दक्षिण कोरियामा कोरोना संक्रमित बढ्दै


काठमाडौं– नेपालीहरूको आकर्षक श्रम गन्तव्य मुलुक दक्षिण कोरियामा कोरोना संक्रमित दर बढ्दै गएको छ । कोरियामा एकै दिनमा १ हजार ७ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कोरोनाका भाइरसबाट संक्रमितको संख्या बढेको देखिएको हो ।
यो संख्या कोरियामा संक्रमक पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा बढी हो । कोरियामा कोरोनाको चौँथो लहर सुरु भएको बताइएको छ र बुधबार मात्रै यत्तिको संख्यामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । कोरियामा पछिल्लो हप्ता दैनिक रूपमा संक्रमितका संख्या बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामहरूले जनाएका छन् । मंगलबार १ हजार २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने सोमबार १ हजार २ सय ५२ जनामा कोरोना संक्रमण देखिएको थियो ।
कोरोनाबाट दक्षिण कोरियामा १ लाख ८२ हजार २ सय ६५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १ लाख ६१ हजार ६ सय ३४ जना निको भएका छन् भने २ हजार २० जनाको मृत्यु भएको बताइएको छ । अहिले दक्षिण कोरियामा संक्रिय संक्रमितको संख्या भने १८ हजार ५ सय ७१ जना रहेको छ ।
पछिल्लो समय दक्षिण कोरियाको राजधानी सोल क्षेत्रमा धेरै संक्रमित भेटिएको जनाइएको छ । कोरियाले पछिल्लो समय कोभिडको चौँथो चरणसमेत देखिएको भन्दै कोरिया सरकारले स्वास्थ्य मापदण्डलाई थप कडा बनाउँदै लगेको समाचारमा जनाइएको छ । कोरियामा १ जुनपछिको समयमा करिब ५६ प्रतिशतले कोरोना संक्रमण वृद्धि भएको त्यहाँका स्वाथ्य अधिकारीले बताएका छन् । कोरिया सरकारले अहिले कोरोनाविरुद्धको खोपको अभियानलाई ब्यापक बनाइएको जनाएको छ ।

Published On: Time : 2:44:12  

तपाईको प्रतिक्रिया