नेपाल–कोरियामैत्री अस्पताल तेस्रो लहरको तयारीमा


काठमाडौं– कोभिड–१९ को तेस्रो लहर आउनसक्ने जोखिम बढ्दै गएपछि नेपाल–कोरिया मैत्री अस्पताल भक्तपुरले आवश्यक तयारी थालेको छ । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित अस्पतालले कोरोना महामारीको सम्भावित तेस्रो लहरको जोखिम न्यूनीकरण तथा संक्रमितको प्रभावकारी उपचारका लागि तयारी थालेको हो । अस्पतालले दोस्रो लहरको महामारीसँग जुध्दै तेस्रो लहरका लागि तयारी सुरु गरेको अस्पताल सञ्चालक समिति अध्यक्ष एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताएका छन् ।
स्वास्थ्य विज्ञहरूले नेपालमा पनि कोरोना महामारीको तेस्रो लहर आउनसक्ने चेतावनी दिँदै आएका छन् । यसअघि नै अस्पतालले तेस्रो लहरबाट संक्रमित बालबालिकासहितको उपचारमा समेत ध्यान दिँदै तयारी थालेको हो । नेपालमा पनि कोरोना भाइरसको डेल्टा भेरियन्टको नयाँ म्युटेसन देखापरिसकेको र यो थप संक्रामक रहने भएकाले संक्रमित बिरामीको उपचारमा ध्यान दिँदै अस्पतालले आवश्यक स्वास्थ्य सामग्री ल्याउने, शैय्या थप गर्नेलगायत तयारी सुरु गरेको हो ।
समितिका अध्यक्ष एवं नगरप्रमुख श्रेष्ठका अनुसार अस्पतालले आइसियु, एचडियु, भेन्टिलेटर र शैय्या थप्ने काम धमाधम भइरहेको छ । कोरोनाको दोस्रो लहरमा अस्पतालले १६ शैय्याको आइसियुसहित १०२ शैय्या सञ्चालन गरेकामा अब थप शैय्या व्यवस्थित गर्ने भएको छ । नगरप्रमुख श्रेष्ठले भने, ‘कोरोना भाइरसको तेस्रो भेरियन्टको तयारीमा हामी जुटिसकेका छौँ, अहिले अस्पतालको प्रशासकीय भवनलाई माथिल्लो तलामा सारेर त्यसमा बच्चाका लागि कोभिड वार्ड बनाउन सुरु गरेका छौँँ, उमेरअनुसार ठूला–साना बच्चाका लागि नौवटा आइसियुसहितको बच्चाको कोभिड वार्ड बनाउँदैछौँ ।’
अस्पतालले कोरोना भाइरस परीक्षणको दायरा बढाउने गरी पिसिआर मेसिनसमेत थप गर्ने भएको छ । हाल दुईवटा पिसिआर मेसिन सञ्चालनमा रहेको यस अस्पतालमा अब अर्को मेसिन थप गर्न लागेको उनले बताए । अस्पतालमा रु १३ करोडको लागतमा रेडियोलोजी भवनसमेत निर्माण भएको छ ।
प्रदेशसभा सदस्य डा.राजेन्द्रमान श्रेष्ठमार्फत आएको वाग्मती प्रदेश सरकारको रु ५० लाख बजेट र नगरपालिकाको रु ३५ लाख बजेटमा रेडियोलोजी सेवा सञ्चालन गर्न भवन निर्माण भइरहेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए । हाल दोस्रो तलाको ढलान सम्पन्न भएको छ ।
तत्कालै, त्यसलाई तयारी गर्दै दुईवटा तलामा अस्पतालले रेडियोलोजी, एमआरआई, सिटी स्क्यान, क्याथ ल्याब सेवा मेमोग्राम मेसिन सञ्चालन गर्दै मुटुका बिरामीको समेत उपचार सुरु गर्ने भएको हो । यी सेवा सञ्चालन गरेपछि यहाँका बिरामीलाई काठमाडौं भौँतारिनुपर्ने अवस्था नआउने उनले दाबी गरे । मिर्गौलाका बिरामीलाई ध्यानमा दिँदै अस्पतालले थोरै शैय्यामा डायलासिस सेवासमेत सञ्चालन गर्ने तयारी गरेको छ । अस्पतालले यसअघि पनि भक्तपुरमै पहिलोपटक पिसिआर मेसिन सञ्चालनमा ल्याउनुका साथै अक्सिजन प्लान्ट स्थापना गरी आफैँले उत्पादन सुरु गरेको थियो ।
जनप्रतिनिधि आएपछि नगरपालिकाले सम्पूर्ण स्वामित्व लिँदै नगरप्रमुखको अध्यक्षतामा अस्पताल सञ्चालक समिति गठन गरेपछि यसको मुहार फेरिएको हो । विगतमा वार्षिक रु १० लाख स्थानीय विकास मन्त्रालयले बजेट पठाउँदै आए पनि जनप्रतिनिधि आएपछि सरकारको कुनै पनि निकायको अस्पताल सञ्चालनतर्फ बजेट आएको छैन । मन्त्रालयले दिँदै आएको बजेटसमेत काटेपछि नगरपालिका आफँैले बजेटको व्यवस्थापन गर्दै अस्पताल सञ्चालन गरेको छ ।

Published On: Time : 3:03:00  

तपाईको प्रतिक्रिया