अमेरिकी कम्पनीसँगको मुद्धा श्रमिकको पक्षमा

काठमाडौं– मलेसियामा रहेको अमेरिकी कम्पनीविरुद्धको मुद्धामा श्रमिकका पक्षमा फैसला भएको भएको छ । अमेरिकी कम्पनी गुड इयर टायरविरुद्धको मुद्दामा नेपालीलगायत मलेसियामा काम गर्ने श्रमिकहरूको पक्षमा फैसला भएको हो ।
अदालतमा चलिरहेको मुद्दामा बुधबार अदालतले श्रमिकको पक्षमा फैसला सुनाएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यामका अनुसार दर्जनौँ श्रमिकले हालेको कम्पनीविरुद्धको मुद्दामा श्रमिकको पक्षमा फैसला आएको छ । नेपालीलगायत दर्जनौँ श्रमिकहरूले आफूले पाउनु पर्ने सेवा सुविधाबापतको रकम, ओभरटाइमबापतको रकम नपाएको, राहदानीलगायत व्यक्तिगत कागजात कम्पनीले अवैधानिक रूपमा कव्जा गरेकोलगायत विषयमा मुद्दा हालेका थिए । यसअगाडि नै दुईवटा मुद्धा श्रमिकले जितिसकेका थिए ।
सेलेँगरमा रहेको गुड इयर टायरमा काम गर्ने नेपाल, म्यानमार तथा भारतका ६५ जना श्रमिकले कम्पनीविरुद्ध मुद्धा हालेका थिए । उनीहरूको तर्फबाट अधिवक्ता आर चन्द्रा सेगारनले मुद्दा लड्दै आएका थिए । २० लाख रिंगिट बरावरको रकम आफूहरूले कम्पनीबाट नपाएको भन्दै ती श्रमिकले मुद्दा हालेका थिए । कम्पनीले आङ्खनो तर्फबाट कुनै रकम दिन बाँकी नरहेको दाबी गरे पनि अदालतले श्रमिकले दाबी गरेअनुसारको रकम भुक्तानी गर्नुपर्ने आदेश दिएको समाचारमा जनाइएको छ ।
अधिवक्ता सेगरनले अदालतले मलेसियामा काम गर्ने विदेशी श्रमिकले पनि मलेसियन नागरिकले जस्तै सेवा, सुविधा पाउनु पर्ने पक्षमा फैसला गरेको बताएको समाचारमा जनाइएको छ । आप्रवासी श्रमिकलाई कुनै भेद्भाव गर्न पाइन्न भन्ने कुरा अदालतले स्थापित गरेको समाचारमा भनिएको छ । गुड इयर कम्पनीले भने अदालतको फैसलाका बारेमा पुनरावेदन गर्ने वा नगर्ने भन्ने बारेमा स्पष्ट पारेको छैन । यसअगाडि १ सय १९ जना श्रमिकले हालेको मुद्दामा अदालतले यस्तै फैसला गरेकोमा कम्पनीले उच्च अदालतमा पुनरावेदन हालेको छ ।
मलेसियामा कम्पनीहरूले आप्रवासी श्रमिकलाई ठगेको, विभेद् गरेको मुद्दा पछिल्ला केही वर्षयता चर्को रूपमा उठ्दै आएको छ । पन्जा कम्पनीहरूले आप्रवासी श्रमिकलाई ठगेको घटना सार्वजनिक भएपछि टप ग्लोब्सलगायत कम्पनी समस्यामा फसेका थिए । पछि ती कम्पनीहरूले आप्रवासी श्रमिकलाई उनीहरूले भुक्तानी गरेको भर्ना शुल्क फिर्ता गर्नुपरेको थियो ।

Published On: Time : 6:23:45  

तपाईको प्रतिक्रिया