मलेसियामा संक्रमित र मृत्युदर बढ्दै


काठमाडौं– नेपालीको मुख्य श्रमगन्तव्य मुलुक मलेसियामा कोरोना भाइरसका कारण सात दिनको अवधिमा ४८१ जनाले ज्यानले गुमाएका छन् । २४ मे सोमबारदेखि ३० मे आइतबारसम्म ४८१ जनाले ज्यान गुमाएको हुन् ।
अघिल्लो सोमबारदेखि ३० मेसम्म दैनिक ५० भन्दा बढीले ज्यान गुमाएको वल्ड्रो मिटरको तथ्यांकले देखाएको छ । मलेसियामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या पनि दैनिक ६ हजार भन्दा बढी रहेको छ । त्यहाँ २४ मे का दिन ६१ जनाले ज्यान गुमाएका थिए । त्यो दिन त्यहाँ ६ हजार ५०९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै मंगलबार ७ हजार २८९ जनामा कोरोना पुष्टि भएको थियो, भने ६० जनाले ज्यान गुमाएका थिए । बुधबार मृत्यु हुनेको संख्या बढेर ६३ र संक्रमितको संख्या पनि बढेर ७ हजार ४७९ जना पुगेको थियो । बिहीबार मृत्यु हुनेको संख्या केही घटेको थियो । त्यो दिन ५९ जनाले ज्यान गुमाएका थिए । सो दिन त्यहाँ ७ हजार ८ सय ५७ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यता शुक्रबार मृत्यु हुने र संक्रमण पुष्टि हुने संख्या बढेको थियो । शुक्रबार ८ हजार २९० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ६१ जनाले ज्यान गुमाएका थिए । मलेसियामा पछिल्लो ७ दिनमा सबैभन्दा बढी शनिबार ९८ जनाले ज्यान गुमाएका थिए । शनिबार संक्रमित हुनेको संख्या पनि बढेर ९ हजार २० पुगेको वल्ड्रो मिटरको तथ्यांकले देखाएको छ । शनिबार सयको हाराहारीमा रहेको मृत्यु हुनेको संख्या आइतबार भने घटेर ७९ मा झरेको छ । आइतबार कोरोना संक्रमण पुष्टि हुनेको संख्या पनि अघिल्लो दिनको भन्दा केही घटेको छ । आइतबार त्यहाँ ६ हजार ९९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै मलेसियामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ७२९ जना पुगेको छ । आइतबारसम्म त्यहाँ ५ लाख ६५ हजार ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ लाख ८४ हजार ७८७ जना निको भएका छन् । आइतबारसम्म मलेसियामा ७८ हजार १७ जना सक्रिय संक्रमित रहेको बताइएको छ ।
त्यस्तै नेपालीको अर्कोे महत्वपूर्ण रोजगार गन्तव्य मुलुक कतारमा एक हप्तामा ११ जनाले ज्यान गुमाएका छन् भने यो अवधिमा १ हजार ८८१ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै कतारमा ज्यान गुमाउनेको संख्या ५५४ जना पुगेको छ भने २ लाख १७ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये २ लाख १२ हजार ७१६ जना निको भएका छन् । त्यस्तै अर्को गन्तव्य मुलुक युएईमा एक हप्तामा २६ जनाको ज्यान गएको छ भने १२ हजार ९६६ जनामा संक्रमण पुष्टि भएको छ । युएईमा हालसम्म कोरोनाका कारण १ हजार ६७७ जनाले ज्यान गुमाएका छन् । त्यहाँ ५ लाख ६९ हजार ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ५ लाख ४८ हजार ७८५ जना निको भएका छन् ।
यता साउदी अरबमा एक हप्ताको अवधिमा ९७ जनाको मृत्यु भएको छ भने ८ हजार ४३७ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म साउदीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७ हजार ३३४ जना रहेको छ । त्यहाँ कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ लाख ४८ हजार २८४ पुगेको छ । त्यसमध्ये ४ लाख ३० हजार ९३७ जना निको भएको तथ्यांकले देखाएको छ ।

Published On: Time : 5:46:53  

तपाईको प्रतिक्रिया