निषेधाज्ञापछि तीन हजारलाई श्रम स्वीकृति


काठमाडौं– निषेधाज्ञा जारी भएपछिको एक महिनाको अवधिमा ३ हजारभन्दा बढीले पुनः श्रम स्वीकृति लिएका छन् । १६ वैशाखदेखि १६ जेठसम्मको अवधिमा ३ हजार ३ सय ५१ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि गएको १६ वैशाखदेखि निषेधाज्ञा जारी गरिएको थियो । एक महिनाको अवधिमा ३ हजार २ सय ६९ जना पुरुष र ८२ जना महिलाले पुनः श्रम स्वीकृति लिएको वैदेशिक रोगजार कार्यालय ताहाचलका सूचना अधिकारी तथा निर्देशक छत्रबहादुर शाहले जनाकारी दिएका छन् ।
निषेधाज्ञाको समयमा वैदेशिक रोजगार विभागले भौतिक रूपमा उपस्थित भएर लिने सेवा बन्द गरेको थियो । तर अनलाइनबाट पुनः श्रम स्वीकृति लिने कार्य भने जारी राखिएको सूचना अधिकारी शाहले जानकारी दिएका छन् । निषेधाज्ञाको समयमा औसतमा दैनिक १ सय ५० देखि १ सय ७० जनाले पुनः श्रम स्वीकृति लिने गरेको उनले बताए ।
निषेधाज्ञा जारी भएसँगै विभागले भौतिक रूपमा उपस्थित भएर प्रदान गर्ने अन्तिम श्रम स्वीकृति, नयाँ श्रम स्वीकृतिलगायत सेवा अहिले बन्द रहेका छन् । तर अनलाइनमार्फत प्रदान हुने पुनः श्रम स्वीकृति प्रदान गर्ने कार्य भने जारी रहेको छ । पुनः श्रमस्वीकृति लिए पनि कामदार विदेश जान नपाएको अवस्थामा चार्टर उडानबाट नेपाली नागरिक विदेश जान सक्ने व्यवस्था गरेपछि केही श्रमिक विदेश गएको बताइएको छ ।
१६ वैशाखदेखि निषेधाज्ञा जारी गरेको सरकाले २३ वैशाखदेखि भने अन्तर्राष्ट्रिय उडान पनि बन्द गरेको थियो । जसको प्रभाव नेपालबाट रोजगारीका लागि विदेश जाने श्रमिक र त्यहाँबाट स्वदेश फर्कने श्रमिकमा परेको सरोकारवालाले जनाएका छन् ।
यता पछिल्लो समय कोरोना भाइरसको महामारी बढेपछि वैदेशिक रोजगार कल्याणकारी कोषमा र बिमाबापतको रकमसमेत अनलाइनमार्फत नै तिर्न सकिने भएपछि सेवा लिनका लागि वैदेशिक रोजगार कार्यालयमा नगएर पनि सेवा लिन सकिने भएको हो । अनलाइनमार्फत विदेशबाट समेत पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था गरिएको विभागले जनाएको छ ।

Published On: Time : 4:40:18  

तपाईको प्रतिक्रिया