असंगतिपूर्ण राजनीतिका महारथिहरू


नेपाली राजनीति अन्योल, अनिश्चित र संकटको दिशातिर अगाडि बढिरहेकोे छ । परिवर्तनकनका निम्ति भएका अनेकौँ बलिदानपूर्ण आन्दोलनमा नेपाली जनताले राजनीतिक दलहरूलाई सधैँ साथ दिँदै आएका छन् । कतिपय आन्दोलनमा राजनीतिक दलहरूभन्दा नेपाली जनता एक कदम अगाडि सरेर राजनीतिक दल र तिनका नेताहरूलाई आन्दोलनमा आउनका लागि बाध्य बनाएको विगत पनि छ । राजनीतिक दलका नेताहरूले आन्दोनका बीचमा सत्तासँग सम्झौता गर्दा त्यस्ता सम्झौताहरूलाई अस्विकार गर्दै आन्दोलनलाई निर्णायक विन्दुसम्म पु¥याउनका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । जनताको पूर्ण साथ पाएर स्थापित भएका राजनीतिक दलहरूबाट जनताको साथ र समर्थनलाई बुझ्ने र त्यस अनुरूपको नेतृत्व गर्न राजनीतिक दल र तिनका नेताहरू बारम्बार चुक्ने गरेका छन् । त्यसको परिणम नेपाली जनताले अस्थिरता, अव्यवस्था, भ्रष्टाचारजस्ता बेथितिको बारम्बार सामना गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
०४६ सालको संयुक्त आन्दोलनले पञ्चायतलाई परास्त ग¥यो । पञ्चहरू चाहन्थे, नेपाली कांग्रेस र वामपन्थीहरूको बीचमा संयुक्त मोर्चा नबनोस् । त्यस योजनामा पञ्चहरू केही हदसम्म सफल पनि भए । गणेशमान सिंह, मनमोहन अधिकारीजस्ता नेताहरूलाई समेत पञ्चायत विरोधी आन्दोलनलाई संयुक्त रूपमा अगाडि बढाउन ३० वर्ष मेहनत गर्नु प¥यो । आन्दोलनले सफलता प्राप्त गरेको वर्ष दिन नपुग्दै नेपाली कांग्रेस र वामपन्थीहरू शत्रुमा परिणत भइसकेका थिए । इतर पार्टीहरूका बीचमा मात्रै होइन, अन्तरपार्टी विवादहरू शत्रुतापूर्ण बनिसकेका थिए । जनआन्दोलनका सहयात्रीसँग होइन, पञ्चहरूसँग सत्ता साझेदारी गर्न कांगे्रसलाई मात्र होइन, एमालेलाई कुनै संकोच भएन । एउटा लोकतान्त्रिक पार्टी भएको नाताले नेपाली कांगे्रसले लोकतान्त्रिक मान्यताका लागि कुनै पनि अलोकतान्त्रिक शक्तिसँग सत्ता साझेदारी गर्ने नेतृत्व गर्न हुँदैन थियो । तर, नेपाली कांगे्रसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नेतृत्वमा एमालेको अल्पमतको सरकारका विरुद्ध मोर्चाबन्दी गर्ने काम ग¥यो । त्यसपछाडि सरकारमा बस्नका लागि गरिएका राजनीतिक सौदाबाजीले राजा ज्ञानेन्द्रलाई सत्ता आफ्नो हातमा लिने आधार तयार गरिदियो ।
यदि नेपाली कांग्रेस र एमालेका बीचमा स्वस्थ्य प्रकारको प्रतिस्पर्धा भएको भए तत्कालिन नेकपा माओकवादीले आफ्नो पार्टी बिस्तार गर्ने आधार प्राप्त गर्ने थिएन । नेकपा माओवादीको पार्टी निर्माण गर्ने आधार, विचार र सिद्धान्तको विषयभन्दा पनि तत्कालिन एमाले, कांगे्रसको भ्रष्ट आचारणको जगमा थियो । विचार र सिद्धान्तको आधारमा बनेको भए आन्दोलनको नेतृत्व गरेको पार्टी आन्दोलनको सफलतासँगै पतनको दिशातिर ओरालो लाग्ने थिएनन् ।
आज नेपाली राजनीतिले दलहरूको नयाँ परिभषित भूमिकाको माग गरिरहेको छ । त्यस अर्थमा हेर्ने हो भने दलहरूको भूमिका र विचार प्रणालीमा पनि नयाँ विश्लेषण र विचार निर्माणको क्षेत्रमा पनि राजनीतिक दलहरूले आफूलाई परिस्कृत र परिमार्जित गर्नुपर्ने अवस्था छ । नेपाली राजनीतिले नेपाल बहुल राष्ट्रिय राज्य हो कि एकल राष्ट्रिय राज्य हो ? भन्ने प्रश्नको पनि उत्तर खोजिरहेको छ । यी प्रश्नहरूको समाधान ्गर्न कांगे्रेस, एमालेजस्ता पार्टीहरूले आफ्नो पुरानो दृष्टिकोण फेर्नु पर्दछ । साथै, वर्तमान राजनीतिक मान्यताका आधारमा दलहरूको राजनीतिक पक्षधरतालाई पनि हेर्नु पर्ने हुन्छ । यो दृष्टिकोणबाट हेर्दा नेपाली कांगे्रस, एमाले वा माओवादी केन्द्रलाई परिवर्तनकारी शक्ति भन्न सकिन्छ कि सकिँदैन ? जस्ता राजनीतिक प्रश्नहरूको जवाफ पनि सम्बधित दलहरूले आफ्ना गतिविधि र मान्यताहरूबाट दिनु पर्ने हुन्छ । मुलुकका जटिलता र समस्याहरूलाइ हल गर्दा यी राजनीतिक दलहरूबाट दिने समाधान वा समस्या र घटनाहरूलाइ हेर्ने दृष्टिकोण परिवर्तनका पक्षमा हुन्छ या यथास्थितिको पक्षमा हुन्छ भन्नेमा पनि निर्भर गर्दछ । यस हिसाबबाट दलहरूको भूमिकाका आधारमा नेपाली कांग्रेस र एमालेलाई परिवर्तनकारी शक्तिका रूपमा पाउन सकिँदैन । नेपाली कांगे्रस र त्यसका खास–खास नेताहरूको सार्वजानिक अभिव्यक्तिले त कांग्रेस, एमाले यथास्थितिवादी शक्तिका रूपमा रहन्छन् कि रहँदैनन् ? भन्ने प्रश्न नेपालको राजनीतिक वृत्तमा जन्मिएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले इतिहासमा गरेको जिम्मेवारीका कारणले मात्रै प्रतिगमनको दिशातिर जान नसकेको अवस्था छ । तर, नेकपा एमालेभित्रको परिवतर्नकारी तप्काको स्वर नेपाली कांगे्रसको नयाँ पुस्ताका नेताहरूको भन्दा कमजोर र रक्षात्मक भएको अवस्था हेर्दा प्रतिगमनको बेग नेकपा एमालेभित्र गतिशील र बेगवान् छ । नेकपा एमालेको अध्यक्ष र उनका विश्वासपात्रका अभिव्यक्तिहरूले नेकपा एमाले यथास्थितिमा रहन नसक्ने र यसले प्रतिगमनको बाटो समात्ने संकेतहरू पर्याप्त दिइसकेको अवस्था छ । नेपाली राजनीतिको विडम्बना मान्नु पर्छ, नेपाली कांग्रेसले प्रजातन्त्रका लागि खास–खास समयमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । नेपाली कांगे्रसले प्रजातन्त्रकै लागि हतियारसमेत उठाएको छ । तर, कांगे्रसले आफूलाई घोषित रूपमै वामपन्थी विरोधी पार्टीको रूपमा प्रचार गर्छ र आफू वामपन्थी नभएको प्रष्टीकरण दिइरहन्छ । लोकतन्त्रवादी पार्टी हुनुको नाताले कांग्रेसले निरंकुश शक्तिसँग होइन, सहकार्य वाम लोकतन्त्रवादीसँग गर्नु पर्ने हो । कांग्रेसले विगतमा त्यसो गरेन, भविष्यमा पनि नेपाली कांग्रेसले सत्ताका लागि प्रतिगामीहरूसँग सहकार्य गर्दैन भन्न सकिने ठाउँ छैन । अर्कोतिर, माक्र्सवादलाई आफ्नो मार्गदर्शक सिद्धान्त मान्ने कम्युनिस्टहरूले शास्त्रमा प्रधान शत्रुलाई परास्त गर्न अन्य गौण शक्तिसँग सहकार्य मोर्चा वा कार्यगत एकता गर्नु पर्छ भन्ने पढेका छन् तर सहकार्य कहिले पञ्चसँग गर्छन् र प्रधान शत्रु कांग्रेस भएको घोषणा गर्छन् । लोकतन्त्र आफ्नो उद्देश्य मान्नेइतर पार्टीसँग मात्र होइन, पार्टीभित्रका आफ्ना समकालीन सहयोद्धाहरूसँगै शत्रूतापूर्ण व्यवहार गर्छन् । वामपन्थीहरूबीचको सहकार्यलाई समेत अस्विकार गर्छन् । आज नेपालको राजनीतिक समस्या माक्र्सवादी कार्यदिशालाई अंशमा लागू गर्दा मात्रै पनि समाधान हुन्छ । तर, नेपाली राजनीतिको असंगतिपूर्ण राजनीतिक गतिविधिको परिणाम नेपाली जनताले भोगिरहेका छन् । संसदमा कम्युनिस्ट पार्टी कै नाममा निर्वाचित झन्डै दुई तिहाइ सदस्य संख्या रहेका छन् । सरकार कम्युनिस्ट कै नेतृत्वमा छ । तर, दुई तिहाइनजिक भएको कम्युनिस्ट सरकारले सामान्य बहुमत जुटाउन सकेन । सरकारले कम्युुनिस्टहरूसँगको सहकार्य त छाडौँ, आफ्नो पार्टीभित्रको समेत विश्वास प्रप्त गर्न सकेन । आफ्नो पार्टीभित्रका असन्तुुष्टि पार्टी नेताहरूको कार्यशैलीगत समस्या समाधान गरेर संगतिपूर्ण र स्वभाविक सहकार्य गरी अगाडि बढ्नुको बदला विचार, मान्यता र उद्देश्यका हिसाबले नदीका दुई किनाराजस्ता वर्तमान प्रधानमन्त्री केपी ओली र खरो पहाडिया विरोधी परिचय बनाएका राजेन्द्र महतो सत्ता जोगाउने र प्राप्त गर्ने मामलामा आफ्ना पार्टीको तमाम मान्यताहरूलाइ तिलाञ्जली दिँदै एउटै लाइनमा उभिन्छन् । जुन सहकार्य राजनीतिक मान्यताका आधारमा बिलकुल असंगतिपूर्ण अस्वभाविक थियो । नेपाली राजनीतिले यस्ता गलत राजनीतिक गतिविधिलाई परास्त नगरुन्जेल एक जना केपी ओली परास्त होलान्, तर हजारौँ केपी ओलीहरू जन्मिने छन् । आजको राजनीतिक समस्या भनेको केपी ओलीको होइन, आफूभित्र रहेको प्रवृतिको हो । बाँदर र अमृतपान शीर्षकमा कविता लेख्ने माननीय कवयत्री प्रवृतिको हो ।

Published On: Time : 7:35:53  

तपाईको प्रतिक्रिया