बाढी पीडितलाई पक्की घर


काठमाडौं– गत १ असारमा आएको बाढीबाट प्रभावित सिन्धुपाल्चोकका बासिन्दाका लागि कलाकारहरूको टोलीले पक्की घर निर्माण गरिदिने भएको छ । बाढी प्रभावित हेलम्बु र मेलम्चीलगायतका क्षेत्रका बासिन्दाको सहयोगका लागि कलाकारहरूले गठन गरेको ‘सिन्धु सहयोग कोष’बाट बाढी प्रभावितहरूका लागि पक्की घर निर्माण गर्ने तयारी गरिएको हो ।
यो कोषबाट कलाकर्मीहरूले घर निर्माणको काम सुरु गर्ने भएका छन् । ‘सिन्धु सहयोग कोष’को टिम सिन्धुपाल्चोक पुगेर फर्किएको छ । कलाकर्मीहरूको टिमले दनुवारबस्तीमा घर निर्माणको सुरुआत गर्ने बताएको छ । कोषमा हालसम्म कलाकारहरूबाट मात्र रु. ३२ लाख संकलन भइसकेको छ । कोषले अन्य क्षेत्रसँग पनि सहयोगको अपिल गर्ने तयारी गरेको छ ।
यो कोषका संयोजक कृष्ण मल्लका अनुसार अहिले नै कतिवटा घर बनाउने भन्ने विषयमा निर्णय भइसकेको छैन । उनले भने, ‘दनुवार बस्ती र हेलम्बुमा पुगेर फर्किएका छौँ । दनुवार बस्तीमा १९ वटा घर रहेछ । पहिलो चरणमा दनुवारबस्तीमा नै घर बनाउने विषयमा कुरा भइरहेको छ ।’
यसपछि अन्य ठाउँमा पनि घर बनाउने विषयमा कुरा हुने मल्लको भनाइ छ । उनले भने, ‘हामीले दुई तलाको पक्की घर नै बनाउने हो । एउटा घर बनाउन करिब १० लाख रूपैयाँ लाग्छ कि भन्ने अनुमान छ । स्थानीय सरकारले जग्गा उपलब्ध गराएपछि घर बनाउन सुरु गर्छौँ ।’
बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु, दनुवारबस्तीलगायतका स्थान सर्वाधिक प्रभावित बने । अधिकांशको घरसमेत बाढीले बगायो । यसपछि, यी बस्तीहरूमा खाद्यान्न र लत्ताकपडाको सहयोग उपलब्ध गराउन कलाकारहरू पनि पुगेका थिए । बाढी प्रभावित बासिन्दाहरूले भने आफूहरूलाई खाद्यान्नभन्दा पनि घर नै चाहिएको बताउँदै आएका थिए ।
त्यस्तै, बाढी प्रभावित हेलम्बुका १७ बाढी पीडित परिवारका लागि टेलिभिजन कार्यक्रम इन्द्रेणीले अस्थायी आवास निर्माण गर्ने भएको छ ।
बाढी प्रभावित बासिन्दाको लागि अस्थायी आवास बनाउन कार्यक्रमका अध्यक्ष कृष्ण कँडेलले ६२ लाख रूपैयाँ गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई हस्तान्तरण गरेका छन् ।

Published On: Time : 3:32:53  

तपाईको प्रतिक्रिया