२१ चलचित्रको रिलिज अन्योलमा


काठमाडौं– कोरोना भाइरसको महामारीको कारण रिलिजको अन्तिम तयारीमा रहेका करिब दुई दर्जन चलचित्रको प्रदर्शन अन्योलग्रस्त बनेको छ । दुई वर्षअघिबाट सुरु भएको कोरोना महामारीका कारण निर्माणको अन्तिम चरणमा रहेको ती चलचित्रहरू अन्योलमा परेका हुन् ।
कोरोना भाइरसको प्रभावसँगै ‘म यस्तो गीत गाउँछु–२’ ले प्रदर्शन स्थगन गरेको थियो । यससँगै ‘बद्रीबहादुर’, ‘नीरफूल’, ‘सुस्केरा’, ‘प्रेम गीत–३’, ‘चपली हाइट–३’, ‘लप्पन छप्पन–२’, ‘हिजो आजका कुरा’, ‘लक्काजवान’, ‘माइकल अधिकारी’, ‘षट्कोण’, ‘पूर्व पश्चिम’, ‘आकाशे खेती’, ‘चिसो एस्ट्रे’, ‘जारी’, ‘दयारानी’, ‘सम्हालिन्छ कहिले मन’, ‘पानीफोटो’, ‘मन्त्र’, ‘एक’, झिँगेदाउ’, ‘चिसो मान्छे’, ‘दोख’लगायत २१ चलचित्र रिलिजलाई तयार छन् । कोरोनाका कारण यी चलचित्रको रिलिज अन्योल बनेको छ ।
नेपाल चलचित्र संघका अनुसार रु तीन करोड लगानी फसाएर बसिरहेको ‘प्रेमगीत ३’ जस्ता ठूला चलचित्रको हैरानीको कथा कोभिडको कहरभन्दा तीतो छ । ‘सामाजिक दूरी कायम गरेर हल सञ्चालन हुन सक्छ कि सक्दैन ? त्यो दोस्रो कुरा हो । पहिलो कुरा त हलसम्म दर्शक आउँछन् की आउँदैनन् र चुनौतीमा चलचित्र प्रदर्शन गर्न निर्माता तयार हुन्छन् की हुँदैन भन्ने नै हो,’ चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले भने ।
नेपालमा मात्र हैन नेपाली चलचित्रको विदेशी बजार पनि शून्य अवस्थामा झरेको छ । नेपाली चलचित्रका लागि आकर्षक आम्दानीको अर्को स्रोत हो डायस्पोरा । कोभिडको दोस्रो र तेस्रो लहर पुनः सुरु भएसँगै विदेश बजार (डायस्पोरा)को सम्भाव्यता झन्झन् खुम्चिँदै गएको छ ।
विदेशमा चलचित्र प्रदर्शन गर्दै आएका वासुदेव लामिछानेका अनुसार नेपाली चलचित्रका लागि आकर्षक बजार मानिएका अष्ट्रेलिया, अमेरिका, युरोप र जापान भाइरस संकटले नराम्रोसँग थलिएका छन् । त्यहाँ फेरि नेपाली चलचित्र प्रदर्शन हुनु र नेपाली दर्शकले साथ दिनु भनेको केही वर्षका लागि दिवास्वप्न जस्तै भएको छ ।
कोरोना अघिसम्म नेपालमा पनि देशभरका २०४ पर्दा भएको हलहरूमध्ये १३ वटा कोरोना भाइरस जाखिमकै बीचमा सदाका लागि बन्द भएको चलचित्र संघले जनाएको छ ।
देशभर ६४ वटा हल भूकम्पको प्रभावदेखि नै बन्द भएका थिए । नेपालमा कूल बन्द हुने हलको संख्या ७५ पुगेको छ । देशभर १५३ हल कोरोना भाइरस जोखिमको प्रभावमा परेका छन् ।
अहिले चलचित्र क्षेत्रमा निर्माण, वितरण र प्रदर्शनको सबै कार्य ठप्प छ । नेपाली चलचित्रका प्राविधिक कामविहीन हुनुपरेको छ । कलाकार घरमै आराम गरिरहेका छन् । कतिपयमा मानसिक तनाव उत्पन्न भएको छ । हलवाला र निर्माता ब्याजको मारमा परेका छन् । जबसम्म हल खुल्न सक्दैन तबसम्म चलचित्र क्षेत्रका कुनै पनि कार्य अघि बढ्न सक्दैन । दुई दर्जन चलचित्र प्रदर्शनको तयारीमा प्रतीक्षारत छन् ।
प्रदर्शन शुरु नभएसम्म अरु गतिविधि अघि बढ्न नसकेका कारण चलचित्र क्षेत्र कहिले सक्रिय हुन्छ भन्ने कुनै टुंगो लागेको छैन । नेपाल चलचित्र संघका अनुसार अझै १८ महिनासम्म चलचित्र क्षेत्रमा प्रभाव परिरहने निश्चित छ ।

Published On: Time : 3:19:11  

तपाईको प्रतिक्रिया