पुरानै चेक आउट मेमोलाई मान्यता


काठमाडौं– मलेसियाबाट स्वदेश फर्कनका लागि चेक आउट मेमो लिएकाहरूले उडान खुलेपछि त्यहि मेमोले मान्यता पाउने भएको छ । नेपाली दूताबासका अनुसार चेक आउट मेमोको मिति सकिए पनि उडान बन्द भएको कारण रोकिएकाहरू उडान खुलेपछि पुरानै चेक आउट मेमोमार्फत नै स्वदेश फर्कन पाउने भएका हुन् ।
त्यहाँ रहेको नेपाली दूताबासले फेसबुक लाइभमार्फत चेक आउट मेमो लिइसकेर पनि उडान बन्द हुँदा स्वदेश फर्कन नपाएकाहरू उडान खुलेपछि सजिलै स्वदेश जान सक्ने बताएको छ । अहिले कोरोना संक्रमण रोकथामका लागि सरकारले नियमित उडान बन्द गर्दा घर फर्कन चेक आउट मेमो लिएकाहरू पनि स्वदेश फर्किन पाएका छैनन् ।
मलेसियाबाट स्वदेश फर्कन चेक आउट मेमो लिइसकेकाहरू उडान खुल्नेबित्तिकै स्वेदेश फर्किन पाउने भएका छन् । कोरोना भाइरस (कोभिड–१९) का कारण उडान रोकिँदा स्वदेश फर्किन नपाएकाहरू उडान खुलेपछि सजिलै स्वदेश फर्कन पाउने भएका हुन् ।
यस्तै दूताबासकाअनुसार, भिसा सकिएका श्रमिकले कम्पनीसँग अनुरोध गरेर स्पेसल पास पनि बनाउन सक्नेछन् । भिसा सकिएको छ, तर घर फर्किने चेक आउट मेमो लिएको छैन भने पनि कम्पनीसँग अनुरोध गरी पास लिन सकिने दूताबासले जनाएको छ । मलेसियामा पछिल्लो समय दैनिक रूपमा कोरोना संक्रमण दर बढिरहेको छ । जसले गर्दा उडान खुल्ने सम्भावना भने कम रहेको बताइएको छ ।
मलेसियामा दुई पुनः लकडाउन
यसैबीच, मलेसियमा पुनः लकडाउन थप गरिएको छ । मलेसिया सरकारले लकडाउनको समय १५ जुनदेखि थप २ हप्ता बढाएको हो ।
यो निर्णयसँगै अब मलेसियामा २८ जुनसम्म लकडाउन हुने बताइएको छ । मलेसियाले यसअघि तोकेको लकडाउनको समय १४ जुनमा सकिँदै छ । लकडाउनको समय सकिनै लाग्दा मलेसिया सरकारले समय बढाएको हो । मलेसिया सरकारले कोरोना संक्रमण दर नघटेको भन्दै अहिले कायम रहेको लकडाउन थप दुई हप्ता लम्ब्याउने घोषणा गरेको त्यहाँका स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
अहिले मलेसियामा दैनिक ५ हजारभन्दा धेरै संक्रमित थपिइरहेका छन् । मलेसियामा बिहीबार मात्रै ५ हजार ६ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बिहीबार मात्रै मलेसियामा कोरोनाका कारण थप ७३ जनाले ज्यान गुमाएका थिए । शुक्रबार पनि मलेसियामा ६ हजार ८ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ८४ जनाको ज्यान गएको वल्ड्रो मिटरले जनाएको छ ।
लकडाउनको समयमा अत्यावश्यकबाहेक आर्थिक र सामाजिक गतिविधिमा प्रतिबन्ध लगाइने मलेसियाका सिनियर मन्त्री दातुक सेरी स्मैल साबरी याकोबले जानकारी दिएको स्थानीय सञ्चार माध्यामले जनाएका छन् ।

Published On: Time : 6:30:37  

तपाईको प्रतिक्रिया