माओवादी केन्द्रको बैठक, साझा कार्यक्रममा जोड


काठमाडौं– नेकपा (माओवादी केन्द्र)ले न्यूनतम साझा कार्यक्रममा जोड दिएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी समिति बैठकले सत्ता गठबन्धनमा सामेल दलका भावनाअनुसार न्यूनतम साझा कार्यक्रम बनाएर बैठकले गठबन्धनको साझा कार्यक्रम ल्याउने र सरकारमार्फत त्यसलाई कार्यान्वयन गर्ने निर्णय गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
नेकपा माओवादीले शेरबहादुर देउवा नेतृत्वको सरकार सफल बनाउन गठबन्धनबीच साझा नीति तथा कार्यक्रम आवश्यक भएकाले छिटै त्यस्तो कार्यक्रम बनाउने भएको छ । साझा कार्यक्रम गठबन्धनले बनाउने र सोही अनुसार सरकार सञ्चालन गर्ने माओवादीले निर्णय गरेको छ ।
गठबन्धनको सरकार न्यूनतम साझा कार्यक्रम वा साझा प्रतिबद्धताका साथ अघि बढाउनुपर्ने भएकाले तुरुन्त त्यस्ता कार्यक्रम तय गर्न आह्वान गरेको र कार्यदलका सदस्यलाई निर्देशन दिएको उनले बताए ।
बैठकले केपी ओलीको प्रतिगामी कदम असफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै गठबन्धनको सरकारलाई सफल बनाउन साझा नीति तथा कार्यक्रम वा न्यूनतम साझा प्रतिवद्धता आवश्यक भएको ठहर गर्दै त्यस्ता कार्यक्रम तय गर्न कार्यदललाई निर्देशन दिएको नेता श्रेष्ठले जानकारी दिए । उनले गठबन्धनको सरकार हिजोको सरकार जस्तो हुनु नहुने भन्दै हिजो जुन प्रवृतिका विरुद्ध संघर्ष गरेको हो त्यस कुरामा सतर्क र सचेत रहनुपर्नेमा बैठकले जोड दिएको पनि बताए ।
बैठकमा सरकारमा सहभागी हुनेबारेमा कुनै छलफल नभएको उनले बताएका छन् । सरकारमा सहभागी हुने विषयमा गठबन्धनमा सामेल अन्य दलसँग छलफल भइरहेको प्रवक्ता श्रेष्ठको भनाइ छ । उनले भने, ‘सकारको नेतृत्व गरेको नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाललगायत अन्य पार्टी र सरकारलाई समर्थन गर्ने सांसदसँग पनि छलफल भइरहेको छ, सकेसम्म सबै पार्टीबाट प्रतिनिधित्व गर्ने गरी सरकारलाई पूर्णता दिनु उपयुक्त हुने भएकाले हामी सबै गठबन्धनका शक्तिसँग छलफल गरेर छिट्टै सरकारलाई पूर्णता दिने निर्णय गर्नेछौँ ।’
उनले छिट्टै सरकारले पूर्णता पाउने बताएका छन् । प्रधानमन्त्री देउवाको सरकारमा माओवादीबाट अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसाल छन् । प्रवक्ता श्रेष्ठले सरकारले छिट्टै पूर्णता पाउने बताए । बुधबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गर्नेलगायत विषयमा प्रधानमन्त्री देउवासँग भएका कुराकानीबारे बिफ्रिङ गरेका थिए । माओवादीले प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिएकोमा पार्टीहरू र सांसदहरूलाई धन्यवाद पनि दिएको छ ।
तर, बुधबारको बैठकमा सरकार गठनबारे धेरै छलफल नभएको श्रेष्ठले बताए । ‘गठबन्धनका सबै दलसँग छलफल भइरहेको छ। समर्थन गरेका सांसदहरूसँग पनि छलफल भइरहेको छ । सकेसम्म सबै पार्टीबाट प्रतिनिधित्व गर्ने गरी सरकारलाई पूर्णता दिन उपयुक्त हुने भएकोले हामी सबै गठबन्धनका शक्तिहरूसँग छलफल गरेर सरकारलाई पूर्णता दिने निर्णय गर्छौँ,’ उनले भने ।

Published On: Time : 2:57:54  

तपाईको प्रतिक्रिया