी, एक्काईसौं शताब्दीको लोकतन्त्रसहितको आधुनिक राजसंस्था स्थापना र धर्म निरपेक्षता खारेज गरी धार्मिक सहिष्णुतासहितको ॐ कारपरिवार (वैदिक, बौद्ध, जैन, शिख, किरा“तलगायत)को सहअस्तित्व रहने सनातन धर्म सापेक्ष हिन्दू अधिराज्य स्थापना गरेर मात्रै नेपाल र नेपालीको गौरव, स्वाभिमान र एकता बच्ने भएको हुँदा उक्त एजेन्डामा सहमत हुने सबैसँग सहकार्य गर्न पनि सो पार्टीले सो विज्ञप्तिमार्फत सबै जनतालाई आह्वान गरेको छ ।
मुलुकमा देखिएको चरम राजनैतिक विकृतिको जिम्मेवार सत्ता र सत्ताको खेलमा चुर्लुम्म डुबेका सबै दल र नेताहरू भएको सो पार्टीको आरोप छ । सत्ता र सत्ताको लडाइमा लागेका सबै दल र नेताले ङ्खलोर क्रसलाई मूल राजनैतिक हतियार बनाएको परिदृश्यले संसदीय प्रणाली, संविधान र व्यवस्थालाई नै अन्त्यको संघारमा पुर्याएको सो पार्टीको बुझाइ छ ।
यस्तो अवस्थामा पनि यही संसद, संविधान र व्यवस्था चाहिन्छ भनि गरिने तर्क वा आग्रहले मुलुकलाई दुर्घटनातर्फ लाने निश्चित भएको हुँदा व्यवस्था र संविधानको विकल्प खोज्न जरुरी भएको सो पार्टीको तर्क छ । साथै शान्तिपूर्ण एवं अहिंसात्मक आन्दोलन र निर्वाचन दुवैका माध्यमबाट परिवर्तन र रूपान्तरणका लागि लाग्नु पर्ने अवस्था उत्पन्न भएको सो पार्टीको ठम्याइ रहेको छ । तथापि निर्वाचन कोभिडको महामारी फैलाउने संयन्त्र बन्न हुँदैन भन्नेमा पनि सो पार्टी रहेको विज्ञप्तिमा जनाइएको छ ।
सो पार्टीले भावी निर्वाचनलाई भ्रष्टाचारीलाई पराजित गर्ने अस्त्रको रूपमा अपनाउने निर्णय गरेको छ । अब पुरातनिक संसदीय प्रणाली त्यागेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसद मन्त्री बन्न नपाउने व्यवस्था, संसद संख्या ११५ मा नबढ्ने व्यवस्था, विदेशमा बस्ने नेपाली नागरिकले पनि मतदान गर्न पाउने व्यवस्थालगायत निर्वाचन प्रणालीमा सुधार गर्नु पर्दछ भन्ने नेपालका लागि नेपाली पार्टीको धारणा छ ।

 

Published On: Time : 12:30:20  

तपाईको प्रतिक्रिया