स्वास्थ्य परीक्षणमा सहजता ल्याउने सहमति


काठमाडौं– कतार भिसा सेन्टर (क्युभिसी) मार्फत स्वास्थ परीक्षण गर्नका लागि समय लिएका व्यक्तिहरुको स्वास्थ्य परीक्षणमा सहजता ल्याइने भएको छ । बिहीबार नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसन र सेन्टरबीचको छलफलमा यस्तो सहमति भएको हो ।
२ मे अर्थात् १९ वैशाखदेखि ५ जुन अर्थात् २२ जेठसम्म समय लिएर स्वास्थ्य परीक्षण गर्न नपाएका ८ हजार जनाको तत्काल स्वास्थ परीक्षण गर्ने सहमति भएको एसोसिएसनका महासचिव भवानी निरौलाले जानकारी दिएका छन् । समय लिएका व्यक्तिहरुले कतार भिसा सेन्टरलाई जानकारी दिनु पर्ने र त्यसैअनुसार स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउने गरी छलफल गरिएको महासचिव निरौलाले जानकारी दिए । त्यस्तै, छलफलमा कतार भिसा सेन्टर खुला रहने समयसमेत निर्धाण गर्ने सहमति भएको छ । दैनिक कुन समयमा सेन्टर खुल्ने हो, त्यसको तालिका प्रकाशन गरिने निरौलाले बताए । त्यस्तै यसअघि शुक्रबार बन्द हुने कार्यालय अब शुक्रबारसमेत खुला रहने छ । शुक्रबार ३ देखि ३ सय ५० जनाको स्वास्थ्य परीक्षण गर्ने गरी सेन्टर खुला गर्ने सहमति भएको उनको भनाइ छ ।
पुनः मेडिकलको हकमा भने त्यसको प्रकृति हेरेर सोहीअनुसार छिटोभन्दा छिटो गर्ने सहमति भएको छ । सेन्टरले आफूहरूसँगको सहमति कार्यान्वयन नगरेमा एसोसिएसन कडा रूपमा प्रस्तुत हुने महासचिव निरौलाले चेतावनी दिएका छन् । भिसा सेन्टरको ढिलाइले गर्दा कामदार पठाउन समस्या भएको र त्यसबाट १ सय जना कामदार पठाउने पर्ने मापदण्डमा पनि प्रभाव परेको उनको भनाइ छ । छलफलमा एसोसिएसनका तर्फबाट वरिष्ठ उपाध्यक्ष तारानाथ अर्याल, महासचिव भवानी निरौला, सचिव कमल काङ्खले, कोषाध्यक्ष कृष्ण जैसी तथा वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठको सहभागिता रहेका थिए ।

Published On: Time : 6:23:18  

तपाईको प्रतिक्रिया