भ्रातृत्व भावनाले नै यो देशलाई जोडेको छ : मुख्यमन्त्री पौडेल


वाग्मती– वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना महामारीका कारण यस वर्षको बकर इद स्वास्थ्य सावधानीका उपाय अवलम्बन गर्दै मनाउनुपर्ने सुझाव दिएका छन् । बुधबार मुस्लिम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व ‘बकर इद’ का अवसरमा एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले भौतिक दूरीसहित स्वास्थ्य सावधानीका निर्धारित मापदण्डको पालना गर्दै नमाज पढ्न र शुभकामना आदानप्रदान गरी पर्व मनाउनसमेत अनुरोध गरेका छन् ।

उनले भनेका छन्, ‘बकर इदले हामी सबैलाई जस्तोसुकै परिस्थितिमा पनि देश र जनताको पक्षमा सिर्जनशील भई सकारात्मक योगदान पु¥याउन थप प्रेरणा दिनेछ भन्ने विश्वाससहित सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु,’ सन्देशमार्फत पौडेलले भनेका छन् । विविधताभित्र पनि एकता, सहिष्णुता, सम्मान र परस्परमा रहेको भ्रातृत्व भावनाले नै यो देशलाई जोडेको उनको भनाइ छ । ‘नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक देश हो ।

विविधताभित्र पनि एकता, सहिष्णुता, सम्मान र परस्परमा रहेको भ्रातृत्व भावनाले नै यो देशलाई जोडेको छ । विविध जातजाति, भाषा, धर्म, संस्कृतिका नेपालीहरूको आ–आफ्नै मौलिक पर्वहरू छन् । यसमध्ये मुस्लिम समुदायले मनाउने एउटा महत्वपूर्ण पर्व बकर इद हो । मुस्लिम महिना ‘जुल हिज्जा’ को दशौँ दिन बकर इद मनाइँदै आएको छ । तीन दिनसम्म मनाइने यस पर्वलाई बलिदानी पर्वका रूपमा पनि लिइन्छ । यस पर्वको अवसरमा मस्जिदमा भेला भई नमाज पढ्ने, आ–आफ्नो घरमा बलि दिने र एक–अर्कामा शुभकामना आदानप्रदान गर्ने गरिन्छ,’ मुख्यमन्त्री पौडेलले जारी गरेको सन्देशमा उल्लेख छ । उनले ईदको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

Published On: Time : 3:00:51  

तपाईको प्रतिक्रिया