इराकको एक अस्पतालमा आगलागी हुँदा ४१ को निधन


बगदाद–इराकको एक अस्पतालमा भएको आगलागीमा परी कम्तीमा पनि ४१ को ज्यान गएको छ । इराकको दक्षिण प्रान्त धिक्वारमा सो दुर्घटना भएको हो ।
उक्त अस्पतालमा कोभिड–१९का बिरामीको उपचार जारी रहेको थियो । अस्पतालमा सोमबार राति अकस्मात आगो लागेको थियो । सो अस्पताल इराकको राजधानी बगदादबाट करिब ३७५ किलोमीटर टाढा रहेको छ ।
विशेषगरी कोभिडका बिरामीको उपचार जारी रहेको सो अस्पतालमा आगो लागेको यहाँका सुरक्षा अधिकारीले जानकारी दिएका छन् । नासियारा शहरको सो अस्पतालमा आगलागी भएको बताइएको छ ।
उक्त अस्पतालमा निर्माण गरिएको कोभिड–१९ का सङ्क्रमितलाई राखेर उपचार गर्ने क्वारेन्टाइनमा सो आगलागी भएको थियो । त्यसमा परेर ४१जनाको ज्यान नै गएको बताइएको छ भने अरु केही बिरामी घाइते भएका छन् ।
अस्पतालमा आगो लागेपछि ठूलो संख्याका अग्नि नियन्त्रक आगो निभाउनका लागि खटाइएको थियो । तर उनीहरूले पनि लामो समयसम्म आगो नियन्त्रणमा लिन नसकेपछि ठूलो क्षति हुनपुगेको बताइएको छ । इराकी प्रधानमन्त्री मुस्ताफा अल कादिमीले सो आगलागीको कारण र यसले उत्पन्न गर्नसक्ने अवस्थाका बारेमा छलफल गर्न मन्त्रिपरिषद्को आकस्मिक बैठक नै बोलाएको थियो ।
त्यस्तै इराकको संसद्का सभामुखले सोमबार राति ट्वीट गर्दै इराकी संसद्को बैठकमा मंगलबार सो आगलागीका बारेमा छलफल गरिने कार्यक्रम बनाइएको जानकारी दिएको थियो ।
यहाँको प्रहरीले उक्त अस्पताल भवनमा केकति कारणले आगलागी भएको हो भन्ने बारेमा अनुसन्धान थालेको बताएको छ । त्यस आगलागीमा परेर ज्यान जानेमा प्राय बिरामी नै परेका अनुमान गरिएको छ । यस विषयमा अस्पतालले केही बताएको छैन । अस्पतालले सो अस्पताल भवनमा कोभिड १९का सङ्क्रमितको उपचार केन्द्र राखिएको र त्यहाँ कोभिडका मात्र बिरामीको उपचार गर्ने गरिएको जनाएको छ । (रासस-सिन्ह्वा)

Published On: Time : 3:01:02  

तपाईको प्रतिक्रिया