कालो ढुसीबाट चार हजार जनाको मृत्यु

नयाँ दिल्ली– कोरोना भाइरस (कोभिड–१९) का संक्रमितलाई मात्रै असर गर्ने कालो ढुसीबाट भारतमा ४ हजार ३ सय जनाको मृत्यु भएको छ । एक तथ्यांक अनुसार ४५ हजार ३ सय ७४ जनामा यसको संक्रमण देखिएकोमा ४ हजार ३ सय जनाको मृत्यु भएको हो ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री मनसुख मान्डवीयलाई उद्धृत गर्दै संक्रमित भएकामध्ये ५० प्रतिशत बिरामी अझै उपचारार्थ रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् । चिकित्सकहरूले भने कोभिड–१९ को बिरामीको उपचारमा प्रयोग गरिने ‘स्टेरोएड’सँग कालो ढुसीको सम्बन्ध रहेको बताउँदै आएका छन् । कालोढुसीको प्रकोपलाई औषधि विज्ञानमा ‘म्युकरमाइसिस’ भनिएको छ । कोभिड–१९ को उपचारमा प्रयोग हुने ‘स्टेरोएड’ले फोक्सोमा हुने सुजन कम गर्न सघाउँछ । साथै शरीरको रोग प्रतिरक्षा प्रणालीले कोरोना भाइरसबिरुद्ध लड्ने क्रममा हुने क्षति रोक्न सहयोग पु¥याउँछ । तर स्टेरोएडले प्रतिरक्षा घटाउँछ र चिनी रोगका बिरामीको रगतमा चिनीको मात्र बढाउने स्वास्थ्यकर्मीहरूले बताउने गरेका छन् । उक्त विशेषताले कालो ढुसीको प्रकोप निम्तिने र चिनी रोगी तथा क्यान्सर एवं एचआइभी पोजेटिभ हुने बिरामीमा यसको जोखिम बढी हुने समाचारमा जनाइएको छ । चिकित्सकहरूका अनुसार कालो ढुसीबिरुद्ध खोप मात्रै यसको उपचार विधि हो । कालो ढुसीको प्रकोपबाट भारतको महाराष्ट्र र गुजरात राज्य सबैभन्दा बढी प्रभाबित भएको बताइएको छ । दुबै राज्यमा कालो ढुसीको प्रकोपबाट हालसम्म १ हजार ७ सय ८५ जनाको मृत्यु भएको भइसकेको बताइएको छ ।
बैंग्लोरस्थित एक अस्पतालमा आँखा विज्ञ भएर काम गरिरहेका डा.रघुराज हेगडेले पछिल्ला दिनहरूमा कालो ढुसीको प्रकोप भएका थुप्रै बिरामीको उपचार गरिरहेको बताएका छन् । कालो ढुसीको संक्रमण भएको एक सातादेखि १ महिनाभित्र उचित उपचार नपाए बिरामीको मृत्यु हुने चिकित्सहरूको भनाइ रहेको छ ।
बढ्यो कोरोना संक्रमितको संख्या
भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्दै गएको छ । विस्तार संक्रमितको संख्या घट्दै गएको भारतमा एक्कासि संक्रमितको संख्या बढेको हो ।
भारतमा बुधबार एकै दिन ४२ हजार १५ जना नयाँ संक्रमित थपिएका छन् । भारतको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा हाल कुल संक्रमितको संख्या ३ करोड १२ लाख १६ हजारभन्दा बढी पुगेको छ । भारतमा अहिले पनि कोरोना भाइरसबाट संक्रमित अवस्थामै रहेकाको संख्या नै ४ लाख ७ हजार १ सय ७० रहेको अधिकारीले जनाएका छन् । पछिल्लो एक दिनमा कोरोना भाइरसका कारण थप ४ सय ८९ जनाको मृत्यु भएको छ । तर, महाराष्ट्र राज्यले कोरोना संक्रमणका कारण पहिले नै ज्यान गुमाएका तर तथ्यांकमा छुटेका व्यक्तिको नाम दिएको हुनाले गत २४ घन्टामा कोरोना संक्रमितको कारण मृत्यु भएकाको संख्या ३ हजार ९ सय ९८ भएको मन्त्रालयले दाबी गरेको छ ।
कोरोना भाइरसबाट मृत्यु भएकाको कुल संख्या भारतमा अहिलेसम्म ४ लाख १८ हजार ४ सय ८० पुगेको पनि मन्त्रालयले जनाएको छ । गत २४ घन्टामा ३६ हजार ९ सय ७७ कोरोना मुक्त भएसँगै भारतमा ३ करोड ३ लाख ९० हजार ७ सय १० व्यक्ति कोरोनामुक्त भएका छन् । भारतको चिकित्सा अनुसन्धान परिषद्ले अहिलेसम्म कुल ४४ करोड ९१ लाख ५३ हजार २ सय ७३ जनाको स्वाब परीक्षण गरेको जनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामहरूले जनाएका छन् । (रासस-बिबिसी)

Published On: Time : 3:14:53  

तपाईको प्रतिक्रिया