असल स्रष्टा नै राष्ट्रको गहनाः राष्ट्रपति


काठमाडौं– असल स्रष्टाहरू नै राष्ट्रको शिर गहना भएको राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् ।
बुधबार नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा राष्ट्रपति भवन शीतल निवासमा आयोजित पुरस्कार वितरण कार्यक्रममा राष्ट्रपति भण्डारीले समाजको प्रगतिशील रूपान्तरण र समुन्नतिका लागि स्रष्टाहरूले राष्ट्रिय भावनाको प्रवद्र्धनमा अद्धितीय योगदान गरेको उल्लेख गर्दै असल स्रष्टाहरूको सम्मानले राष्ट्रको शिर उँचो हुने विचार व्यक्त गरिन् ।
परिवर्तित सन्दर्भमा सामाजिक रूपान्तरणका लागि स्रष्टाहरूले थप योगदान गर्नुपर्ने पिन उनले बताएकी छन् । उनले बहुभाषिक र बहुसांस्कृतिक इन्द्रेणीयुक्त नेपालमा राष्ट्रिय भावनालाई अभिव्यक्त गर्ने निधिका रूपमा रहेका प्रतिभाको सम्मान गरिनु उच्च चेतना, कला, साधना र अथक योगदानको सम्मान हुने भएकाले प्रज्ञा प्रतिष्ठानले यस परम्परालाई निरन्तरता दिएकोमा आभार व्यक्त गरिन् ।
राष्ट्रपति भण्डारीले आदिकवि भानुभक्त आचार्यको दुई सय आठौँ जन्मजयन्तीका सन्दर्भमा उनीप्रति श्रद्धासुमन व्यक्त गर्दै राष्ट्रिय महत्वपूर्ण कृतिहरूमार्फत नेपाली भाषा र साहित्यको विकास तथा राष्ट्रिय भावनाको विकासमा उनको योगदान अतुलनीय रहेको बताइन् ।
प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपालको अन्तर्राष्ट्रिय छवि विस्तारसँगै प्रतिष्ठानले नेपाली भाषा, साहित्य र अनुवादका क्षेत्रमा योगदान दिने अन्तर्राष्ट्रिय व्यक्तित्वलाई पनि सम्मान गर्न थालेको जानकारी दिएका छन् ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले प्रतिष्ठानद्वारा स्थापित प्रज्ञालंकार पुरस्कारबाट विभिन्न स्वदेशी र विदेशी स्रष्टालाई सम्मानित गरिएको थियो । समारोहमा राष्ट्रिय कविता महोत्सव–२०७७ र २०७८ का विजयी कविहरूलाई पनि पुरस्कृत गरिएको थियो ।

Published On: Time : 2:47:50  

तपाईको प्रतिक्रिया