एनआरटी र सातदोबाटोले एकेडेमी सञ्चालन गर्ने


काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन क्लब न्युरोट टिम (एनआरटी) र सातदोबाटो युथ क्लबले फुटबल एकेडेमी संचालन गर्ने भएको छ । फुटबल एकेडेमी संचालनका लागि एनआरटीले ल्याब्रोटरी स्कुल र सातदोबाटोले लिटल एन्जल्स स्कुलसँग सम्झौता गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार एक कार्यक्रमकाबीच क्लब, स्कुल र एन्फाबीच त्रिपक्षीय सम्झौता भएको छ ।
एनआरटीका अध्यक्ष सुन्दर जोशी र ल्याब्रोटरीका प्रिन्सिपल लाक्पा शेर्पा तथा सातदोबाटोका अध्यक्ष कपिल राना मगर र लिटल एन्जल्सका प्रिन्सिपल मुकुन्द राज शर्माबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यस्तै एन्फाको उपाध्यक्ष तथा युथ डेभलपमेन्ट कमिटिका अध्यक्ष उपेन्द्रमान सिंहले हस्ताक्षर गरे ।
सम्झौतासँगै पहिलो वर्ष एकेडेमीमा क्लब र स्कुलका गरि १४ खेलाडी हुनेछन् । १४ खेलाडीले क्लबसँग अभ्यास गर्ने छ भने स्कुलले पढाईका लागि छात्रवृत्ति प्रदान गर्ने छ ।
दोस्रो वर्षबाट कुल २१ खेलाडी एकेडेमीमा हुने छन् । जसमा १४ खेलाडी क्लबको रहने छन् । यस अघि विभागीय क्लब त्रिभुवन आर्मी क्लब, एपीएफ र पुलिस क्लब र संकटा क्लबले एकेडेमी संचालन गरिसकेको छ ।
एसियाली फुटबल महासंघ(एएफसी)को कार्यक्रम अनुसार संकटाले एकेडेमी संचालनमा ल्याउन लागेको हो । एएफसीले एएफसी लाईसेन्स प्राप्त गर्न क्लबले एकेडेमी अनिवार्य संचालन गर्नु पर्ने नियम बनाएको छ ।

Published On: Time : 3:28:14  

तपाईको प्रतिक्रिया