‘बिपीको विचार र सिद्धान्तका कारण कांग्रेसमा स्थायित्व’


गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिपीको विचार र सिद्धान्त कारण नै कांग्रेस मुलुकको प्रजातान्त्रिक आन्दोलन, राष्ट्रियता, विकास र स्थायित्वको पर्यायवाची शक्तिका रूपमा रहेको बताएका छन् । बिपी कोइरालाको ३९औँ स्मृति दिवसका अवसरमा श्रद्धाञ्जलि वक्तव्य जारी गर्दै उनले बिपीको यही विचार र सिद्धान्तको जगेर्ना गर्न सके कांग्रेसको अस्तित्व रहने बताए ।
बिपीको विचारले गर्दा अहिले पनि नेपाली कांग्रेस मुलुकको प्रजातान्त्रिक आन्दोलन, राष्ट्रियता, विकास र स्थायित्वको पर्यायवाची शक्तिका रूपमा रहेको उनको भनाइ थियो । उनले जननायक बिपी कोइराला नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री, बहुआयामिक व्यक्तित्व नेपाली राजनीतिका केन्द्रविन्दुु प्रजातान्त्रिक विचार र आन्दोलनका नायक, नेपाली कांग्रेसका संस्थापक जननायक भएको बताए ।
नेपालमा प्रजातन्त्रको स्थापनार्थ कठोर संघर्ष गरेका कोइरालाको योगदान नेपाली साहित्यका क्षेत्रमा समेत उत्तिकै उज्ज्वल रहेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले जहानियाँ राणा शासनबाट नेपाल र नेपालीलाई मुक्त गर्न, प्रजातान्त्रिक विचारको विकास र विस्तारमा योगदान गर्न, मुलुकमा संसदीय प्रजातन्त्रलाई संस्थागत गर्न, नेपालको अन्तर्राष्ट्रिय गरिमा वृद्धि तथा सम्बन्ध विस्तार गर्न उनले गरेको योगदान महत्वपूर्ण भएको बताए ।
‘राष्ट्रियताको सवालमा उहाँले लिनुभएको राष्ट्रिय मेलमिलाप नीतिको सान्दर्भिकता मुलुकमा झन् बढ्दै गएको छ । लोकतन्त्र र संसदीय अभ्यासमा विश्वास गर्ने राजनीतिक दलहरूका लागि बिपीका सिद्धान्त र आदर्श मूलमन्त्रका रूपमा स्थापित भएका छन् भने प्रजातान्त्रिक समाजवादको विश्वव्यापी आन्दोलनमा युगनायक बिपी कोइरालाको योगदान आफैँमा महत्वपूर्ण छ,’ मुख्यमन्त्री पोखरेलको वक्तव्यमा उल्लेख गरिएको छ ।
मुलुक र नागरिकको हितका लागि बिपीले थालेको दूरगामी सोचबाटै अहिले मुलुक अगाडि बढेको बताउँदै उनले सत्तामा रहँदा र नरहँदा बिपीले जहिल्यै पनि मुलुक र जनतालाई नै केन्द्रविन्दुमा राखेको बताए । राजनीति परिवर्तनको महसुस नागरिकले आर्थिक समृद्धिमार्फत गर्न पाउनुपर्छ भन्ने बिपीको धारणा रहेको बताउँदै मुख्यमन्त्री पोखरेलले नागरिक समृद्ध र सुखी नहुँदासम्म राष्ट्रियता र प्रजातन्त्र मजबुत नहुने हँुदा राजनीतिको मूल ध्येय जनताको सेवा हो भन्नेमा बिपीको स्पष्ट दृष्टिकोण रहेको बताए ।
त्यस्तै मुस्लिम समुदायको पर्व बकर इद (इदुल जोहा)को उपलक्ष्यमा बुधबार शुभकामना सन्देश व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिएको बताए
उनले यस पर्वले विविध धर्म, संस्कृति मान्ने सबै नेपालीबीच भ्रातृत्व, प्रेम र एकताको भावना बढाई समुन्नत, शान्त र समृद्ध मुलुक बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भनी कामना गरे ।
बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त हाम्रो मुलुक संविधानतः धर्मनिरपेक्ष भए पनि धार्मिक सहिष्णुता अनुकरणीय रहेको सन्देशमा भनिएको छ । अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माइल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मान्यता छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । इस्लाम पात्रो ‘हिजारी सम्वत्’ अनुसार नयाँ वर्षको ‘जुल हिज्जा’ महिनाको १०औँ दिन यो पर्व मनाउँदै आएको पाइन्छ ।
विश्वभरकै मानवका लागि चुनौती बनेको कोरोना भाइरसविरुद्धको संघर्षमा सफलता प्राप्त गर्न र महामारीका बेलामा अझ दरिलोरूपमा जुट्न इदको दिनले सबैलाई हौसला मिल्ने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले स्वास्थ्य मापदण्ड अपनाएर पर्व मनाउन आग्रह गरेका छन् ।

Published On: Time : 3:36:18  

तपाईको प्रतिक्रिया